काठमाडौं । शुक्रबार भक्तपुरमा २ सहित थप १०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १०१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १७ हजार ४४५ जना पुगेको छ ।
पछिल्लो पटक शुक्रबार १०१ जना संक्रमित थपिएका हुन् । यसैगरी, ११ हजार ५३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २८५ जना संक्रमित उपचारपछि निको भएर घर फर्कीएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ४० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै लमजुङमा २२ जना संक्रमित थपिएका छन् । यस्तै रोल्पाका १३, बर्दियाका १०, रौतहट र धनुषाका ८/८ जना, तनहुँका ७, दाङका ५ तथा नवलपुर र बाराका ३/३ जनामा पनि संक्रमण पुष्टि भएको छ । झापा, मोरङ, पर्सा, नुवाकोट र भक्तपुरका २-२ जना तथा सप्तरी, मकवानपुर, सिन्धुली, काभ्रे, काठमाडौं, पाल्पा, रुपन्देही, सल्यान, रुकुम पश्चिम, डडेलधुरा, बझाङ र डोटीका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।