News Portal

  • नियतबस ऋण नतिर्नेलाई उन्मुक्ति हुँदैन, साच्चै नसक्नेका लागि सरकार छ : अर्थमन्त्री डा महत

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ मंसिर २०८०
    २८० पटक
    prakas sharan mahatभक्तपुर, ६ मंसिर २०८०

    अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा नियतबस ऋण नतिर्नेलाई उन्मुक्ति नहुने उद्घोष गरेका छन् । ऋण पूजी दुरुपयोग गर्ने, अन्य क्षेत्रमा लगानी गर्ने र घाटा भएको बहानाबाजी गर्दै ऋण तिर्दीन भन्नेकुरा सरकारलाई मान्य नहुने उनले बताएका हुन् ।

    नेपाल संवतका प्रवर्तक शंखधर साख्वालाई राष्ट्रिय बिभूती घोषणा गरेको दिन शंखधर दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले बुधवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले साना उद्यमीलाई भने ऋणमा सहुलियत गर्न सकिने सम्भावना बारे प्रकाश पारे । गर्दागर्दै पनि असफल भएर ऋण तिर्न नसकेकाहरुलाई सरकारले मापदण्ड बनाएर सहुलियत दिने उनले स्पष्ट पारेका हुन् । यस विषयमा मन्त्रीपरिषदबाट पनि निर्णय भएको र प्रधानमन्त्री प्रचण्डको निर्देशन सामेत पाएको जानकारी गराउदै अर्थमन्त्री डा महतले नेपाल राष्ट्र बैंकसंग आफूले कसरी साना किसान र व्यवसायीलाई ऋणमा सहुलियत दिनसकिन्छ भन्ने बारे परामर्श गरिरहेको जानकारी गराए ।

    अर्थमन्त्री डा महतले सामाजिक संजालमा नकारात्मकता बढेको र समाजलाई नकारात्मकता बाड्ने काम गरिएको प्रति गुनासो गरे । पुरानो व्यवस्थामा चप्पल समेत लाउन नसक्ने आर्थिक अवस्था रुपान्तरण भएर अहिले हातहातमा स्मार्ट फोन पुगेको भुल्न नहुने उनको भनाइ छ । उनले नयाँ पुस्तालाई भड्काउने काम भैरहेको भन्दै पुराना पुस्ताका भुक्तभोगीहरुले नयाँ पुस्तालाई सहि सूचना दिनुपर्ने आवाश्यकता औल्याए । ”परिवर्तन जति हुनुपर्ने हो त्यति नभएपनि पहिला भन्दा धेरै राम्रो हुँदैं गएको छ ।” उनले दावी गरे । अहिलेको नयाँ पुस्तालाई लोकतन्त्र स्थापनाका लागि भएका हिजोको संघर्ष, त्याग, बलिदानको बारेमा थाहा दिन उनले आग्रह गरेका छन् ।

    नकारात्मक प्रचारबाजीले युवा पुस्तामा नैराश्यता बढेको बताउदै उनले विदेश पलायन त्यसैको प्रतिफल भएको जिकिर गरे । आफू बिदेशमै बढेको प्रशंग उल्लेख गर्दै अर्थमन्त्री डा महतले बिदेशमा सोचेजस्तो सजिलो जीवनयापन नभएको बताए । नेपाल सम्भावनाको उर्बर भूमि भएको भन्दै उनले युवाहरुले देश बिकासमा हातेमालो गर्नुपर्ने आग्रह गरे । हाइड्रो पावर, पर्यटन क्षेत्र, आईटी क्षेत्रमा देखिएको सम्भावनालाई सरकारले आर्थिक सम्बृद्धिमा रुपान्तरणमा गर्ने भन्दै उनले प्रदेश र स्थानीय सरकारले पनि आफ्नो मौलिक उत्पादन र पर्यटनलाई अघि बढाए देश छिट्टै आर्थिक सम्वृद्धि तर्फ अघि बढ्ने बिश्वास व्यक्त गरे ।

    विप्रेषणमा अहिलेसम्मकै उच्च विन्दुमा सुधार पुगेको र पर्यटकको आगमन समेत बृद्धि भैरहेको भन्दै अर्थतन्त्र बलियो बन्दै गएको अर्थमन्त्री महतको भनाइ छ । उनले नेवारी कला संस्कृती र खानपान उच्च कोटीको भएको भन्दै मध्यपुर थिमिले स्थानीय पहिचान जोगाएर राख्न सुझाव समेत दिएका थिए ।

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिको मौलिकता लाई पुनर्स्थापित गर्न विशेष पहल गरिएको र मौलिक शहरको रुपमा पहिचान स्थापित गर्दैजाने योजाबारे बताए । उनले घरहरु पुनःनिर्माण गर्दा परम्परागत मौलिक शैलीमा निर्माण गर्न प्रोत्साहन गरिएको र मौलिक शैलीका घर बनाउनेलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने गृहकार्यबारे जानकारी गराए ।

    उनले मध्यपुर थिमिको ऐतिहासिक दरवार क्षेत्रमा रहेका शैक्षिक संस्थालाई हटाइ ती दरवारलाई दरवारको रुपमा नै विकास गर्ने उद्देश्यले यसै वर्षदेखी काम शुरु हुने बताए । त्यस्तै शिक्षा र स्वास्थ्यमा जनताको पहुँच र गुणस्तर अभिवृद्धि गर्दै लगिएको जिकिर गरे । उनले मध्यपुर थिमिमा शंखधर साख्वाको राष्ट्रिय संग्रहालय निर्माण गर्न नगरपालिकाले पहल गरिरहेको र यसमा सरकारले सहयोग गर्ने बिश्वास व्यक्त गरे ।

    उक्त अवसरमा स्वागत मन्तब्य व्यक्त गर्दै नगरपालिकाका उप प्रमुख विजय कृष्ण श्रेष्ठले नेपाल संवतलाई सरकारको कामकाजमा उल्लेख गर्ने निर्णय प्रति नेपाल सरकार तथा नेवा र तामाङ्ग भाषालाई कामकाजको भाषा बनाउने निर्णय गरेको प्रति बागमती प्रदेश सरकारलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

    कार्यक्रममा जिसस प्रमुख ईश्वरबहादुर थापा, राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिलिप कुमार प्रजापति भिष्म, नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिका सभापति हरिदास प्रजापति, इमेज च्यानल टिभिका प्रबन्धक आरके मानन्धर, राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ लगायतले शंखधर साख्वाको योगदान र नेपाल सम्बतको लागि नागरिक र सरकारको तर्फबाट गरिएका प्रयासबारे प्रकाश पारेका थिए ।

    शंखधर पार्टी प्यालेसमा मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रमको संचालन नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यलले गरेका थिए । कार्यक्रममा संघीय सांसद रमा कोइराला, बागमती प्रदेश सांसदहरु देवेन्द्र श्रेष्ठ, सुरेश श्रेष्ठ, किरण थापामगर, धनेश्वरी प्रजापति, जिसस उपप्रमुख सुजाता बाडे त्यस्तैगरी पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति लगायतको समेत आतिथ्यता रहेको थियो ।

    शंखधर चोकस्थित राष्ट्रिय बिभूती शंखधर साख्वको प्रतिमामा माल्यापर्ण गरी शुरु भएको कार्यक्रम समाप्तीपछि साँझ दिपावली समेत गरिएको थियो । अर्थमन्त्री महतले सो अवसरमा राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठानको अवलोकन समेत गरेका प्रतिष्ठानका पूर्व अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...