News Portal

  • भक्तपुरका उद्योगी र ब्यापारीहरुले सरकारलाई बढी सहयोग गरिरहेका छन् : सिडिओ श्रेष्ठ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १९ असोज २०८०
    ४३९ पटक
    roshani shreshtha cdo bhaktapurभक्तपुर, १९ असोज २०८०

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरका उद्योगी र ब्यापारीहरुले सरकारलाई बढी सहयोग गरिरहेका बताएकी छन् । अन्य जिल्लाका तुलनामा यहाँका उद्योगी र व्यवसायीले बढी सहयोग गरिरहेका उनले बताएकी हुन् ।

    शुक्रवार उद्योग बाणिज्य संघ भक्तपुरले प्रजिअ श्रेष्ठको स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले गलत काम गर्ने उद्योगी र व्यापारीको पक्षमा नलागी उनीहरुलाई कारवाहीको दायरामा ल्याउन उद्योग बाणिज्य संघ भक्तपुरले सहयोग गरिरहेको प्रति सन्तोष व्यक्त गरेकी छन् । भक्तपुर उद्योग बाणिज्य संघले व्यवसायिक दायित्व निर्वाह गर्न प्रेरित गरेका कारण जिल्लामा अव्यवसायिक हर्कत गर्ने उद्योगी व्यवसायीहरु निरुत्साहित भएका उनले बताइन ।

    बिशेष गरी उपभोक्ता हित संरक्षण गर्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा हुने अनुगमनका क्रममा बढी मूल्य लिने, नियम बिपरित प्याकेजिङ्ग गरी मालबस्तु बेच्ने, मिति नाघेका मालाबस्तु बेच्ने र गुणस्तरहीन मालसामान बिक्रिवितरण गर्नेलाई उद्योग बाणिज्य संघ भक्तपुरले संरक्षण नगरी कारवाहीको दायरामा ल्याउन खेलेको भूमिका प्रशंसनीय भएको उनको भनाइ छ ।

    प्रजिअ श्रेष्ठले उद्योग बाणिज्य संघ भक्तपुरले जिल्लामा शान्ति सुरक्षाको प्रवर्द्धनमा समेत सहयोग पुर्याइरहेको बताएकी छन् । सिसिटिभी क्यामेरा जडान, ट्राफिक कार्यालय लगायत भिभिन्न प्रहरी प्रभागका भवन निर्माण गर्न सहयोग गरेर उद्योग बाणिज्य संघ भक्तपुरले शान्ति सुरक्षाको प्रवर्द्धनमा सहयोग गरिरहेको उनले जनाएकी छन् । उद्योग बाणिज्य संघले बिभिन्न तालिम र अभिमुखीकरण कार्यक्रम मार्फत व्यवसायिक हित मात्र नसोची सामाजिक कर्तब्य समेत पालना गरेको उनले बताइन ।

    विशेषगरी कोभिड १९ महामारीको समयमा संघले आर्थिक, भौतिक र मानवीय सहयतामा कुनै कन्जुस्याई नगरेको खुलासा गर्दै प्रजिअ श्रेष्ठले प्रहरी प्रशासनलाई हरेक कार्यमा सहयोगको हात बढाइरहेको प्रति आभार प्रकट गरिन् । आफ्नो कार्यकालमा समेत प्रशासन र उद्योग बाणिज्य संघको सम्बन्ध सुमधुर नै रहने उनले बिश्वास व्यक्त गरेकी छन् ।

    जिल्लाको उद्योग धन्दा र ब्यापार व्यवसायको सुरक्षाको लागि प्रहरी र प्रशासनले कुनै कसर बाँकी नराख्ने बताउदै प्रजिअ श्रेष्ठले शान्ति सुरक्षामा कुनै थ्रेट उत्पन्न भए निसंकोच जानकारी गराउन आग्रह समेत गरेकी छन् । उनले औधोगिक पूर्वाधार प्रवर्द्धनमा पनि आफूले सक्दो समन्वय र सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेकी छन् ।

    उक्त अवसरमा भक्तपुरमा भर्खरै पदबहाली गरेका प्रहरी प्रमुख एसपी बेद बिष्टलाई समेत स्वागत गरिएको छ । कार्यक्रममा उद्योग र व्यवसायको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने उद्घोष गर्दै एसपी बिष्टले उद्योग बाणिज्य संघले समेत प्रहरीलाई सहयोग गर्ने बिश्वास व्यक्त गरेका छन् ।

    आर्थिक सहायता दिएर मात्र नपुग्ने बताउदै एसपी बिष्टले उद्योग व्यवसायमा कालो धन प्रयोग भएको भए त्यसको जानकारी दिन आग्रह गरेका छन् ।

    उक्त अवसरमा भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आशिष दाहालले वर्तमान व्यवस्था बलियो बनाउन उद्योगी र व्यवसायीले सहयोग गर्नुपर्नेमा जोड दिंदै उत्पादन र रोजगारी अभिवृद्धि गर्नुपर्ने आवश्यकता औल्याए ।

    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, सैनिक आवासीय विद्यालयका प्रमुख महासेनानी हरि बिक उप अनुसन्धान निर्देशक टेकराज तिमल्सिना, सशस्त्र प्रहरी प्रमुख २२ नम्बर गणका गणपति दिनेश महत, इन्द्रबक्स गणका गणपति मोहन थापा, जिल्ला प्रहरी परिसरका डिएसपी बसन्त पाठक, प्रहरी वृत्त जगातीकी प्रमुख रहेकी डिएसपी दिप्ती कार्की, थिमी बृत्तका डिएसपी रविन श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रमुख लगायतलाई समेत स्वागत गरिएको थियो ।

    उनीहरुलाई स्वागत गर्दै भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले प्रहरी प्रशासनले शान्ति सुरक्षा दिए मात्र उद्योगी व्यवसायीले देशको अर्थतन्त्र उकास्न योगदान दिनसक्ने उल्लेख गरे । उद्योगी र व्यवसायी लाई हेर्ने नजर फराकिलो हुनुपर्नेमा जोड दिंदै उनले आफूहरुले आफ्नो लागि मात्र नभई समाज र देशको बिकासको लागि पुर्याइरहेको योगदानको अवमूल्यन गर्न नहुनेमा जोड दिए ।

    कार्यक्रममा पूर्व अध्यक्ष केपी ताम्राकार, केपी अवाल, युवकराज भण्डारी, वरिष्ठ उपाध्यक्ष रोशनीमैया धौबन्जार, घरेलु तथा साना उद्योग महासंघ भक्तपुरका अध्यक्ष प्रेम खर्बुजा लगायतको उपस्थिति रहेको कार्यसमिति सदस्य अमर मानन्धरले जनाएका छन् । यस कार्यक्रमको संयोजन भने नविन प्रजापतिले गरेका बताइएको छ । कार्यक्रममा अतिथि र सदस्य सहित करिब १ सय उद्योगी व्यवसायीहरुको सहभागिता रहेको र कार्यक्रम पश्चात सिडिओ र एसपी लगायतको सम्मानमा रात्री भोजको समेत आयोजना गरिएको सचिव विश्वराम दुवालले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...