News Portal

  • भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्दै, के–के हुनेछन् सुविधा ?

    भक्तपुरपोष्ट संवाददाता२० माघ २०७६
    १९९७ पटक
    २० माघ २०७६

    भक्तपुर । सरकारले भक्तपुरका दुई स्थानमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौंभित्र बनाइने चारमध्ये दुई ‘स्याटेलाइट सिटी’ भक्तपुरमा बन्ने भएको हो ।
    काठमाडौँ उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिसकेको छ । सरकारले काठमाडौं उपत्यकाको पूर्वतर्फ करिब एक लाख रोपनीमा फैलिने गरी सबैभन्दा ठूलो अत्याधुनिक शहर बनाउने भएको हो ।

    यो भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, क्रिकेट मैदान, मूलपानी, गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिने प्राधिकरणले जनाएको छ । उत्तरमा साँखु बजार र साँखु जाने मूल सडकसम्म विस्तार हुने यो शहर भक्तपुरको पुरानो थिमिको बाटो, सैनिक प्रतिष्ठान खरिपाटी, भक्तपुर नगरपालिकाको इतापाके जग्गा एकीकरण आयोजनासहितको क्षेत्रमा फैलिने प्राधिकरणले जनाएको हो ।

    प्राधिकरणले निर्माण गरेको डीपीआरअनुसार यो शहर निर्माणका लागि एक खर्ब खर्च हुने भएको प्राधिकणका आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । सरकारले विकास गर्न लागेको यो सबैभन्दा ठूलो बस्ती विकास हुने गरी योजना तयार पारिएको बताइएको छ । चाँगुनारायण नगरपालिकाको करिब ६० हजार रोपनी र भक्तपुर, मध्यपुरथिमि, कागेश्वरी मनोहरा, शङ्खरापुर नगरपालिका गरी पाँचवटा नगरपालिकामा फैलिनेछ ।

    स्याटेलाइट सिटी मध्ये अर्कोचाँही करिब १८ हजार रोपनीमा फैलिनेछ । यो शहरले पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिर अगाडिको वनक्षेत्रलाई समेट्दै पश्चिमतर्फ गुण्डुको खहरे खोला, नयाँ बालकोट, बिरुवा सडक, पानी ट्याङ्की, पुरानो बालकोट, अमरनगर, थिमि हुँदै अरनिको राजमार्गसम्म फैलिनेछ ।

    त्यस्तै उत्तरतर्फ अरनिको राजमार्ग हुँदै दक्षिणतर्फ सिलामगाल, रानीकोट जङ्गलछेउ, अनन्तलिङ्गेश्वर फेदी, तर्खगाल, पात्लेटार, बिरुवा हुँदै खहरेसम्म यो शहर फैलिने गरी सीमा निर्धारण गर्दै डीपीआर तयार भएको छ । प्राधिकरणका अनुसार यो शहर निर्माणका लागि १० अर्बभन्दा बढी खर्च हुनेछ । सरकारले उपत्यकाभित्रै झण्डै एक लाख ४० हजार रोपनी क्षेत्रफलमा चार नयाँ शहर निर्माण गरी व्यवस्थित बस्ती विकासको योजना अगाडि सारेको छ ।

    स्याटेलाइट सिटी निर्माण गर्न सरकारले स्थानीयको जग्गा एकीकरण गरी विभिन्न अत्यावश्यक पूर्वाधार निर्माण गर्दै व्यवस्थित बस्ती विकास गर्ने भएको छ । सम्पूर्ण पूर्वाधारयुक्त बस्ती विकासपछि स्थानीयलाई जग्गा हस्तान्तरण गर्ने योजना रहेको आयुक्त तिवारीले जानकारी दिए ।

    स्याटेलाइट सिटी विकासपछि यस्ता शहरमा जथाभावी घडेरी टुक्रापारी बिक्री भने गर्न पाइने छैन । यस्ता शहरमा साइकल लेनसहितको सडक र पूर्वाधारलाई मुख्य प्राथमिकता दिइने, प्रशस्त खुला क्षेत्रहरु राख्ने, आवश्यक खेल मैदान, पार्क, पौडी पोखरी, हरियाली, यातायात सञ्जाल, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधारसमेतको विकास गरिनेछ ।

    स्याटेलाइट सिटीमा आवासीय, व्यापारिक र औद्योगिक क्षेत्रलाई छुट्टाछुट्टै स्थानमा व्यवस्थित गरिनेछ । विद्युत् तथा इन्टरनेट, टेलिफोन तारलाई भूमिगत गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने योजना छ ।

    भक्तपुरलाई समेटेर दुईवटासँगै सरकारले तेस्रो सिटीका रुपमा ललितपुरमा र चौथो शहर काठमाडौंको सामाखुसी, टोखा सडक हुँदै बाइपाससम्म सीमा निर्धारण गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...