भक्तपुरमा विद्युतीय सामाग्रीहरुको व्यवसाय गर्ने व्यवसायीहरुको संगठन भक्तपुर विद्युतीय सामाग्री ब्यवसायी संघको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको मिति तय भएको छ । चैत १० गते शनिबारका दिन संघको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन हुन लागेको हो ।
”हाम्रो एकता हाम्रो प्रतिबद्धता, गुणस्तरीय विद्युतीय सामाग्रीको ब्यवसायिकता” भन्ने नारालाई अगाडि सार्दै आएको विद्युतीय सामाग्री ब्यवसायी संघले उक्त दिन आफ्नो व्यवसायिक हकहित र प्रतिष्ठा अभिवृद्धि गर्न सक्ने नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । संघमा तेस्रो अधिवेशनबाट चयन भएका अध्यक्ष श्याम मानन्धरको नेतृत्वमा यतिबेला १५ सदस्यीय समिति क्रियाशील छ ।
यतिबेला संघलाई आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको चटारो छ । नजिकिदै गरेको समयको चापलाई मध्यनजर गर्दै संघले तयारी तीब्र पारेको जनाएको छ । त्यसका लागि बाचामरीस्थित होटेल भ्यू भक्तपुरलाई अधिवेशन स्थल तय गरिएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख अतिथ्यतामा कार्यक्रम संचालन हुने जानकारी इभक्तपुर लाई प्राप्त भएको छ ।
भक्तपुरमा ब्यवसायीहरुलाई संगठीत रुपमा आबद्ध गर्न सफल यस संघले ईलेक्ट्रोनिक्स एक्स्पो जस्ता विविध कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा संघले स्मारिका समेत प्रकाशन गर्न लागेको भक्तपुर विद्युतीय सामाग्री ब्यवसायी संघका सदस्य अल्बर्ट बज्राचार्यले जानकारी दिएका छन ।