बझाङका प्रहरी प्रमुख रहेका डिएसपी रुपक खड्का जिल्लाको शान्तिसुरक्षाको साथसाथै समाज रुपान्तरणमा समेत सक्रिय रहेका छन् । भक्तपुरको बासघारी घर भएका खड्काले प्रहरी संगठनलाई बझाङको सामाजिक कुरीति विरुद्ध सक्रिय गराएका हुन् ।
प्रहरी संगठनलाई समुदायसंग मिलेर समाजमा व्याप्त रुढिबादी परम्परा र कुरीतिका बिरुद्ध क्रियाशील गराएका खड्काको नेतृत्वका कारण समाजमा सकारात्मक प्रभाव परेको स्थानीय अभियन्ताहरु बताउछन । डिएसपी खड्काको नेतृत्वले सामाजिक अभियानमा प्रहरी र समुदाय बीच राम्रो सहकार्य भैरहेको उनीहरुको भनाइ छ ।
बझाङ्गको केदारस्युँ गाउपालिका वडानं. १ देउरा स्थित वेताल देउरा त्रिवेणी धामको आयोजनामा संचालित सास्कृतिक महोत्सव २०७७ लाई लक्षित गरी “समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत” कलाकेन्द्र का अध्यक्ष सुनिल नेपालीको अध्यक्षतामा संचालित कार्यक्रममा प्रहरीको भूमिकाप्रति सन्तोष व्यक्त गरिएको हो । सिडिओ मोहन अधिकारीको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष निशा धामीको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा प्रहरी र समुदाय मिलेर मात्रै समाजमा व्याप्त कुरीति बिरुद्ध विजय प्राप्त गर्न सकिनेमा जोड दिइएको थियो ।
उक्त अवसरमा बोल्दै डिएसपी रुपक खड्काले बाल विवाह, बहु बिबाह र छाउपडी जस्ता कुप्रथा उन्मुलन गरिने उद्धोष समेत गरे । यस अभियानमा सबैको साथ् सहयोग अपेक्षा गर्दै उनले उपस्थित जनसमुदायलाई कुरीति उन्मुलन गर्न एक्यवद्धताको अपिल समेत गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका डिएसपी दामोदर ढोडारी, प्रमुख अनुसन्धान अधिकृत देवेन्द्र कुमार थापा, पत्रकार महासंघका अध्यक्ष जगदिश रोकाया, स्थानीय जनप्रतिनिधि, बिभिन्न सरकारी तथा गैर-सरकारी कार्यालयका प्रमुख, शिक्षक, विद्यार्थी, बुद्धिजीवि, कलाकार, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा साइबर क्राईम, महिला हिंसा, छाउपडी प्रथा, घरेलु हिंसा,वाल बिवाह तथा बहु बिबाह ,यौनजन्य हिंसा तथा सुख्खा मौसममा हुने वन डढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।