News Portal

  • पूर्व मुख्यसचिवको खुलासा : राष्ट्रघाती योजनाका नाइके नै अहिले महत्वपूर्ण जिम्मेवारीमा

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १६ पुस
    १३३३ पटक
    काठमाडौं, १६ पुस

    राजनीतिक वातावरण तातिरहेका बेला राजधानीमा नेपालको जलस्रोतका विषयमा छलफल भएको छ । फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टको आयोजनामा बिहीबार दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्टि विषयक अन्तरक्रिया सम्पन्न भएको हो ।

    जलस्रोतका क्षेत्रमा लामो समयदेखि अध्ययन, अनुसन्धान, बहस गर्दै आएका विज्ञहरुको सहभागितामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको जलस्रोतमाथि धेरै विदेशी राष्ट्रहरुले आँखा गाडेको बताए । नेपाल आफैले आफ्नो जल सम्पदाको उपयोग गर्न असक्षम हुनु र राजनीतिक अस्थिरता रहनुले जलस्रोत अरुहरुको नियन्त्रणमा जानसक्ने खतरातर्फ औल्याउदैं विज्ञहरुले यस विषयमा सचेत रहन सुझाव समेत दिए ।

    कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चिनका लागि नेपालका पूर्व राजदुत लीलामणि पौडेलले नेपालमा विश्वका ठूला देशहरुले आँखा गाड्नुको प्रमुख कारणमध्ये एक जलस्रोत रहेको बताए । विभिन्न बाहाना र कारण देखाएर नेपालमा पटक पटक विदेशी स्वार्थहरु घुस्ने गरेको भन्दै उनले त्यसका विरुद्धमा अडान लिन खोज्दा कतिपय अवस्थामा व्यक्तिगत सुरक्षाको समेत खतरा उत्पन्न हुने आफूले महशुस गरेको अनुभव सुनाए । आफ्नो पालामा यस्तै स्वार्थहरु छिरेर एउटा ठूलो प्रोजेक्ट डिजाइन भएको तर आफूले त्यसलाई रोकेको स्मरण गर्दै उनले ठूलो प्रोजेक्ट भित्र ठूलो देशघाती तत्व लुकेर आउने गरेको जिकिर गरे । यस्तै उर्जा विकासको नाममा मित्रराष्ट्र अमेरिकालाई नेपालको अर्को मित्रराष्ट्र चीनको बिरुद्धमा असर पर्ने गतिविधि गर्न दिन नहुनेमा उनले जोड दिए ।

    महंगो उर्जा भन्दा उर्जा नहुनु उत्तम भन्दै उनले डिजेल प्लान्टको अवधारणालाई आफूले असफल बनाएको सुनाए । लोडसेडिङ्ग हटाउने बहानामा त्यतिबेला ल्याइएको डिजेल प्लान्ट प्रति युनिट २४ रुपैयाँले नेपालीलाई नै बिक्री गर्ने भनिएको तर सबै लागत हेर्दा प्रतियुनिट ४५ रुपैयाँभन्दा बढी पर्ने स्पष्ट देखेपछि आफूले उक्त प्रोजेक्ट डिजाइन गर्नेहरुलाई यस्तो देशघाती काम नगर्न चेतावनी दिदै रद्द गरेको पौडेलले प्रष्ट पारे । सवारी साधनमा डिजेल आपूर्ती गर्न धौधौ पर्ने अवस्थामा अर्वौको डिजेल प्लान्टको योजनाले देशलाई बर्बाद पार्ने आफ्नो निष्कर्षलाई त्यतिबेला कतिपयले उज्यालोको पक्षमा नभएको आरोप लगाएर स्वार्थ सिद्ध गर्न लागिपरेका उनले स्मरण गरेका थिए । ” दुखको कुरा त के भने त्यो प्रोजेक्ट बनाउने व्यक्ति अहिले सरकारको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ तर मैले उहाँलाई त्यतिबेला राष्ट्रघाती योजना बनाउने भनेर हप्काएको थिए ।” उनले प्रशासनको अवस्थाबारे खुलासा गरे ।उनले नेपालको जलस्रोत नीति बनाउँदा पहिलो प्राथमिकतामा पिउने पानी, दोश्रोमा सिंचाई र तेश्रो प्राथमिकतामा मात्र विद्युत हुनुपर्ने तर्क गरे । ”यदि जलश्रोत गाइ हो भने सिंचाई त्यसको दुध र उर्जा केवल गोबर हो ।” उनले भने ।

