News Portal

  • भक्तपुरमा बजार अनुगमनको क्रममा २ लाख ८० हजार जरिवाना

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २ कार्तिक २०७९
    ७६२ पटक
    भक्तपुर, २ कार्तिक २०७९

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले बडा दशैँ लगायतका चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको दावी गरेको छ । उपभोक्ता हित संरक्षण र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई प्राथमिकतापूर्वक अग्गी बढाईएको दावी गरिएको हो ।

    जिल्ला अनुगमन समितिको संयोजक समेत रहेका भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले असोज महिनामै मात्र १ दर्जन अनुगमन गरिएको जानकारी गराएका छन् । ” जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा हामीले १ दर्जन अनुगमन गरेका छौं भने स्थानीय सरकारको अगुवाइमा ५० बढी अनुगमनमा सहभागी भएका छौं ।” उनले भने ।

    बिहीवार पत्रकारसंग कुराकानी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनका क्रममा कैफियत गर्ने व्यवसायीबाट २ लाख ८० हजार जरिवाना असुलेको समेत जानकारी गराए ।

    खाद्य बस्तु बेच्ने मार्ट, किराना पसलहरुका साथै मासु पसलमा अनुगमनलाई केन्द्रीत गरिएको जानकारी गराउदै सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले त्यसका अलावा फलफूल पसल, मिठाइ पसल, डेरी पसल, रेस्टुरा र पानी उद्योग लाई समेत अनुगमनको दायरामा राखिएको र प्रशासनले निगरानी बढाइरहेको बताए ।

    त्यसैगरी चाडपर्वका अवसर छोपेर हुने चर्को मूल्य वृद्धि र कालोबजारी नियन्त्रणका लागि बजारमा सूचकहरू तैनाथ गरी सूचना संकलन कार्य भैरहेको राष्ट्रिय अनुसन्धान विभागका भक्तपुर प्रमुख टेकराज तिमल्सिनाको भनाइ छ । आफूहरुले सुक्ष्मरुपले बजार अनुगमन गरिरहेको बताउदै प्रमुख तिमल्सिनाले सो सूचना अनुगमन समितिलाई उपलब्ध गराई अनियमितता र कालोबजारी गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याइने बताए ।

    घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आशिष दाहालले बजार अनुगमन लाई चाड पर्वमा मात्र नभई अन्य समयमा समेत नियमित गर्नपर्नेमा जोड दिए भने उपभोक्ता हित संरक्षण मंचका जिल्ला अध्यक्ष मनोज थापाले स्थानीय सरकारको नेतृत्वमा हुने अनुगमनको कारवाही प्रक्रिया फितलो भएको गुनासो गरेका छन् । गम्भीर लापर्वाहीमा पनि व्यवसायीको पसल सील नगर्ने र न्यून जरिवाना गर्ने गर्दा उनीहरुको मनोबल बढ्न सक्ने उनको चिन्ता छ ।

    उक्त अवसरमा घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजा र उद्योग बाणिज्य संघ भक्तपुरका सचिव विश्वराम दुवालले म्याद गुज्रेका, लेवल नभएका मालसामान बिक्रि र सरसफाईमा कमजोरी प्रमुख रुपमा पाइएको र त्यस्ता व्यवसायीलाई सचेत गराउने देखि नियमानुसार कारवाही समेत गरिएको बताए । अनियमितता र कालोबजारी गर्ने व्यवसायीको पक्षमा संघ नभएकोले बजार अनुगमनमा संगसंगै साथ दिइएको उनीहरुले जानकारी दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले उपभोक्तालाई सचेत पार्नसके मात्र उनीहरुले खरिद गर्ने मालबस्तु तथा सेवाको मूल्य र गुणस्तरबारे प्रश्न एवं उजुरी गर्न सक्ने बताउँदै त्यसबाट उपभोक्ता हित संरक्षण गर्न सजिलो हुने बिचार व्यक्त गरे ।

    त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले आम नागरिक अनुगमनप्रति उदासिन रहेका र सरकारी अनुगमनप्रति सकारात्मक धारणा नरहेको जानकारी गराए । दशैमा देखाउन मात्र सक्रियता बढाएको भन्ने आरोप रहेकाले सरकारले नियमित अनुगमन गरी बजारलाई उपभोक्ताको हित अनुकूल बनाइराख्नुपर्ने अध्यक्ष प्रजापतिले प्रष्ट पारे ।

    उक्त अवसरमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बजार अनुगमन व्यवसायीलाई दु:ख दिने नियतले हुने नगरेकाले भक्तपुरमा उद्योग बाणिज्य संघ र घरेलु तथा साना उद्योग संघको साथ् रहने गरेको जिकिर गरिन । पत्रकारले समाचार प्रेषित गर्दा अनुगमनका क्रममा कुनै कैफियत नदेखिएको व्यवसायीबारे पनि बताइदिएर राम्रो व्यवसाय गर्नेलाई प्रेरित गर्नुपर्ने उनले बताएकी छन् । अनियमितता र कालोबजारी गर्ने मुठ्ठीभर व्यवसायीका कारण सिंगो व्यवसायिक क्षेत्र लाई बद्नाम हुनबाट बचाउन समेत बजार अनुगमन आवश्यक भएको उनको भनाइ छ ।

    आम नागरिकलाई सरकारी अनुगमन प्रति शंका नगर्न आग्रह गर्दै दशैँ तिहार जस्ता चाडपर्वको अवसर छोपेर हुनसक्ने कालोबजारी र गुणस्तरहीन बस्तु तथा सेवाको बिक्रीलाई बन्देज गर्न बजार अनुगमन भैरहेको उनको भनाइ छ । उनले शंकास्पद ब्यवासायीबारे सूचना दिएर सहयोग गर्न समेत आग्रह गरेकी छन् । कार्यक्रममा सिडिओ श्रेष्ठले चाडपर्व पछि पनि तालिका र कार्ययोजना बनाएर बजार अनुगमनलाई नियमित र प्रभावकारी पार्ने प्रतिवद्धता प्रकट गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...