
वीरगन्ज, १३ भदौ । सञ्चारकर्मी र कर्मचारी संक्रमित भएपछि व्यवस्थापन पक्ष रेडियो बन्द गर्ने निणर्यमा पुग्यो । तर, संक्रमित सञ्चारकर्मी र कर्मचारीले एफएम स्टेसनमै आइलोसेन बनाएर बसी रेडियो प्रसारणलाई निरन्तरता दिने प्रस्ताव राखे । व्यवस्थापन पक्ष त्यसमा सहमत भयो ।
यो घटना हो, वीरगन्जस्थित नारायणी एफएमको । यहाँका ५ रेडियोकर्मीले आफू संक्रमित भए पनि आत्मबल उच्च पारी प्रसारणलाई निरन्तरता दिइरहेका छन् । संक्रमित सञ्चारकर्मी कार्यालयमै आइसोलेसन बनाएर बसेका छन् ।
यहाँ काम गर्ने ५ जनामा यही भदौ ६ गते एकसाथ कोरोना संक्रमण देखियो । त्यसअघि स्टेसन प्रमुख र एक प्राविधिकमा संक्रमण पुष्टि भएको थियो । यी २ जना कोरोनामुक्त भइसकेका छन् । स्टेसन प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना भने आआफ्नो घरमा क्वारेन्टाइन बसेका छन् ।
एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले रेडियोमा कार्यरतमध्ये ६ जनाले भदौ ४ गते नारायणी अस्पतालमा पुगेर स्वाब दिएको उल्लेख गरे । तीमध्ये ५ जनामा भदौ ६ गते संक्रमण पुष्टि भएको उनको भनाइ छ ।
त्यसपछि संक्रमित रेडियोकर्मीलाई प्रहरीले फोन गरी कोभिड अस्पतालमा लैजाने तयारी गरेको थियो । तर, महामारीका बेला नागरिकलाई पलपल सूचनाको खाँचो रहेकाले रेडियोमै आइसोलेसन बनाएर बस्ने निणर्य गरी प्रसारणलाई निरन्तरता दिइरहेको छ । अन्नपूणर् पोस्ट्बाट