रूपन्देही,२ साउन । रूपन्देहीमा असहिष्णुताको पराकाष्टा देखिएको छ । शान्तिका दूत गौतम बुद्धका मूर्तीहरुमाथि आक्रमण भएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू माथि आक्रमण भएको हो । नगरपालिकाले शंकरनगर देखि नयाँ मिल सम्म सडकमा राखेका ५ वटा बुद्धमूर्तीमा तोडफोड भएको छ ।
लुम्बिनीको यात्रामा आउने पर्यटकलाई आकर्षित गर्न गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मूर्ती राखेको नगर प्रमुख बासुदेव घिमिरेले बताए । घिमिरेका अनुसार विहीवार बिहान मूर्ति तोडफोड भएको अवस्थामा फेला परेको हो । मूर्ती कसले किन तोडेफोड गरेको हो भन्ने थाहाँ हुन नसकेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान भैरहेको जनाएको छ । धार्मिक दंगाको उदेश्यले मूर्ती तोडिएको हो वा कोही उच्छ्रिङ्खल केटाहरुको काम हो भन्ने सुक्ष्म अनुसन्धानमा प्रहरी जुटेको जानकारी प्राप्त भएको छ ।