धनगढी, १० असोज । कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए । उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो । भारतमा बरेलीको ढावा होटलमा काम गर्ने उनी कोरोना त्रासका कारण जेठ २८ गते मात्रै घर फर्किएका थिए । यता गुजारा चलाउन गाह्रो भएपछि दसैंको मुखमै भारततिर हिँडेको उनले सुनाए ।
‘दसैं र तिहार नजिकै आयो तर के गर्नु ? दसैंमा, तिहारमा पैसो त चाहिन्छ । घरमा केही छैन । नोकरी नगरे कसरी दसैं, तिहार मनाउनु ?’ धामीले भने, ‘त्यसैले दसैंको माया मारेर भारततिर हिनेको ।’
धामीका घरमा तीन बच्चा र श्रीमती छन् । ‘चार जना घरमा छन् । अन्नले मात्रै के हुनु । नुन, तेल खर्च चाहिएन ? बिरामी परियो भने नि पैसा चाहिन्छ’, उनले भने, ‘चार महिना रिन काढेर बिताए ।’
उनीजस्तै दैनिक १५ सयको अनुपातमा नेपालीहरू गौरीफन्टा नाकाबाट मात्रै भारत गइरहेका छन् । त्यहीमध्ये एक हुन्, कञ्चनपुरको पुनर्वास नगरपालिकाका खोमबहादुर कुमाल । ‘गर्जो टार्नका लागि नेपालमा केही पाइएन’, कुमालले भने, ‘अनि कोरोनाको कहरका बीच भारत लागेको ।’ दिल्लीमा रहेका मालिकले अब नराख्ने भनेपछि बैंङलोरतिर हिँडेको उनले सुनाए । उनी चैतको लकडाउनका बेला उर्लिंदो हुलमा घर फर्किएका थिए ।
अछामका रूपेश खड्का पनि लालाबालासहित भारततिर पसेका छन् । लकडाउनका बेला लालाबालासहितै घर फर्किएका उनले घरमा गर्जो नटरेपछि दसैं, तिहार छोडेर भारत हिँडेको बताए । ‘घरमा कमाइ खान जग्गा छैन । रोजगार पनि छैन’, उनले भने, ‘सरकारले स्वरोजगार हुने कुनै कार्यक्रम पनि ल्याएको छैन । भारतमा सहजै नौकरी पाइहाल्छ । घरमा बस्यो भने भोकले मरिन्छ, भारतमा कोरोनाले मरिएला त के गर्नु ? जहाँ गए नि मरिने त हो नै ।’
नेपालले भारतीय नागरिकलाई यता आउन रोक लगाएको छ । भारतले भने आधार कार्ड र पास भएका नेपालीलाई प्रवेश गर्न दिएको छ । आधार कार्ड भएका आफैं र नागरिकताका आधारमा भारतीय मालिकले पास बनाएर सीमामा पठाई दिएपछि नेपालीहरू भारत जान पाइरहेका छन् । अन्नपूर्ण पोस्टबाट