News Portal

  • भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निष्कर्ष

    बुद्ध शरण शाही / भक्तपुर पोस्टभक्तपुर, ३० साउन २०७८
    ६५९२ पटक
    भक्तपुर, ३० साउन २०७८

    यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदलले उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीलाई जडिबुटीनजिक मनोहरा खोला करिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुने सडक किनाराबाट संचालन गर्नुपर्ने प्रतिवेदन प्रस्तुत गरेको छ । लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्वन्धि अध्ययन प्रतिवेदन २०७८’ हस्तान्तरण गर्दै कार्यदलले सो सुझाव पेश गरेको हो ।

    काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेको अध्ययन प्रतिवेदनमा उक्त सुझाव पेश गरेको महानगरपालिका श्रोतले जनाएको छ ।अध्ययन कार्यदल सदस्यहरुमा वडा–२६ का अध्यक्ष ख्याम तिवारी, वडा–३२ का अध्यक्ष नवराज पराजुली, वडा–२७ का अध्यक्ष चिनियामान बज्राचार्य, वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जन रहेका थिए । त्यसैगरी समन्वय तथा सहजीकरणमा काठमाडौँ महानगरपालिकाका सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले, नगर प्रहरी उपरीक्षक धनपति सापकोटा, ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक सुनिल जंग शाह र ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवाल रहेका थिए । समितिलाई सुझाव दिन ७ दिनको समय दिइएको थियो ।

    प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुबाहक सवारी साधनको व्यवस्थापन जडिबुटी पुल पूर्वको मनोहरा खोला करिडोर मर्मत–संभार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट तत्कालका लागि धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख छ ।

    काठमाडौँ महानगरपालिका क्षेत्र भित्र गन्तव्य भई देशका विभिन्न भाग हुँदै काठमाडौँ उपत्यका भित्र सेवा प्रवाह गरिरहेका सार्वजनिक सवारी साधानको पार्किङ र त्यसको व्यवस्थापनका लागि यातायात व्यवसायीले गरेको आग्रहलाई समेत मध्यनजर गर्दै कार्यदल नै बनाएर महानगरले अध्ययन गरेको हो ।

    भक्तपुरको सल्लाघारीस्थित सडक किनारालाई बसपार्क बनाउने प्रतिवेदनमा भनिएपनि घुमाउरोगरी उक्त क्षेत्रको १०८ रोपनी खुला जग्गालाई बसपार्कका लागि सुझाइएको हो । नेपाल ट्रस्टको नाममा रहेको उक्त जग्गा भक्तपुर नगरपालिकाले पर्खाल लगाई भोगचलन गरिरहेको छ । भक्तपुर नगरपालिकाले उक्त क्षेत्रमा ख्वप: विश्वविद्यालय बनाउने योजना अघि सार्दै आएको छ ।

    ‘नेपाल सरकार, प्रदेश सरकार, उपत्यका भित्रका पालिका र सवारी साधन व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधानको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टछुट्टै सवारी साधान टर्मिनलको विकास गर्न महानगरपालिकाले पहल गर्ने,’ प्रतिवेदनमा भनिएको छ । काठमाडौँ उपत्यकाका पालिकाहरु एवं धुलिखेल, वनेपा र पनौती नगरपालिका तथा बस व्यवसायी लगायत सरोकारवालाहरुको साझेदारीमा यातायात कम्पनी निर्माण गरी सार्वजनिक यातायातको दीर्घकालिन व्यवस्थापन गर्ने प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदन बुझेपछि प्रमुख शाक्यले कार्यपालिका बैठकमा उक्त प्रतिवेदनलाई एजेण्डाकै रुपमा प्रस्तुत गरी छलफल गरी अघि बढ्ने बताए । ‘यो महानगरपालिकाको मात्रै समस्या होइन । यो प्रदेश र संघीय सरकारको पनि समस्या हो,’ शाक्यले भने, ‘यसका लागि प्रदेश र संघीय सरकारसँग पनि सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने हुन्छ । यसका लागि पहल गर्न काठमाडौँ महानगरपालिका तयार छ ।’ शाक्यले व्यवसायीहरुसँग समन्वय गरी बसपार्कको पूर्वाधार निर्माणका लागि महानगरपालिकाले समन्वय गर्न सक्ने समेत जनाएका छन् ।

    काठमाडौँ महानगरपालिकाले खुल्ला मञ्चबाट बसपार्क हटाएर सिटी यातायातका लागि ‘पिक एण्ड ड्रप’ र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएपछि मध्यम दुरीका यातायात व्यवसायीले नयाँ बसपार्क अपायक परेको भन्दै अर्को व्यवस्था नभएसम्म उपयुक्त व्यवस्थापन गर्न आग्रह गर्दै आएका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्को व्यवस्था नभएसम्मका लागि खुल्ला मञ्चमा साविकबमोजिम बसपार्कका रुपमा प्रयोगका लागि माग गरे पनि महानगरपालिकाले भने त्यो सम्भव नहुने बताउँदै आएको छ ।

    महानगरपालिकाले गठन गरेको यातायात सञ्चालन सम्बन्धी प्रतिवेदनमा काठमाडौँ उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी काठमाडौँ महानगरपालिका क्षेत्र केन्द्रित भएर सञ्चालनमा रहेको तथ्याङ्क पनि उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...