News Portal

  • पर्यटकीय ‘हब’ बन्दै गाजाको दह

    इभक्तपुर संवाददाता
    २८२ पटक

    अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । यो गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड नै लाग्ने गर्छन् । बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा पर्ने गाजाको दह निकै चर्चित भए पनि अझै आझेलमा छ ।

    प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ र गलकोट नगरपालिका तथा बरेङ गाउँपालिकाको सङ्गमस्थल हो । दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाको दहमा पुग्ने जो कोही पनि मोहित हुने गर्छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटर टाढा रहेको गाजाको दहमा चार घण्टाको पैदल र डेढ घण्टाको गाडीको यात्रामा पुग्न सकिन्छ । प्रत्येक याममा यहाँको सुन्दरता फरक–फरक देख्न सकिन्छ । गाडीमा भन्दा बढी पैदल यात्रा गर्दा घुमफिर रोमाञ्चक बन्छ ।

    वन, पाखा, खोला, झरना, गाउँले जीवनशैली र दर्जनौँ हिमशृङ्खलाले मनै लोभ्याउँछ । बागलुङ नगरपालिका–८ सिगाना, बौँडेचौर, रेशको चापखर्क हुँदै यहाँ पुग्दा घनाजङ्गल पर्दछ । अझ यहाँ रहेको दहले धेरैलाई आकर्षित गर्छ । दह वरपरका परम्परागत घर अहिले पनि देख्न सकिन्छ । गाजा दह क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माणमा चासो नदिँदा ओझेलमा पर्न थालेको स्थानीय गोपाल छन्त्यालले बताए ।

    दहसँगै यहाँ बराह थान पनि छ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने थापा बताउँछन् । खास गरी यहाँ हरेक वर्ष वैकुण्ठ चतुर्दशीमा मेला लाग्ने र मेलामा देशभरबाट पर्यटक आउने गरेको उनको भनाइ छ । थापाले यहाँ पर्यटक आकर्षित गर्ने संरचना बन्न नसकेकाले पर्यटक बढाउन नसकेको बताउँछन् ।

    ‘अहिले जति पनि पर्यटक आउँछन्, उनीहरु पुरानै प्रचारका कारणले आएका हुन्, पछिल्लो समय गाजाको दहको प्रचारप्रसारमा कमी छ, यति महत्त्वपूर्ण र रमणीय ठाउँ छन्, पर्यटक बढाउन सकिएको छैन’, छन्त्यालले भने, ‘प्रचार कम छ, यहाँ नयाँ संरचना पनि खासै बनेका छैनन्, प्रचारप्रसारलाई व्यापक बनाउने र यहाँ पूर्वाधार निर्माण गर्न सक्ने हो भने वर्षमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ ।’

    पहिलेको तुलनामा केही परिवर्तन आएपछि गाजा दहमा पर्यटकीय आकर्षण बढेको उनको भनाइ छ । विद्यार्थी, कर्मचारी तथा जनप्रतिनिधि पनि समय–समयमा अवलोकन भ्रमणका लागि आउने गरेको उनी बताउँछन् । पछिल्लो समय खाना र बस्नको राम्रो व्यवस्था भएपछि रातमा पनि घुम्न आउनेको सङ्ख्या बढेको छन्त्याल बताउँछन् ।

    सडकको पहुँच पुगे पनि निकै जोखिमपूर्ण छ । जोखिमपूर्ण यात्रा गर्न धेरैले रुचाउँदैनन् । गुल्मीको शान्तिपुरबाट घुम्न आएका प्रवेश क्षेत्रीले सडकको स्तरोन्नति गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने बताए । ठाउँ निकै रमणीय भए पनि यसको प्रचारप्रसार र भौतिक संरचना बनाउन सके बाह्य पयर्कटलाई समेत आकर्षित गर्न सकिने उनले बताए ।

    क्षेत्री भन्छन्, ‘फोटो र भिडिओमा निकै सुन्दर देखिन्छ गाजाको दह, म पनि भिडिओमा देखेर घुम्न आएको हुँ, ठाउँ त धेरै रमाइलो रहेछ, तर बाटो निकै अप्ठ्यारो रैछ, बाटोमा जोखिम मोल्दै आए पनि यहाँ आएर देखिने दृश्यले त्यो दुःख र समस्या भुलाइदिँदो रैछ, तर यहाँको विकास गर्न धेरै बाँकी रैछ, सडक मात्रै पनि राम्रो भयो भने यहाँ आउन सहज हुने थियो।’

    जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाजाको दहको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण योजना बनाएर लागेको बताए । उनले यो ठाउँ ऐतिहासिक भएको भन्दै यहाँका संरचना तथा दहको संरक्षणका लागि विगतदेखि नै काम गरिरहेको बताए । यहाँको दहमा बाह्रै महिना पानी हुने र यहाँ देखिने छायाँले धेरैलाई आकर्षित गर्ने गरेको उपप्रमुख शर्माको भनाइ छ ।

    उपप्रमुख शर्मा भन्छन्, ‘यो ठाउँ धार्मिक हिसाबले पनि निकै महत्त्वपूर्ण मानिन्छ, हरेक वर्ष टाढा–टाढाबाट यहाँ भक्तजन पूजाआजा गर्न आउँछन्, यस्तो महत्त्वपूर्ण क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएको छ, अहिलेसम्म केही आधार तयार भएको छ, यसको थप विकासका लागि गुरुयोजना बनाएर पूर्वाधार निर्माण गर्ने चरणमा छौँ ।’

    अहिलेसम्म यहाँ खानेपानी, मन्दिर व्यवस्थापन, शौचालय तथा सडक निर्माणको काम गरिसकेको र अन्य संरचना निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने उपप्रमुख शर्मा बताउँछन् । यस वर्ष थप संरचना निर्माणका लागि नगरपालिकाले रु पाँच लाख विनियोजन गरेको शर्माले जानकारी दिए । यस क्षेत्रलाई पर्यटकीय हब बनाउन निजी कम्पनीसँग सहकार्य गर्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...