News Portal

  • सांसद दुर्लभ थापा माथि पूर्वमन्त्री बस्नेतको संगीन व्यंग्य र गम्भीर आरोप

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ चैत २०७९
    ६१५ पटक
    भक्तपुर, १९ चैत २०७९

    पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य महेश बस्नेत आफ्नो क्षेत्रबाट निर्वाचित सांसद दुर्लभ थापा माथि खनिएका छन् । थापामाथि टिप्पणी गर्दै उनले सांसदको भूमिका निभाउन नसक्ने बस्नेतले ठोकुवा गरेका हुन् ।

    शनिवार राष्टिय युवा संघ नेपालको भक्तपुर जिल्ला अधिवेशनलाई सल्लाघारीमा उद्घाटन गर्दै नेता बस्नेतले सांसद थापा ४ महिनामा १ पटक पनि संसदमा बोल्न नसकेको भन्दै व्यंग्य गरेका छन् । “संसदमा एक दिन बोल्न सकेका छैनन् यहाँका सांसद, महेश बस्नेत थियो भने चार सय पटक भक्तपुरको आवाज उठाई सक्थ्यो ।’ उनले भने ।

    उनले वर्तमान सांसद दुर्लभ थापाको बिकास गर्ने हुती नभएको समेत जिकिर गरे । महेश बस्नेतले हनुमन्ते करिडोरमा दुई अर्व ल्यायो, दुर्लभले दुई लाख ल्याएर देखाए हुन्छ ।” उनले चुनौती दिए । आफूले भक्तपुरका सबै अस्पतालमा करौडौं बजेट ल्याएको बताउदै नेता बस्नेतले सांसद थापा बजेट ल्याउन नसक्ने मात्र नभई बिकास भाड्दै हिड्ने बिकासबिरोधी भएका समेत बताएका थिए ।”मानव अंग प्रत्यारोपण केन्द्र बन्न नदिएर स्वास्थ्य क्षेत्रका माफियाहरुसँग मिलेको त सबैले देखेकै हो ।” उनले भने ।

    उनले सूर्यविनायक धुलिखेल सडक आयोजनाको लागि आफूहरुको पहलमा ओली सरकारले १० अर्व छुट्याएको तर त्यसको जस लिन काँग्रेस र सांसद थापा लागिरहेका उल्लेख गरे । त्यतिमात्र होइन, १० अर्वको ठेक्का लगाउदा अन्तराष्ट्रिय ठेक्का गर्नुपर्ने भएकोले ठेकेदारको मिलेमतोमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजूले ३८ करोड कमिसनमा ठेक्कालाई २ टुक्रा गरेर ठेक्का लगाएको उनले आरोप लगाए । ”त्यो कमिसनको ३ करोड चुनावको २ दिन अघि भक्तपुर आइपुग्यो र हामीले हार्नुपर्यो ।” निवर्तमान सांसद बस्नेतले दावी गरे । सूर्यविनायक धुलिखेल सडक आयोजनाको ठेकेदारले दिएको ३ करोड कसकसले पाए भन्ने आफूलाई जानकारी रहेको उनले जिकिर गरे । त्यही पैसाले आफूलाई सांसद दुर्लभ थापाले हराएको उनको दावी छ ।

    नेपाली कांग्रेस चुनाव र सम्मेलनमा गरी ५ वर्षमा २ पटक मात्र उठ्ने कुम्भकर्ण पार्टी भएकाले एमालेको संगठित शक्ति सामू काँग्रेस निरिह रहेको उनको भनाइ छ । प्रचण्डले हेग जानुपर्ने डरले काँग्रेससंग घाटी जोडेको र काँग्रेस माओवादीको अन्तिम सरकार बनेको बताउदै नेता बस्नेतले अबको निर्वाचनमा यी दुवै शक्ति ध्वस्त हुने र देश एमालेमय हुने उनले ठोकुवा समेत गरेका छन् ।

    उनले भक्तपुरमा माओवादी, एकीकृत समाजवादी र नेमकिपाको कुनै हैसियत नभएको उल्लेख गर्दै त्यहाँ भित्रका असली कम्युनिष्टलाई एमालेमा ल्याउन अभियान चलाउनुपर्ने आवश्यकता औल्याए । ” हामीले राप्रपाबाट ल्याएका नेताहरुलाई मेयर र सांसद बनाईसक्यौं । अवसर र सम्मानको ग्यारेन्टी गरी असल कम्युनिष्टहरुलाई एमालेमा स्वागत गरौँ ।” उनले निर्देशन दिए ।