    कार्यक्रममा बोल्दै पूर्व जलस्रोत मन्त्री तथा जलस्रोत विज्ञ दिपक ज्ञवालीले नेपालको पानीको उपयोग सही रुपमा हुन नसकेको बताए । कुनै आधिकारिता विना जलस्रोतमा नेपाललाई विश्वकै दोस्रो धनी देश भन्ने गरिए पनि त्यो सही नभएको उनकाे भनाइ छ । नेपाल ४ महिना बाढीको धनी र ८ महिना खडेरीको धनी भएको उनले जिकिर गरे । बाढी र खडेरीका बीच जलस्रोतमा नेपाललाई विश्वकै दोस्रो धनी देश भन्नु   कुरा एउटा खुट्टो अँगेनामा झोस्ने र एउट खुट्टो रेफ्रीजेरेटरमा राख्ने अनि औषतमा भन्दा मलाई आरामै छ भनेको जस्तो भएको उनले बताए । जलस्रोत ब्यवस्थित रुपमा उपयोग गर्न नसकिएको उनको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै एमसीसी र तिब्बती शरणार्थीको सहयोगका लागि ल्याइएको ऐन नेपाललाई अर्को देशका विरुद्ध प्रयोग गर्न ल्याइएको बताए । नेपाललाई अरु कुनै देशको गोटी बन्न दिन नहुने उनले बताए ।

    कार्यक्रममा जलस्रोत विशेषज्ञ रतन भण्डारीले जलस्रोतमाथिको बहस केवल विद्युतमा मात्र केन्द्रित हुने गरेको भन्दै यो सही बुझाई नभएको बताए । जलस्रोतको बहुआयामिक उपयोगमा ध्यान दिनुपर्ने कुरामा उनले जोड दिए । पानीलाई केवल विद्युतको आँखाले हेर्न नहुनेमा उनले जोड दिए । नेपाललाई जलस्रोतको दोस्रो धनी देश भनिए पनि नेपालका ग्रामीण भूगोलहरुमा स्वच्छ खानेपानीको समस्या रहेको, सिचाईमा आकाशेपानीको भर पर्नुपरेको र तराईमा जमिन मुनिको पानी उपभोग भइरहेको उनले बताए । अहिले केही मानिसले देशमा लोडसेडिङ अन्त्य भएको बताइरहेको तर यसमा पनि अध्ययनको कमी रहेको भन्दै भण्डारीले नेपालका अधिकांश गाउँहरु विद्युत सेवाबाट वञ्चित रहेको र विद्युत नपुगेका ठाउँको सदाकालिन लोडसेडिङका बारेमा कसैले कुरा नगरेको बताए ।

    त्यसैगरी नेपाल सरकारका जलस्रोत तथा सिंचाई सचिव मधुसुदन अधिकारीले जलस्रोतलाई बहुआयामिक रुपमा उपयोग गरिनुपर्नेमा जोड दिए । अहिले सरकारले एकीकृत जलस्रोत नीति ल्याएको जानकारी गराउँदै उनले कुन कुन क्षेत्रमा कति उपयोगिता र कुन कुन क्षेत्रहरु प्राथमिकतामा हुने भन्ने छुट्याइएको स्पष्ट पारे । उनले पानीमा अन्तरक्षेत्रीय द्वन्द्व नहोस भन्ने कुरामा नेपालले ध्यान दिनुपर्नेमा जोड दिए । जलस्रोतमा एउटामात्र देशको नभई अरुको पनि चासो रहने गरेको भन्दै धेरैले अहिले प्राकृतिक स्रोत उपभोगको अधिकार उठाउने गरेको बताए ।

    कार्यक्रममा जलस्रोतका अभियन्ता भरतबहादुर शाही र गणेश कार्कीले पनि आआफ्ना धारणा राखेका थिए । रमेश भट्टराईले सहजिकरण गरेको कार्यक्रमको सुरुमा फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टका तर्फबाट प्रभात चलाउनेले कार्यक्रमको अवधारणाबारे विषयवस्तु राखेका थिए । कार्यक्रमको मिडिया पार्टनरको रुपमा बागमती टेलिभिजन रहेको थियो भने उक्त कार्यक्रममा ३ दर्जन बढी पत्रकारले सक्रिय सहभागिता जनाएका आयोजक संस्थाका सदस्य संजीप घिमिरेले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...