आफ्नो दुई तिहाइको सरकार टिकाउन नसकेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला भने सरकारमा जाने इच्छा जाहेर गरेका छन् । आफूलाई सरकारमा जान नदिने प्रयास भैरहेको उनको गुनासो रहेको छ । भक्तपुर आएर एमाले अध्यक्ष ओलीले सरकारमा जान नदिने प्रयास भैरहेको भनेका हुन् ।
सोमबार भक्तपुरको ताथलीमा एक ज्येष्ठ नागरिक आश्रमको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘केही मानिसहरू मेरा र एमालेका विरुद्धमा लागेका छन, उनीहरु सरकारमा जानबाट कसरि रोक्ने भन्ने उपायको खोजीमा छन् ।’ उनले ती मानिस को हुन् भन्ने बारे भने केहि पनि भनेनन् ।
सरकारमा हुँदा राम्रो काम गरेकाले नै आफूलाई सरकारमा जान नदिने प्रयास भैरहेको उनको भनाइ छ । आफू सरकारमा नभए पनि देश र जनताका पक्षमा निरन्तर काम गरिरहने उनले प्रष्ट पारे ।
पूर्व प्रधानमन्त्री ओलीले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता बढाएर आफ्नो नेतृत्व हुँदा आफूले ४ हजार पुर्याइदिएको जिकिर गरे । आफूलाई जेष्ठ नागरिकको सदैव साथ् रहने समेत उनले विश्वास व्यक्त गरेका छन् ।
उक्त अवसरमा पूर्व प्रधानमन्त्री ओलीले आश्रमको तर्फबाट बिभिन्न व्यक्तिलाई सम्मान समेत गरेका थिए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, चाँगुनारायण नगरपालिकाकी निवर्तमान उपमेयर बिणा बास्तोला, कलाकार बद्री पङ्गेनी लगायतको आतिथ्यता रहेको थियो ।
सोमबार शुरु ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’ भक्तपुरको चाँगुनारायण ९ ताथलीमा रहेको छ । यहाँ असहाय जेष्ठ नागरिकलाई निशुल्क आश्रय दिने आश्रमले जनाएको छ ।