काभ्रेमा अख्तियारले समातेका शिक्षा विकाश तथा समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनविर भगत र भोजपुर इकाइका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीले पोलेपछि सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकाश केन्द्रमा कार्यरत इन्जिनियर दिपेन्द्र कुमार देवसमेत अख्तियारको फन्दामा परेका छन् ।
महाभारत, काभ्रेका स्कूल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग लिएको आरोपमा सव इन्जिनियर धनविर भगत र तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरी पक्राउ परेका थिए ।.एक लाख पचास हजार रुपैया राष्ट्रिय वाणिज्य बैङ्क बनेपामा जम्मा गर्न लगाई उक्त रकम जम्मा गरेको भौचर लिइसकेको अवस्थामा उनीहरूलाई उक्त भौचर सहित नियन्त्रणमा लिई अख्तियारले अनुसन्धान गरिरहेको थियो ।
यसैबीच शुक्रवार अदालतमा आरोप पत्र दायर हुदा उनीहरु दुइ का अतिरिक्त दीपेन्द्र देवलाई समेत अख्तियारले मुद्दा दायर गरेको छ । काभ्रेपलाञ्चोक जिल्लामा निर्माण /मर्मत कार्य भई बेरुजु फछर्यौट हुन नसकेका विद्यालयहरूको अनुगमन समेतको कार्य गरी बेरुजु फछर्यौट गर्ने सिलसिलामा शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीद्वारा खटाई पठाईएका इन्जिनियर दिपेन्द्र कुमार देवले आफ्ना लागि सहज रूपमा घुस रकम संकलन गराउन सकियोस र सो कसुरमा आफ्नो प्रत्यक्ष संलग्नता नदेखियोस भन्ने उद्देश्यले धनविर भगतलाई उक्त काममा पठाएको अनुसन्धानबाट खुलेको अख्तियारको दावी छ ।
धनविर भगतले विद्यालयको मर्मतसम्बन्धी कार्य फरफारक गर्ने /गराउने सिलसिलामा सेवाग्राहीबाट घुस रकम माग्ने तथा बैङ्क खातामा जम्मा गर्न लगाउने सम्बन्धमा निरज कुमार चौधरीलाई अह्राइसिकाई अग्रसर गराई घुस माग गर्न लगाई सेवाग्राहीलाई बैंक दाखिला गर्न लगाउने गरेको अनुसन्धानबाट पत्ता लागेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
सवइन्जिनियर भनिएका धनविर भगतले इन्जिनियर दिपेन्द्र कुमार देवको भनाइ मानि र निरज कुमार चौधरीले धनविर भगतको भनाइ मानी सेवाग्राहीबाट घुस मागी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि भएकोले सजाय हुन मागदाबी लिई शुक्रवार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको प्रवक्ता कोइरालाको भनाइ छ ।