काठमाडौं, ३ वैशाख । जतिबेला ओली पहिलोपटक प्रधानमन्त्री बने, मन्त्रीपरिषदको बैठकको पहिलो निर्णय थियो, ‘एक वर्षभित्र देशभरिकै तुइन बिस्थापन गरिनेछ ।’
तर, ओलीको घोषणा नारामै सीमित भयो, सुदुरपश्चिममा मात्र होइन, त्रिशुलीका दर्जनौं स्थानमा जनता अहिले पनि तुइनमै ओहोरदोहोर गर्छन् । उनले सपना त धेरै नै बाँडे, भाषण पनि ठोके । तर, तुइन बिस्थापनको छाँटकाँट देखिँदैन ।
पहिलोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले बाँडेको रेलको सपना दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि सपनामा सीमित छ । नेपालको भूबनोटलाई हेर्दा रेलभन्दा केवुलकारलाई प्राथमिकतामा राख्नुपर्ने हो । तर, उनी रेलभन्दा तल्लो कुरै गर्दैनन् ।
देशमा रेल विभाग छ । तर, ओलीले अहिलेसम्म त्यसको निरीक्षण गरेका छैनन् । न त रेल विभागको अवस्था के छ ? भन्ने नै चासो राख्ने गरेका छन् । दिल्ली भ्रमणका बेला उनले आकाशकै तारा झार्नेजस्तो भाषण गरे । तर, एजेण्डागत हिसाबले कुनै पनि ठोस कुरा राखेको टिप्पणी भइरहेको छ ।
भ्रमणमा उनले स्वाभिमानको कुरा गरे । तर, सन् १९५० को असमान सन्धिबारे खास कुरा गरेनन् । त्यति मात्र होइन, आफ्नो पहलमा २०५२ मा गरेको महाकाली सन्धिको भारतीय पक्षबाट गरिनुपर्ने ठोस काम नभएकोबारे कुनै कुरा गरेनन् ।
भ्रमणमा उनले डुबानको समस्या, सीमा समस्या, विराटनगरमा राखिएको भारतीय चेकपोष्टजस्ता विषयमा गम्भीर रुपमा कुरा गरेनन् वा गर्न चाहेनन् । सापेक्षिक रुपमा राष्ट्रिय अडान भएको नेता ठानिए पनि उनले राजनीतिक सम्बन्ध सुधार र आफ्नो सरकारको ग्यारेण्टीमा नै बढ्ता समय खर्चिए ।
सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओली राम्रै तयारी गरेर उपस्थित हुन्छन् । प्रायः कार्यक्रममा एकदेखि डेढ घण्टा भाषण गर्छन्, त्यो पनि नेताको होइन विज्ञको जस्तो । भाषणमा उनका तर्क निकै शक्तिशाली हुन्छन्, उनको सामुन्ने बस्ने जो–कोहीले उनलाई समर्थन गर्छ । तर, उनले गरेका घोषणामध्ये अहिलेसम्म १५% पनि व्यवहारमा कार्यान्वयन भएको इतिहास छैन ।
एक–दुई आयोजनाको निरीक्षणबाहेक उनको आर्थिक समृद्धिको कुनै ठोस पहल लिएका छैनन् । यसपल्ट ओलीको सफलता भनेकै दिल्लीसँग बिग्रिएको सम्बन्ध सुधार्नु हो । यसमा ओली सफल भएका छन् । तर, सार्वजनिक समारोहमा जति प्रष्ट कुरा र तथ्याङ्क राख्छन्, मान्छेलाई मन्त्रमुग्ध पार्छन्, व्यवहारमा कमै योजना कार्यान्वयन हुन्छन् ।
२ पल्ट प्रधानमन्त्री हुँदा उनले जति घोषणा गरे, त्यसको १५% पनि कार्यान्वयनमा आएको देखिँदैन । उनले पानीजहाज र रेलभन्दा साना कुरा गर्दैनन् । तर, व्यापार घाटा चौपट छ । भ्रमणका बेलासमेत उनले यसबारे ठोस कुरा गरेनन् । न उनीसँग व्यापार घाटा कम गर्ने कुनै योजना छ ।
ओलीले घोषणा गरेको एउटा कुरा भने कार्यान्वयन गरेका छन् । नयाँ वर्षमा एउटी बालिकाको आफू अभिभावक बनेर विद्यालय भर्ना गर्ने उनको वचन पूरा भएको छ । तर, राष्ट्रिय स्तरका जति पनि घोषणा उनले गरेका छन्, त्यसको कार्यान्वयनमा गम्भीर चासो देखिँदैन । यसलाई कतिपयले जनतालाई आशा दिएर भोट बटुल्ने उपायका रुपमा समेत हेर्न थालेका छन् ।