News Portal

  • सहकारी मार्फत कारखाना खोल्नु आवश्यक : बिजुक्छेँ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १० असोज २०८०
    ३७८ पटक
    narayanman bijukchhenभक्तपुर, १० असोज २०८०

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको अशक्त र असहाय नागरिकहरुलाई अब समाजले नै हेर्नुपर्ने अवस्था सिर्जना भइरहेको बताएका छन् । बिहीवार विश्व पर्यटन दिवसका अवसरमा आयोजित संस्कृतिकर्मीहरुको सम्मान कार्यक्रमलाई दरवार स्क्वायरमा सम्बोधन गर्दै उनले सो अवस्था बारे सचेत गराएका हुन् ।

    सहकारी संस्था तथा अन्य संघ संस्थाहरुले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी आदर निकेतनहरु सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष बिजुक्छेँले युवा शक्ति बिदेशिदा ज्येष्ठ नागरिक एक्लिदै जाने अवस्थामा सामाज र स्थानीय सरकारले सहारा दिनुपर्ने अवस्थाबारे अवगत गराए ।

    युवाहरुलाई आफ्नै देशको सेवा गर्ने भावनाबाट अभिप्रेरित गर्दै जानुपर्नेमा जोड दिंदै अध्यक्ष बिजुक्छेँले सहकारी संस्थाहरु मार्फत उत्पादनमूलक क्षेत्रहरुमा लगानी गरी रोजगारी सिर्जना गर्नुपर्ने बताए । जनताको पैसा सहकारीहरुले डुबाइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले ब्यापक जनताको हित हुने गरी सहकारीहरुले समाज निर्माण र स—साना कारखानाहरु खोल्नेतर्फ विशेष ध्यान दिनु आवश्यक भएको उल्लेख गरे ।

    स्थानीय तहहरुले विदेशीको भरमा विकास निर्माण गर्छु भन्ने भावनाबाट जनप्रतिनिधिहरु टाढा रहनुपर्ने कुरा सिकाएका गर्व गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुरले नयाँ नयाँ क्षेत्रमा नमुना कार्यहरु गरी देशकै लागि उदाहरणीय पालिका बन्नुपर्ने प्रष्ट पारे ।

    कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पछिल्लो शिक्षक आन्दोलन स्थानीय तहको अधिकार कटौती गरी संघ सरकारमा पु¥याउने खालको भएकोले विरोध गर्नुपर्ने बताए । गरिबका छोराछोरीलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गरी सभ्य समाज निर्माण गर्ने उद्देश्यअनुसार ख्वप विश्वविद्यालय सञ्चालनको लागि निरन्तर आवाज उठाउँदै आएको उनले अवगत गराए ।

    नेपालीहरुको सम्पत्ति सीमा निर्धारण तथा नेपालीहरुको पैसा विदेशमा राख्न नपाउने व्यवस्था आवश्यक भएको उनको भनाइ छ ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रामा प्रस्तुत भएका घिन्ताङघिसी लगायत अन्य परम्परागत र आधुनिक विधाका संस्कृतिहरुको अलग अलग मूल्यांकन गरी पुरस्कारको व्यवस्था गरिएको र यसले संस्कृतिको संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने प्रष्ट पारे ।
    भक्तपुरको पुरानो सहर आफैमा एउटा सम्पदा सहर भएको बताउँदै उनले २०७२ सालको भूकम्पबाट भत्केका कयौं सम्पदाहरु भक्तपुर नपाले विदेशीको सहयोग विना नै स्थानीय जनताको साथ र सहयोगमा पुनःनिर्माण गर्नु सबै भक्तपुरबासीहरुको लागि गौरवको विषय भएको बताए ।

    कला, संस्कृतिक संरक्षण, ऐतिहासिक र सांस्कृतिक महत्वको दृष्टिले देशकै महत्वपूर्ण नगरको रुपमा विकसित भक्तपुरले अग्रजहरुले कामलाई निरन्तरता दिँदै समयअनुसार नयाँ नयाँ अध्ययन, अनुसन्धान र उत्खनन्का कार्यहरु गर्दै निरन्तर समृद्ध भक्तपुरको यात्रामा लागिरहेको उनको भनाइ छ ।

    त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले नाचगानको राजधानी भक्तपुर जीवन्त सहरको रुपमा विकास भइरहेको बताए । भक्तपुरको बेजोड मौलिक शैलीको नाचगान र नृत्यलाई निरन्तरता र संरक्षण गर्दै जानुपर्नेमा जोड दिंदै नगरपालिकाको पुरस्कारले नया पुस्तालाई यसमा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

    सांस्कृतिक नाचगानमार्फत अमेरिकी साम्राज्यवादको विरोध, सीमा अतिक्रमण, नेपालमा भइरहेको विभिन्न काण्डबारे भक्तपुरका युवाहरुले सशक्त रुपमा विरोध गरिरहेको बताउँदै उनले अन्यायको विरोध र निरंकुशताको विरोध गर्ने जनताको नैसर्गिक अधिकार भएको बताए ।

    भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको सांस्कृतिक धरोहरलाई विश्वसामु उजागर गर्न विश्व पर्यटन दिवसको अवसरमा संस्कृतिकर्मी सम्मान कार्यक्रम आयोजना गरेको बताउँदै पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला रसंस्कृतिलाई व्यवहारिक रुपमा रुपान्तरण गर्ने प्रयास नगरपालिकाले गरिरहेको जिकिर गरिन् ।

    भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले ऐतिहासिक नगरी भक्तपुर सबै क्षेत्रमा अग्रणी रहेको बताउँदै आगामी दिनहरुमा पनि जिप्रका र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गरी अगाडि बढ्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

    स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मीले अमूर्त सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने संस्कृतिकर्मी लाई नगरपालिकाले सम्मान गरेमा सन्तोष व्यक्त गर्दै कृषि र संस्कृतिलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताइन ।

    इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले गुन्हीपुन्ही र सापारुको ऐतिहासिक पक्षमाथि चर्चा गर्दै प्राचिनकालदेखि प्रचलनमा आएको गुन्हीपुन्ही र सापारु भक्तपुरको पर्यटन प्रवद्र्धनमा समेत उर्वर रहेको उल्लेख गरे ।

    वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले संचालन गरेको कार्यक्रममा कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरूको मूल्यांकनको समीक्षा गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले स्वागत मन्तव्य राखेका थिए ।

    उक्त कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले प्रत्येक वडाबाट २ जनाका दरले २२ जना सांस्कृतिक गुरुहरूलाई दोसल्ला ओढाई नगद रु. २०,०००।– सहित सम्मान पत्र प्रदान गरेका थिए । त्यस्तै उत्कृष्ट कलाकारहरूलाई पुरस्कार वितरण र पर्यटन सम्बद्ध संघ संस्था र ट्राभल एजेन्सीहरुलाई कदरपत्र पनि उनले प्रदान गरे ।

    Bhaktapur

    प्रतिकृया दिनुहोस्

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...