News Portal

  • तपाईंले राजनीति गरिखानु हुन्न

    १४७३ पटक

    म माईतीघरबाट भक्तपुर फर्कदैं थिएँ । बनेपा—धुलिखेल जाने बस घ्याच्च माईतीघर बसस्टपमा रोकियो । म चढें । सबभन्दा पछाडिको एक सीट खाली रहेछ । म धावकीय गतिमा दौडेर सो सीटमा बसें । केही यात्रुहरुले चिनेकोजस्तो गरेर मतिर हेरे । एउटा कालो मास्क लगाएको मभन्दा अगाडिको सिटमा बसेको अधबैँशे मतिर फर्केर मुसुक्क हाँस्यो ।

    “नमस्कार नेताज्यू”

    मैले नमस्कार फर्काएँ । मलाई किन हो कुन्नि नेताज्यू भनेर सम्बोधन गरेको त्यति मन पर्दैन । लोकतन्त्रको लागि, सामाजिक परिवर्तनको लागि आफूले सकेको योगदान गरेको हो । जहीं तहीं नेताज्यूको मान पदवी मेरा लागि सौखको विषय होइन, बोझको विषय हो । फेरि निधार र आँखाको भरमा मैले उसलाई चिन्नसकेको अवस्था थिएन । म असमन्जस्यमा परें ।

    उसले मास्क तल सार्यो र अनुहार मतिर फर्कायो ।

    “नेताज्यूले मलाई चिन्नु भएन क्यारे । सम्झनुस् त एकपकट…।”

    “अनुहार त देखिराखेको हो तर मैले तपाईंको नाम खुट्याउन सकिन”—मैले भनें ।

    “चुनाव सकिएपछि त नेताले कसलाई सम्झन्छन् र ? सबै नेता उस्तै त हुन् नि !” उसले आक्रोश पोख्यो ।

    उसको अगाडि निरीहता प्रकट गर्नु बाहेक मसँग कुनै विकल्प थिएन । वरिपरि बसेका यात्रुहरु उसकै समर्थनमा रहेको भाव दर्शाउँदै थिए । यस्तो लाग्दथ्यो मानौं मैले कुनैबेला भेटेको त्यो यात्रुलाई नचिन्नु मेरो अपराध थियो ।

    “म साँगाको गोकुल क्या”—उसले भन्यो ।

    “ए अँ हगि म त कस्तो हुस्सु भएको ? तपाईं र मेरो धेरै वर्ष पहिले तपाईंकै टोलमा एउटा भेलामा भेट भएको होइन ?” मैले सम्झें ।

    “अँ त्यो दिन तपाईंले मेरो घरमा खाना खाएको होइन ?”

    “हो,” मैले त्यो प्रसङ्ग नसम्झिए पनि सम्झिएको अभिनय गरें ।

    “अनि आज त सार्वजनिक सवारीमा चढ्नु भएछ । आज आफ्नो गाडी चाँहि कता गयो नि ?”

    “मेरो निजी गाडी छैन । म सधैं सार्वजनिक सवारी साधनमा यात्रा गर्छु”—मैले भनें ।

    “सिंहदरवारको त्यत्रो उच्च ओओदामा पुगेको मान्छे, एउटा नाथे गाडी पनि किन्ने पैसा पनि कमाउन सक्नु भएन ? तपाईंले राजनीति गरिखानु हुन्न ?” उसले निष्कर्ष सुनायो ।

    उसले थप्यो—“पैसा नभई नेता बन्न सकिदैन नि नेताज्यू ”

    “किन ?” मैले तुरुन्त प्रश्न गरें ।

    ऊ बेलिविस्तार लाउन थाल्यो– “नेतालाई पकेट खर्च चाहियो, कार्यकर्ताको भरणपोषण गर्नुपर्यो, चुनावमा भोट किन्नु पर्यो, गाडी बङ्गला चाहियो । चाहिएन ? यस्तो पाराले तपाईंको पछि को लाग्छ ?”

    “म गाडी र महल जोड्ने पैसा कमाउन राजनीतिमा लागेको होइन, तपाईलाई थाहा नै छ मेरो पार्टी त सर्वहारा श्रमजीवीको पार्टी हो ।”— मैले पनि आफ्नो निष्कर्ष सुनाएँ ।

    “गाडी, महल जोड्नेमात्र उद्देश्य भए त उद्योग, व्यवसाय वा जागिरतिर लागे भइहाल्थ्यो नि !” मैले थपें ।

    “पुरानो आदर्श, नैतिकता र इमान्दारीले अब राजनीति गर्न सकिन्छ र नेताज्यू ?” उसले ओठ लेप्र्यायो ।

    “नैतिकता, आदर्श र इमान्दारी पनि नयाँ र पुरानो भन्ने हुन्छ र ?” मैले प्रति प्रश्न गरें ।