    त्यसैगरी  नेता बस्नेतले अतिबादी, प्रतिक्रियाबादी र यथास्थितिबादीबाट युवालाई बचाउन एवं देश र जनताको हितमा लगाउन राष्ट्रिय युवा संघमा गोलबन्द गर्नुपर्ने  विचार व्यक्त गरे । उनले बालेन र रविहरुसंग अग्रगामी बिचार र अजेण्डा नभएपनि युवाहरुलाई भ्रममा पारिरहेका प्रष्ट पार्दै उनीहरुको ब्यक्तिबादी चरित्र बिस्तारै बाहिर आइरहेको बताए ।

    पूर्व मन्त्री एवं निवर्तमान संघीय सांसद समेत रहेका नेता बस्नेतले राजतन्त्रको प्रत्यक्ष शासन जनताले भोगिसकेकाले आम युवाले ज्ञानेन्द्र शाही जस्ता युटुबरका कुरा बिश्वास गर्नु नहुने बताए । उनले राजाको पालामा भोकमरीले जनता मर्ने गरेका, गरिब र निमुखाले दास जस्तै भएर बाच्नुपरेका र बम्बइका कोठीमा चेली बेचिने गरेका लगायत कुराको स्मरण गर्दै जनताको शासनलाई गाली नगर्न युवाहरुले शाहीलाई सम्झाउनुपर्नेमा जोड दिए ।

    नेता बस्नेतले राष्ट्रिय युवा संघ नेपालमा समाजवाद हुँदै साम्यवाद तर्फको यात्रामा हिडेका युवाहरु भएकोले बिचारमा दृढ हुनुपर्ने र बहकिनु नहुने बताए । बिचार, पार्टी र नेतृत्वको रक्षा गर्न राष्ट्रिय युवा संघ किञ्चित पछि पर्नु नहुने प्रष्ट पार्दै उनले विरोधीहरु बिरुद्ध बोल्न नसक्ने युवा राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता हुन नसक्ने उद्घोष समेत गरे । राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका नेता बस्नेतले सत्ता र शक्तिको आधारमा आफ्ना युवा शक्तिलाई अनावश्यक दुःख दिने प्रयास गरे चुप लागेर नबस्ने चेतावनी समेत दिएका थिए ।

    उक्त अवसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले एमाले भक्तपुरमा सवैभन्दा ठूलो दल भएको भन्दै माओवादी र एकीकृत समाजवादीका कारण चुनाव हार्नुपरेको जानकारी गराए । पार्टी फुट्दा विगतको बिरासत कायम हुन नसकेको उनको निष्कर्ष थियो । उनले आफू पनि युवा संघकै जिलाल अध्यक्ष हुँदै पार्टीको जिल्ला नेतृत्वमा पुगेको जानकारी गराउदै युवालाई पार्टीले उचित अवसर र जिम्मेवारी दिने विश्वास दिलाएका थिए ।

    त्यैसैगरी वागमती प्रदेशका सांसद किरण थापा र सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापा, राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष क्रान्ति बुर्लाकोटी र महासचिव क्षितिज थेवे लागायतले युवाहरु पार्टीका पिल्लर भएका प्रष्ट पार्दै युवालाई पार्टीले उचित स्थान दिनुपर्नेमा जोड दिएका थिए ।

    शनिवार सम्पन्न राष्ट्रिय युवा संघ भक्तपुरको १० औं अधिवेशनको बन्द सत्रले रविन थापाको अध्यक्षतामा ५९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको केन्द्रीय सदस्य राजाराम सुवालले जानकारी गराएका छन् । उनले दिएको जानकारी अनुसार ५९ सदस्यीय नयाँ कार्यसमितिमा पदाधिकारी संख्या भने ६ मात्र रहेको छ । उपाध्यक्षमा महेश मास्के र सचिवमा दिपेश बिसुंके निर्वाचित भएका छन् । त्यसैगरी सहसचिवमा भने २ जना क्रमस: सविता श्रेष्ठ र मिठाराम दाहाल(अल्ला) रहेका छन् भने कोषाध्यक्षमा अरुण कवें निर्वाचित भएका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...