मनसुनको समय चलिरहँदा भक्तपुर डुबानको समस्या पनि बल्झिरहेको छ । ठुलो वर्षा हुना साथ् भक्तपुर हुँदै बहने नदीहरुले आसपासका केही क्षेत्रलाई नियमित जसो डुबाउने गरेका छन् भने दुईदिन लगातार वर्षा हुँदा अन्य क्षेत्रमा पनि पानी पस्ने गरेको छ ।
भक्तपुरमा ४ राजनीतिक दलका जिल्ला अध्यक्षहरुले भने भक्तपुर डुबानको मूल जड अव्यवस्थित प्लटिङ्ग भएको भनेका छन् । नेकपा (एमाले) का अध्यक्ष वचन देउजा, नेकपा(माओवादी केन्द्र) का अध्यक्ष सुनिल गोठे ‘बासु’ त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रामेश्वर थापा र जनता समाजवादी पार्टीका अध्यक्ष राजाराम ढुकुछुले शनिवार प्रेस सोसाइटी नेपालको अन्तरक्रियामा बोल्दै डुबानको मुख्य दोष अव्यवस्थित प्लटिङ्गलाई दिएका हुन् ।
अव्यवस्थित प्लटिङ्गका कारण भू-क्षय भई बगेको माटोले नदीको सतह पुरिएको, जङ्गल मासिदा जमिनले पानी सोस्न नसकेको, नदी मिचिएको र करिडर समेत बनाउन नसकिएको भन्दै जिल्ला अध्यक्षहरुले सबै तहका सरकार संग मिलेर समस्या समाधानमा लाग्ने प्रतिवद्धता पनि प्रकट गरे ।
सो अवसरमा एमाले अध्यक्ष वचन देउजाले बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिएका छन् । राजनीति पेशा नभई बिशुद्ध समाजसेवा भएकोले जनताको कुरा आउँदा सबै राजनीतिक दल एक हुनुपर्ने उनको भनाइ छ ।
जिल्लामा नेमकिपाले साथ् नदिंदा हनुमन्तेको डुबानबाट बस्तीहरुलाई बचाउन नसकिएको उनले बताए । प्रत्येक वर्ष सूर्यविनायकको राममन्दिर र शान्ति निकेतन स्कूल डुब्दा पनि समस्या समाधानमा पहल नगरिएको उनले गुनासो गरे । आफ्नो पार्टी सम्बद्ध जनप्रतिनिधिलाई थप जिम्मेवार बनाइ जिल्लामा प्राकृतिक प्रकोप न्यूनीकरणका लागि थप पहल गर्ने उनले प्रतिवद्धता पनि प्रकट गरेका छन् ।
त्यसैगरी नेकपा(माओवादी केन्द्र)का अध्यक्ष सुनिल गोठे बासुले कम्तिमा १२ वर्षको लागि योजना बनाउनुपर्नेमा वर्षा बित्न नपाउंदै डुबान बिर्सिने र खोला छेउमा टहरा बनाउन शुरु गरिहाल्ने प्रवित्ति प्रति चिन्ता व्यक्त गरे । एकातिर जनता घुस ख्वाएर नक्सा पास गर्न खोज्ने अर्कोतिर स्थानीय सरकार डुबान केन्द्रीत मापदण्ड बनाउन र लागू गर्न असमर्थ हुने अवस्था रहुन्जेल समस्या समाधान नहुने उनको भनाइ छ ।
चाँगुनारायण र सूर्यविनायकका जंगल हुँदै आउने बाढीले भक्तपुर र मध्यपुर थिमिमा बितण्डा मच्चाउने गरेकोले ४ वटै नगरपालिका मिलेर दीर्घकालीन समाधान खोज्नुपर्ने उनले बताएका छन् ।
सो अवसरमा रास्वपाका सभापति रामेश्वर थापाले स्थानीय जनप्रतिनिधिहरु लापरवाह भएकोले समस्या भएको भनेका छन् । उनले आफ्नै घर रहेको सूनपा-७ गुन्डुमा भएको एक प्लटिङ्गले २० फुटको खोला ५ फुटको बनाईदिएको खुलासा गर्दै प्रायजसो प्लटिङ्ग व्यवसायीले कुनै मापदण्ड पुरा नगर्ने र उनीहरुको अगाडी जनप्रतिनिधि लाचार देखिने गरेका दावी गरे ।
ग्लोबल वार्मिंगका कारण वर्षामा पानी अझ बढी पर्दै जाने भन्दै उनले बाढी व्यवस्थापन गर्न सामुहिक पहलको आवश्यकता समेत औल्याएका छन् ।
त्यसैगरी जसपाका जिल्ला अध्यक्ष राजाराम ढुकुछुले वर्षा शुरु हुनु अगावै नदी र निकासको अवस्था जांच गरी आवश्यक प्रवन्ध मिलाउनुपर्नेमा जोड दिए । खोला, खोल्सा र कुलेसा बर्षैपिच्छे गहिर्याउनुपर्ने उनको भनाइ छ ।
नदी चौडा बनाई करिडोर निर्माण मात्र पनि समस्याको समाधान नभएको भन्दै जसरी बिगतका बाटाहरु साँघुरा लाग्न थाले त्यसरी नै बाढीको बहाव बढ्दै जाँदा करिडोरले पनि काम नगर्ने उनको दावी छ । नदी गहिर्याउनु नै उत्तम बिकल्प हुने उनले बताए ।
प्रेस सोसाइटी नेपालका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियाको संचालन उपाध्यक्ष दीपेन्द्रराज खत्रीले गरेका थिए । कार्यक्रममा पत्रकारहरु कृष्ण किसी, डा इन्दुल केसी, कृष्ण प्रजापति लगायतले विविध जिज्ञासा राखेका थिए ।