    “भनेर हुन्छ र नेताज्यू ? तपाईंभन्दा धेरै पछि राजनीतिमा आएका, तपाईंको पार्टीमा आएका नेताले ओहोदामा रहँदा गाडी बङ्गला जोडेको कसले देखेको छैन र ? ती नेताले तलदेखि माथिसम्म सबैतिर सेटिङ्ग मिलाएका हुन्छन् रे ! उनलाई नजराना र कमिसन बुझाउने मानिसको लाईन लाग्छ उनको घरमा । उनीहरुको कत्रो शान कत्रो रवाफ । गाडीका लावालस्कर लिएर हिड्छन् हिजो आज । तपाईं त ख्वै”—उसले ‘सहानुभूतिपूर्वक’ मेरो शीरदेखि तीरसम्म निहाल्यो । मेरो सामान्य पहिरन, फाट्न लागेका जुत्ता, सुन विहिन शरीर उसलाई पटक्कै मन परेन । देशमा विकराल बन्दै गएको भ्रष्टाचारको प्रमुख कारण नेताले आफ्नो सुख सुविधाको लागि राज्यको सम्पत्ति दोहन गर्ने प्रवृत्ति नै हो भन्ने उसलाई छेउटुप्पो थाहा नभएको देख्दा मलाई टीठ लाग्यो ।

    बानेश्वरको जामबाट गाडी अगाडि बढ्न सकेको थिएन । मलाई त्यो साथीसँग चाँडोभन्दा चाँडो छुट्न मन थियो । समय कटाउन मैले उसलाई एउटा हीरा खाने मुसाको कथा सुनाउन थालें ।

    “एउटा हीरा पसलमा कुनै बेला एउटा मुसो पसेछ । मुसाले हीरा खाएर हैरान पार्न थालेछ । हीरा पसलेले हीरा खाने मुसा पत्ता लगाउन एक व्यक्ति नियुक्ति गरेछ । उसले घर भरिका सबै मुसालाई एउटा कोठामा जम्मा पारेछ । एउटा मुसो चाँहि मुसाहरुको समूहभन्दा छुट्टै बस्दथ्यो । उसको चाल डाल अरु सबै मुसाभन्दा फरक थियो । त्यो व्यक्तिलाई हीरा खाने मुसा पत्ता लगाउन अप्ठ्यारो परेन ।”

    “मतलव ?”

    “मतलव मलाई देशको हीरा (राजश्व) खाएर अलग्गै बस्नु छैन । जनताभन्दा छुट्टै शान र रवाफमा बाँच्नु छैन । मेरो जीवनको लक्ष्य त्यो होइन । विल्कुल होइन ।” मैले प्रष्ट्याउन खोजें ।

    “खै के खै के ?” ऊ मसँग सहमत देखिएन ।

    “मौका पाएर पनि केही गर्न नसक्ने तपाईं नामर्दै हो नि !” उसले मलाई झन हेय भावमा हेर्यो । मेरी श्रीमतीले घरको अभाव देखाएर बेलाबेला “नामर्द” भनेर मसँग झगडा गरेको सम्झें ।

    “घुस र कसिसन नखाने नामर्द खानेचाहिं बहादुर, वाह !” भनेर ऊसँग झगडा गर्न मन थियो मलाई । तर, त्यसको मैले कुनै अर्थ भेटिन किनभने उसको दिमागमा सबै नेता देश लुट्न जन्मेका हुन् भन्ने धारणाले जरा गाडिसकेको प्रतित हुन्थ्यो । नेता भएपछि पैसाको छेलोखेलो गर्न पाईन्छ भन्ने बुझेको छ उसले ।

    बस सूर्यविनायक पुग्यो । गोकुल र म छुट्टियौं । म एउटा प्रशिक्षण कार्यक्रममा जानु थियो । एक घागडान नेताले ‘असल नेतामा हुनुपर्ने गुणहरु’ विषयमा प्रशिक्षण दिने कार्यक्रम थियो । उनको धाराप्रवाह प्रवचन शैली लोभ लाग्दो थियो । उनले भियतनामी कम्युनिष्ट नेता हो ची मिन्हको असल नेता काम गर्ने बेला जनताको अगाडि र खानेबेला जनताको पछाडि बस्नुपर्छ भन्ने भनाई सुनाए । सबैले ताली बजाए ।

    कार्यक्रम पछि जलपानको आयोजना गरिएको थियो । सहभागीहरु लाईन लागेर जलपानमा सहभागी हुँदै थिए । सहभागीले खानु अगावै नेताहरुलाई मञ्चमै पकवान टक्र्याई सकिएको थियो ।

    “समाज बदलिसकेको छ, कहाँ बुढा हो ची मिन्हको पालामा जस्तो चल्छ अहिले ? लिस्योस् हजुर, लिस्योस् !” प्रमुख अतिथि नेतालाई कोही भनिरहेथ्यो । हनुमानगिरी गरिरहेथ्यो ।

    (लेखक गरीबी निवारण कोषका उपाध्यक्ष हुनुहुन्छ)

    प्रतिकृया दिनुहोस्

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...