भक्तपुर, २ पुस २०७८बागमती नदीमा फोहर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीक्यामेरा जडान गरिने भएको छ। स्थानीय र प्रहरीसंगको सहकार्यमा सो कार्य हुन लागेको हो ।
बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलले नदी सफाइ गर्ने क्रम जारी रहने र फोहोर नदीमा फाल्ने समस्या निराकरण नहुने भएकाले फोहोर फाल्ने कामको निगरानी र कारवाहीका लागि नदी किनारा र पुलमाथि सीसीक्यामेरा जडान गरिने जानकारी गराइन।
पहिलो चरणमा गोकर्णदेखि टेकुसम्म रहेका झोलुङ्गे पुल, पक्की पुल र अन्य थुप्रै पैदल यात्रुका लागि मात्र बनाइएका फलामे पुललाई लक्षित गरि सीसी क्यामेरा जडानको योजना बनाइएको बताइएको छ ।
स्थानीय तह र प्रहरीसँगको समन्वयमा सिसी क्यामेरा जडान र फोहोर फाल्नेलाई कारवाही गरिने कार्य अघि बढाइने बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालले बताए ।
उहाका अनुसार क्रमस बल्खु, कर्मनासा, विष्णुमती, रुद्रमती (धोबी खोला), महादेव खोला धादिङ, गोदावरी, हनुमन्ते र मनोहरामा पनि यो कार्य अघि बढ्ने छ ।
बागमती नदी सफाइ अभियान अन्तर्गत ४ सय ४८ हप्ता पूरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ, तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम नरोकिदा अभियानले थालिनी गरेको अनुसार बागमती नदि सोचे जस्तो सफा हुन नसकेको समितिका सदस्य मौसम खनाल बताउछन ।