शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र ( शिक्षक लाइसेन्स) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । प्रावि तहको परीक्षार्थीहरुका लागि आयोगले परीक्षा समय र परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
असोज-९ गते हुने उक्त परीक्षाको लागि परीक्षार्थीहरुले आफै बसेको स्थानबाट प्रवेशपत्र प्रिन्ट समेत गरिसकेका छन् ।
भक्तपुरबाट परीक्षा फारम भरेका परीक्षार्थीहरुलाई यसपटक भने जिल्ला बाहिर परीक्षा दिन जानुपर्ने भएको छ । भक्तपुरका परीक्षार्थीहरुलाई आयोगले ललितपुर केन्द्र तोकिदिएपछि उनीहरु जिल्लामै परीक्षा दिने अवसरबाट बन्चित बनेका छन् ।
प्राथमिक तहका लागि शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा फारम भरेका सबै परीक्षार्थीहरुको परीक्षा केन्द्र ललितपुरको पुल्चोकस्थित त्रि पद्म विद्याश्रम माविमा परेको छ । उक्त केन्द्रमा भक्तपुरको मात्र नभई ललितपुर , रसुवा र नुवाकोटको समेत परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा बिहान ८ बजेदेखि शुरु हुने बताइएको छ ।
शिक्षा विकाश तथा समन्वय इकाई भक्तपुरका शाखा अधिकृत खुलानाथ गौतमले भक्तपुरबाट २ सय ८७ जना परीक्षार्थीले प्रावि तहको लाइसेन्स परीक्षाको फारम भरेको बताए । कम संख्या भएका कारण जिल्लामा केन्द्र नपारिएको हुनसक्ने उनको भनाइ छ ।
भोलिसम्ममा निमावि र मावि तहको परीक्षा केन्द्र पनि सार्वजनिक हुनसक्ने शिक्षक सेवा आयोग श्रोतले बताएको छ ।
शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्स परीक्षाको सूचना प्रकाशन गरेको थियो । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो ।
आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ ।