आज माघ १ गते । मकर संक्रान्ति । घ्यु चाकु खाने दिन । हजुर, आज नेवार समुदायका मानिसहरुले शरीरलाई उर्जा दिने भोजन ग्रहण गर्दछन् । माघ महिनाको पहिलो दिन घ्यु चाकुका साथमा शरीरलाई तागत दिने खानेकुरा जस्तै तरुल, लसुन, तिलको लड्डु,माछा आदि भोजनको रुपमा ग्रहण गरिन्छ ।
बिहान सबेरै खाली पेटमा काँचो मेथीको साग र काँचो तरुल सेवन गर्ने प्रचलन रही आएको छ । काँचो मेथीको साग र तरुल सेवन गरे मानिसको पाचन प्रणालीमा राम्रो असर गर्ने र रौँ खाएको खण्डमा त्यसलाई पनि पचाउँछ भन्ने जनविश्वास रहेको छ ।
‘नेवार परम्परा अनुसार हरेक चांडपर्वहरु चन्द्रमाको तिथि अनुसार गरिन्छ तर माघे संक्रान्ति चाँही सुर्यको गति अनुसार नै मानिने गरिन्छ’ संस्कृतिविद ओम धौभडेल बताउँछन्, ‘माघे संक्रान्ति मनाउन तिथि हेर्नु पर्दैन, सिधै भित्तेपात्रो हेरे पुग्छ ।’ भक्तपुर पोस्टसंग धौभडेलले भने । माघे संक्रान्ति माघ १ गते नै मनाउनुको कारण अनौठो छ । परम्परा अनुसार योमरी पुन्हीबाट नै योमरिको चुच्चो लामो भए जति नै दिन लामो हुने जनविश्वास रहे पनि माघ १ गते देखि उतरायणमा रहेको सूर्य दक्षिरायण तर्फ लाग्ने र देखिने गरी नै दिन लामो हुनका साथै न्यानो बढ्दै जाने उनले बताए ।
माघ जाडोको महिना हो । चिसोले गर्दा मानिसको जीवनयापन कस्टकर बनेको हुन्छ । कस्टकर जीवन बाट जीवनयापनमा केहि सहज होस् भन्नका लागि अग्रजले माघे संक्रान्तिको थालनी गरेको संस्कृतिविद धौभडेलको भनाई छ । माघे संक्रान्तिलाई मरणबाट जोगिन मनाइएको पर्वको रुपमा पनि लिन सकिन्छ ।
जाडोको समयमा मानिस अल्छी बनेका हुन्छन् । चांडपर्वले मानिसहरुलाई सरसफाई गर्न बाध्य बनाएको हुन्छ । मानिसहरु सरसफाई गर्छन् । माघे संक्रान्तिमा पनि त्यस्तै सरसफाई त गर्छन् नै साथै पोषिला भोजन पनि ग्रहण गर्ने गर्दछन् । पोषणयुक्त भोजन ग्रहण गरे पछि परिवारका सबै सदस्य घाममा बसी तेल मालिस गर्ने प्रचलन पनि रहेको छ । यस्ता कार्यले आफ्नो शरीरलाई न्यानो बनाउँछ र चिसोबाट जोगाउँछ । शरीरलाई सरसफाई गरी पोस्ने भएर माघे संक्रान्तिलाई विशेष दिन मान्ने गरिन्छ ।
लसुन, तरुल जमिन मुनि फल्छ । जमिनमुनि फाल्ने खानेकुरालाई विशेष प्राथमिकता दिएर सदुपयोग गर्न पुर्खाले धेरै समयको अभ्यास पछि माघे संक्रान्ति मनाउन सफल भएको संस्कृतिविद धौभडेलले जानकारी दिए । यसरी माघे संक्रान्तिको सुरुवात भएको हो । र आज सम्म नेवार समुदायले मात्र नभएर देशभरका नेपालीले माघे संक्रान्ति मनाउने गर्दछ ।
व कुलिंग वां कुलिंग
छोरीको विवाहपछि माघे संक्रान्तिको बेलामा व कुलिंग र वां कुलिंग भनेर माईत गएर बस्ने चलन रहेको छ । विवाहपछि पहिलो सन्तान नभए सम्म छोरीले आफु विहे गरेर गएको घरमा घ्यु चाकु खानु हुन्न भन्ने जनविश्वास रहेको छ । पहिलो सन्तान नभए सम्म विहे गरेर गए पनि परिवारका सदस्य नगनिने भएर माईत बस्ने चलन चलेको संस्कृतिविद धौभडेल बताउँछन् ।
माघे संक्रान्तिको अगिल्लो दिन अर्थात् पुस मसान्तको दिनलाई व कुलिंग (छोरी माईत आउने दिन) भनिन्छ भने माघे संक्रान्तिको भोलिको दिनलाई वां कुलिंग (छोरी आफ्नो घर फर्कने दिन) भनिन्छ ।
व कुलिंग र वां कुलिंग भनेको नेपाल भाषाका शब्द हुन् । ‘व’ भएको ‘आउने’ र ‘कुलिंग’ भनेको ‘माघे संक्रान्ति’ हो भने ‘वांग’ भनेको ‘जाने’ हो । यसरी माघे संक्रान्तिको अघिल्लो दिन र पछिल्लो दिनलाई ‘व कुलिंग र वां कुलिंग’ भनिएको हो ।
त्यस्तै गरी पहिलो सन्तान नभए सम्म छोरीले माईतिमै आएर माघे संक्रान्ति मनाउने गर्दछन । माईतिमा सबैसंगै बसी चांडपर्व मनाउँदा रमाइलो हुने र आत्मियता पनि बढ्ने संस्कृतिविद धौभाडेलको भनाइ छ ।