छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ ।
जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार दत्तात्रय, क्वाठण्डौ, गछेँलगायत क्षेत्रमा सञ्चालन गरिनेछ । माघ १६ गतेपछि साँखुमा प्रदर्शन गरिने नवदुर्गा नाच त्यसपछि चाँगुनारायणमा प्रदर्शन गरिनेछ । आगामी साउन महिनाको भलभल अष्टमीसम्म चल्ने उक्त नाच साँखुमा चार दिन प्रदर्शन गरिएपछि चाँगुनारायणमा प्रदर्शन गरिने जात्रा सञ्चालक समितिका सचिव रत्नमान वनमालाले बताए ।
माघ २० मा पुनः भक्तपुर ल्याएर दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी र याछेँमा नाच प्रदर्शन गरिनेछ । त्यसपछि साँगा र काभ्रेपलाञ्चोकमा प्रदर्शन गरिने परम्परा छ । काभ्रेपलाञ्चोकमा प्रदर्शन गरिएलगत्तै पुनः भक्तपुरका तौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा र इताछेमा प्रदर्शन गरिन्छ ।
नवदुर्गा नाचलाई त्यसपछि नाला, धुलिखेल, श्रीकष्ठपुर, खर्पुमा प्रदर्शन गरिएपछि पुनः भक्तपुरका त्रिपुरासुन्दरी र याछेँमा प्रदर्शन गरिएपछि काभ्रेपलाञ्चोकका बनेपा र पनौतीमा समेत प्रदर्शन गरिने परम्परा छ । जेठ मसान्तमा भक्तपुरको इछु गल्लीबाट शुरु हुने सो जात्रा भलभल अष्टमीदेखि सम्पन्न हुन्छ ।
जात्रामा देवगणले नाङ्गो खुट्टाले नै नाच प्रदर्शन गर्नुपर्ने भएकाले केही कठिनाइ हुने गर्छ । माछा मार्ने जात्राकै क्रममा देवगणले अर्थ संकलन गर्नुपर्ने बाध्यता छ । नवदुर्गामाथि विश्वास गरेर भेटी चढाइने रकमबाट परम्परा धान्नुपर्ने भएको छ । अर्थाभावका कारण नाच बन्द हुने अवस्थामा पुगे पनि परम्परा धान्न चन्दा सहयोगबाट सञ्चालन गरिँदै आएको छ ।
मुलुककै प्रतिष्ठा बनेको यो नाच सञ्चालनका लागि नेपाल सरकार, भक्तपुर नगरपालिका र अन्य स्थानीय तहलगायत कतैबाट पनि सहयोग नपाइएपछि भक्तजनले चढाएको दक्षिणामा भर पर्नुपरेको छ । जात्रा सञ्चालनकै लागि देवगणले सडकमा गुडेका सवारी साधनदेखि पैदलयात्रु, पसललगायतसँग भेटीका रुपमा अर्थ संकलन गर्ने गरेका छन् ।
मकुण्डो लगाएर १९ जना देवगण रहने यो नाचमा १३ मकुण्डो रहने र मकुण्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ । नवदुर्गा अर्थात् माछा मार्ने जात्रामा भैरव, महाकाली, बाराही, गणेश, ब्रह्मायणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव र श्वेतभैरवका रुपमा देवगणले नाच्ने गर्छन् ।
यो जात्रामा खे बजा, त बाजा र काया बाजा बजाउने तथा महालक्ष्मी अर्थात् सिफोद्यो बोक्ने तीन तीन जना रहने गर्छन् । यो जात्रामा दर्शकले सिट्ठी बजाएर ‘आ आ आ’ गरेर जिस्क्याउने र देवगणले उनीहरुलाई लखेट्ने गर्छ । लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ ।
बालकदेखि किशोर, युवा र पाको उमेरका व्यक्तिसमेत देवता बन्नुपर्दा कतिपयको पढाइ छुट्ने, स्वास्थ्यमा समस्या आउने र रोजगारीसमेत नपाउने भएपछि देवगणका परिवारलाई रोजगारी र निःशुल्क स्वास्थ्योपचार व्यवस्था तथा जात्रा सञ्चालन गर्न सरकारले बजेट छुट्याइदिनुपर्ने माग देवगणले गरेको छ । देवता बन्न आफ्नै पैसा खर्चेर सबैलाई भोज खुवाउनुपर्ने हुन्छ । भोकै बसेर बिहानदेखि बेलुकासम्म गह्रौँ मुकुण्डो लगाएर नाच्नुपर्ने हुँदा छाती दुख्ने, पेट पोल्ने र खुट्टा दुख्ने समस्या आउने गरेको छ । रासस