जिल्ला समन्वय समिति(जिसस) भक्तपुरका नवनिर्वाचित प्रमुख,उपप्रमुख र सदस्यहरुले सपथ र पदभार ग्रहण गरेका छन् । सोमबार सपथ ग्रहण गरे लगत्तै उनीहरुले पदभार ग्रहण गरेका हुन् ।
निर्वाचन कार्यालयद्वारा आयोजित सपथ ग्रहण कार्यक्रममा मूख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले नवनिर्वाचित जिसस प्रमुख ईश्वरबहादुर थापालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने प्रमुख थापाले उपप्रमुख सुजाता बाडे र सदस्यहरुलाई सपथ ग्रहण गराए । निर्वाचित भएको प्रमान पत्र दिएपछि सपथ ग्रहण गराइएको थियो ।
उक्त अवसरमा नवनिर्वाचित जिसस प्रमुख थापाले संविधानले दिएका जिम्मेवारीलाई सृजनशील ढंगले कार्यान्वयन गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । उनले जिससलाई नयाँ तरीकाले अघि बढाउने समेत बताए ।
पूर्व मन्त्री एवं सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सांसद बस्नेत, मूख्य निर्वाचन अधिकृत बास्तोला,सिडिओ रुद्रादेवी शर्मा, निवर्तमान जिसस प्रमुख नवराज गेलाल, जिल्ला समन्वय अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । उनीहरुले जिसस गठन संगै भक्तपुरको यस पटकको स्थानीय निर्वाचन सम्पन्न भएको भन्दै अब जनताको अपेक्षा पूरा गर्ने अभिभारा नवनिर्वाचित जनप्रतिनिधिको काधमा आएको उल्लेख गरे । वक्ताहरुले सहमती र सहकार्यसहित साझा चरित्र प्रदर्शन गर्दै जिम्मेवारी बहन गर्न प्रेरित गरेका थिए ।
कार्यक्रममा सूर्यविनायकका नगर प्रमुख बासुदेव थापाको उपस्थिति देखिए पनि अन्य तीन नगरका कोहीपनि जनप्रतिनिधिको उपस्थिति देखिएन । उक्त अवसरमा चाँगुनारायणका निवर्तमान प्रमुख एवं नेकपा एमालेका जिल्ला इन्चार्ज सोमप्रसाद मिश्र, एमाले जिल्ला अध्यक्ष बचन देउजा, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुनिल बासु, नेपाली काँग्रेसका प्रतिनिधि यादब अधिकारी, सरकारी कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।