News Portal

  • आज माघेसङ्क्रान्ति मनाइदै : यस्तो छ यसको महिमा

    गीता अधिकारी१ माघ
    १४७६ पटक
    १ माघ

    विविध भाषाभाषी भएको हाम्रोजस्तो मुलुकमा हरेक दिन कुनै न कुनै चाडपर्व पर्ने गर्छन् । आज माघ १ गते । आजको दिनलाई हामी माघेसङ्क्रान्तिको रूपमा मनाउने प्रचलन छ । आजको दिनमा कतिपय स्थानमा ठूलो मेला, हाटबजार लाग्ने गर्छ । माघेसङ्क्रान्तिसँग जोडिएका खानेकुरामा घिउ, चाकु, तिलको लड्डु, तरुल, सेल, फुलौरा आदि पर्छन् । आजको दिनलाई मकर सङ्क्रान्ति, माघी आदि नामले पनि चिनिन्छ । आजको दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

    ज्योतिष पण्डित भरतमणी मरासिनीका अनुसार सौर तिथिको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर सङ्क्रान्ति भनिएको हो । त्यस्तै पशुपतिस्थित सूर्यघाट मेलमिलापका केशवप्रसाद चौलागाईं भन्नुहुन्छ– सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि (साउनेसङ्क्रान्ति) र मकर राशि (माघेसङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महŒवपूर्ण मानिन्छ, यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्दतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ । सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको र सूर्यको उदय बिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण शुरु हुन्छ अनि उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने, त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महŒव रहेको चौलागाईं बताउनुहुन्छ ।

    आजको दिन हाम्रो देशभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुलजस्ता खाद्यवस्तु खाएर मनाइन्छ । आजको दिनमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काईलगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भीड लाग्छ । माघेसङ्क्रान्तिलाई विभिन्न भेग र विभिन्न जाति समुदायले भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यस पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्षको रूपमा मान्ने गर्छन् । आजको दिनलाई छेत्री, बाहुन, राई, लिम्बू, नेवार, गुरुङ, मगर आदि सबैले आ–आफ्ना तरिकाले मनाउने गरेको पाइन्छ ।

    उपत्यकामा यस पर्वलाई ‘घिउ, चाकु, सँल्हु’ भनिन्छ खास गरी नेवारहरूले । आजको दिन चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने गरिन्छ भने भक्तपुरको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्छ । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले नुहाइधुवाइ गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास रहिआएको त्यहाँका पुजारी बताउनुहुन्छ, अर्को उपत्यका नजिकैको पनौतीमा मकर मेला लाग्छ । नुवाकोट जिल्लामा यस दिनलाई विशेष रूपमा मनाउने गरिन्छ । नुवाकोटका विभिन्न ठाउँमा गोरु जुधाएर आजको दिन मनोरञ्जन लिने गरिन्छ । नुवाकोटको बेत्रावती र तारुकाको गोरु जुधाइ प्रसिद्ध रहेका छन् । आजको दिन गोरु जुधाइ हेर्न ठूलो सर्वसाधारणको भीड लाग्ने गर्छ ती ठाउँमा ।

    पूर्व इलामको माइबेनी, झापाको कन्काई नदी, सुनसरीको बराह क्षेत्रमा आज विशेष मेला लाग्ने गर्छ भने मैथिली समुदायमा आजको दिनलाई तिला सङ्क्रान्तिको रूपमा मनाउने गरिन्छ । तराईमा यसदिन खिचडी, तिल र लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । पश्चिम नेपालको रिडीमा आज विशेष मेला लाग्ने गर्छ । त्यस्तै देवघाटमा आजको दिनमा स्नान गर्नेको भीड लाग्ने गर्छ ।
    नेपाल रहेका थारू समुदायको आजको दिन सबैभन्दा ठूलो पर्व हो । आजको दिनलाई माघी पर्वका रूपमा मनाइन्छ । थारूहरूले छोरीचेलीलाई उपहार दिने, सम्बन्धलाई प्रगाढ बनाउने दिन, नयाँ आर्थिक वर्ष शुरु हुने दिन घरसल्लाह गर्ने पर्व, अगुवा चुन्ने दिन भएको सञ्चारकर्मी दिपेशराज थारू बताउनुहुन्छ ।

    आजको दिन मगर जातिले विशेष पर्वको रूपमा धुमधामसँग मनाउने गर्छन् । मगरहरूको यो राष्ट्रिय पर्वको रूपमा घोषणा भइसकेको छ । आजको दिनलाई पूर्व र पश्चिम मगरहरू भिन्न विशेषता र प्रकृतिमा मनाउने गरेको पाइन्छ । माघेसङ्क्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ ।

    देशको विविधतासँगै धेरै समुदाय जात–जातिले आ–आफ्नै तरिकाले आजको दिनलाई मनाउने गर्छन् । यस्ता चाडपर्वले हामीलाई एकै सूत्रमा बाँध्ने काम गरेका छन् । देशको वर्तमान राजनीतिले हामीलाई अलग–अलग राख्न खोजे पनि हाम्रा पर्व र संस्कृतिले हामीलाई जोड्ने गर्छन् । यही नै हाम्रो विशेषता हो । यसलाई कामय राख्न सक्नु नै वर्तमान युवा पुस्ताको चुनौती हो । हाम्रो भाषा, साहित्य, कला र संस्कृति भनेको हाम्रो कुन कालखण्ड कस्तो थियो भनेर पहिचान गर्ने आधार पनि हो । त्यसैले हामी सबैलाई जोड्ने यस्ता चाडपर्वलाई हामी सबैले मिलेर मनाउँ र संस्कृतिमार्फत राष्ट्रिय एकतामा जोड दिउँ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...