विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदा सूचीबाट हट्ने खतरा टरेको छ । सन् २०२२ सम्ममा भूकम्पका कारण भत्किएका सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने सर्तमा सूचीबाट हट्ने खतरा टरेको हो ।
अजरबैजानको बाकुमा भएको युनेस्कोको विश्व सम्पदा समितिको ४३औँ बैठकबाट नेपाललाई सन् २०२२ सम्मको अवधी प्राप्त भएपछि हाललाई खतरा टरेको पुरातत्व विभागको विश्व सम्पदा महाशाखाका प्रमुख डा. सुरेश श्रेष्ठले बताए ।
यसअघि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सम्पदाको पुनःनिर्माणमा बेवास्ता जनाएको भन्दै खतराको सूचीमा सूचीकृत गर्ने चेतावनी दिएको थियो ।
अजरबैजानको बाकुमा भएको विश्व सम्पदा समितिको ४३औँ बैठकमा नौ तल्ले दरबारको पुनःनिर्माण कार्यको खासै प्रगति नभएको विवरण प्रस्तुत गरिएपछि नेपाल अप्ठ्यारोमा परेको थियो ।तर, समितिका सदस्य चीनका प्रतिनिधिले नेपाललाई साथ् दिंदै प्रस्तुत विवरण गलत भएको भनेपछि नेपाललाई राहत भएको थियो ।चिनियाँ प्रतिनिधिले नेपालले पुनःनिर्माणमा प्रगति गरिरहेको जनाएका थिए ।
सन् २०१५ मा नेपाल सरकारले ५ देखि ७ वर्षसम्ममा पुनःनिर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकोले बैठकले सन् २०२२ सम्मको समयावधि दिइनु पर्नेमा समर्थन प्राप्त भएपछि नेपालका सम्पदा खतराको सूचीमा पर्ने सम्भावना टरेको हो । तर, यसै वर्ष युनेस्कोबाट पुनःनिर्माणको प्रगतिबारे अनुगमन गर्न टोली आउने भएको पुरातत्व विभागले बताएको छ ।
भूकम्पका कारण विश्व सम्पदा क्षेत्रका १४० वटा संरचना भत्किएकोमा हालसम्म ९४ वटाको पुनःनिर्माण भइसकेको बताइएको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाका ७ सम्पदा रहेका छन् जसमध्ये २ भक्तपुरमा पर्दछन ।
१.भक्तपुर दरवार क्षेत्र – यो ऐतिहासिक दृष्टिकोणवाट मात्र होइन साँस्कृतिक प्राचिन शिल्पकला एवं हस्तकलाको लागि समेत महत्वपूर्ण स्थल रहेको छ । प्राचिन कालमा मल्ल राजाहरू वसोवास गर्ने गरेको यो क्षेत्रमा पचपन्नझ्याले दरवार, भुपतिन्द्र मल्लको सालिक, भगवती मन्दिर,भैरवनाथ मन्दिर, ठूलो घण्टा, तुलजा भवानीको तलेजु मन्दिर, सुनको ढोका आदि प्राचिन तथा ऐतिहासिक दृष्टिकोणवाट अत्यन्त महत्वपूर्ण कला कृतिहरूको विशाल एवं अनौठो भण्डार विद्यमान रहेको पाइन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा परेको भक्तपुर दरवार क्षेत्र वास्तवमा खुल्ला संग्राहलयहरूको रूपमा रहेको छ ।
– भक्तपुरको मुख्य नगर राजा आनन्ददेवले स्थापना गर्न लगाएको गोपालराज वंशावलीमा उल्लेख छ । तैपनि यो शहर लिच्छविकालीन हुनसक्ने अनुमानसमेत गरिएको छ । सिंहद्वार, स्वर्णद्वार, चारधाम, ५५ झ्याले दरवार, तौमडी, न्यातपोल मन्दिर, दत्तात्रेय मन्दिर, पूजारीमठ आदि हेर्न लायक छन् । यहाँका प्रमुख स्मारकमा सिंहद्वार, स्वर्णद्वार, चारधाम, पचपन्न झ्याले दरबार, तौमढी, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर, पूजारी मठ, भूपतेन्द्र मल्लको सालिक आदि रहेका छन् । यहाँको पचपन्न झ्याले दरबार त राजा यक्ष मल्लको समयमा सन् १४२७ मा बनेको र सत्रौं शताब्दीमा आएर राजा भूपतेन्द्र मल्लका पालामा पुनर्निर्माण गरिएको हो । कला सङ्ग्रहालय यहाँको अर्को उल्लेख थलो हो ।
२. चाँगुनारायण मन्दिर – चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ। भक्तपुर नगरबाट ६ किमी, उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो ।
-उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग(तेलकोट डाँडा(चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ।भगवान विष्णुको मन्दिरका रूपमा रहेको चाँगुनारायणको निर्माणका बारेमा आजसम्म पनि तथ्य फेला पर्न सकेको छैन । विष्णुको मन्दिरको रूपमा रहेको चाँगुनारायणको निर्माण चौथौ शताब्दीमा भएको बताइन्छ । यहाँ रहेको शिलालेखले यो मन्दिर काठमाडौं उपत्यकाका पुराना मन्दिरमध्ये एक रहेको जनाउँछ । यहाँका प्रस्तर, काष्ठ तथा धातुकला उदाहरणीय छन् । यहाँका उल्लेख्य कलामा विश्वरूप, विष्णु विक्रान्त, नरसिंह विष्णु आदि रहेका छन् ।