News Portal

  • एकिकृत जनक्रान्ति र प्रतिबन्धको एक बर्ष : एक आलेख

    उदयबहादुर चलाउने ‘दिपक’१० फागुन
    १२१७ पटक
    १० फागुन

    २०७३ फागुन १ गते राजधानी काठमाण्डौंको खुला मञ्चमा उद्दघाटन तथा ऐतिहासिक गाऊँ थवाङ्मा वन्द सत्रको आयोजना गरेर सम्पन्न आठौं महाधिवेशनबाट हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई एकिकृत जनक्रान्तिको नाममा संश्लेषण गर्यो । घोषणाका प्रारम्भिक दिनहरुमा यसप्रति केहि सामान्य र सतही टिप्पणी बाहेक खासै ठुलो बहस भएन । यता, आफ्नो घोषित कार्यदिशालाई कागज र भाषणमा मात्रै सिमित गर्ने पक्षमा हाम्रो पार्टी थिएन । क्रमशः व्यवहारमा कार्यान्वयनको प्रक्रिया अघि बढ्यो । त्यसका लागि आधारभूत रुपले भ्रष्टाचार एवं राष्ट्रघात सम्बन्धि मुद्दामा पार्टीले आफुलाई केन्द्रित गर्यो । यहि अभियान अन्तर्गत २०७५ फागुन १० गते देशव्यापि कार्यक्रमसहित सूचना प्रदायक कम्पनी एन्सेलले जनतालाई महंगो शुल्क लगाएर शोषण गरेको तथा राज्यलाई कर समेत नतिरेको कारण हाम्रो पार्टीले एन्सेल् माथि देशव्यापि कार्वाही गर्यो । त्यसैलाई निहँु बनाएर केपी वली नेतृत्वको दुई तिहाई बहुमत प्राप्त ‘कम्युनिष्ट’ सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध घोषणा गर्यो । यो कुरा निश्चित हो कि, भ्रष्टाचार, राष्ट्रघात र तिब्र बढिरहेको दलालीकरणका बिरुद्ध हाम्रो अभियान अघि बढ्दै जाँदा त्यसको संरक्षकका रुपमा रहेको वर्तमान सत्ता र सरकारसँग कुनै न कुनै विन्दुमा टक्कर अवश्यम्भावि थियो । नेपाली जनक्रान्तिले प्रतिबन्ध, दमन या यस्तै अरु केहि हथकण्डाहरु झेल्नु अनिवार्य थियो । त्यहि क्रममा जब एन्सेल् माथि हाम्रो पार्टीले आक्रमण गर्यो, सरकारलाई निकै चोट पुग्यो । सायद मुटुमै प्रहार भयो तब, हाम्रो पार्टी माथि प्रतिबन्धको घोषणा गरियो ।

    प्रतिबन्ध पश्चात् स्वाभाविकरुपले हाम्रो पार्टी र हामिले संश्लेषण गरेको नेपाली क्रान्तिको सैद्धान्तिक र व्यवहारीक पक्षका वारे विरोध र समर्थनको घनत्व बढेर गएको छ । आधारभूत जनताको तहमा, देशभक्त, जनपक्षिय पंक्तिमा विश्वासको मात्रा निकै बढेर गएको छ । जनविरोधि, राष्ट्रघाती, दलाल एवं प्रतिक्रियावादी तत्वहरु प्रतिबन्धको यहि चुच्चे ढुंगाोमा चढेर चर्को बिरोध र व्यापक दमनमा उत्रिएका छन् । प्रहरीको दमन अभियान हत्याकाण्डको स्तरमा उत्रियो । त्यसको प्रत्यक्ष नेतृत्व प्रधानमन्त्री र गृहमन्त्री स्वयम्ले गरे ।

    नेपाली जनक्रान्तिले आज एकातिर दलाल संसदिय व्यवस्थाको भिषण दमन झेलिरहेको छ । त्यसका मतियारहरुको चर्को विरोध सामना गरिरहेको छ भने अर्कोतिर अग्रगमनका पक्षधर पंक्तिको अपार सद्भाव र सहयोगमासाथ अविचल अघि बढिरहेको छ । क्रान्ति र प्रतिक्रान्तिको यो टक्कर यहि फागुन २८ गते ठिक एक बर्ष पुरा हुदैछ । यो टक्कर अब सामान्य टक्करका रुपमा मात्र सिमित छैन । एक भिषण गृह युद्धमा परीणत भईसकेको छ । तथापि, यो युद्धलाई हाम्रो पार्टीले आफ्नोतर्फबाट युद्धकै रुपम अझैं स्विकार गरीसकेको भने छैन । प्रतिरक्षात्मक रणनीति अवलम्बन गरेर समग्र प्रतिरोध गरीरहेको छ । क्रान्ति र प्रतिक्रान्तिबीच भिषण युद्ध चलिरहदा कैयौं मित्रवत् सुझाव, जिज्ञासा र आलोचनाहरु व्यक्त भएकाछन् । एक बर्षको समयावधि पूरा हुदैगर्दा क्षति र उपलब्धिको एउटा स्वाभाविक चक्र पूरा भएको छ । नेपाली राजनीति सिङ्गो दुई ध्रुवमा विभाजित भएको छ । चुनौति र सम्भावनाहरु नयाँ स्तरमा उद्दघाटित भएकाछन् । यहि आधारभूमिमा रहेर यो आलेखका विषयवस्तुहरुलाई केन्द्रित गर्ने प्रयास गरिएको छ ।

    १) हाम्रो पार्टीमाथिको प्रतिबन्धले नेपाली राजनीतिको पछिल्लो कोर्षलाई जबर्जस्त अन्त गरिदिएको छ । विशेषतः बाह्रबुँदे सहमती(२०६२) हुदै शान्ति प्रक्रियासम्म आईपुग्दा तिब्र चलेको प्रतिक्रान्तिको हावा जनमुक्ति सेना र पहिलो संविधानसभाको विघटनसम्म तुफानकोरुपमै अघि बढेको थियो । त्यसले जनयुद्धबाट आर्जित अग्रगमनको समग्र मुल्यलाई क्षतविक्षेत बनायो । शान्ति प्रक्रियालाई नेपाली समाजको अर्थसामाजिक रुपान्तरणको ‘टर्निङ् प्वाईन्ट’ बनाउने ऐतिहासिक दायित्वबाट नेपाली काँग्रेस र एमाले लगायतका संसदवादी पार्टीहरु त पछि हटे नै, स्वयम् माओवादी पार्टीको शिर्ष नेतृत्वपंक्ति समेत त्यसबाट हतोत्साहपूर्वक भाग्यो । राजशाहि निरङ्कुशता अन्तको नाममा संसदिय प्रणालीको पुनस्र्थापनामै शान्ति प्रक्रिया सिमित भयो । राजतन्त्रको अस्त तथा गणतन्त्र उदयको घोषणा त गरियो तर, राज्यसत्ताको चरित्र भने शोषणकारी र जनबिरोधि नै रहिरह्यो ।

    विगत दश बर्षे महान् जनयुद्धको उद्देश्य किंचित पनि आजको जस्तो वुर्जुवा शोषणकारी व्यवस्था थिएन । शान्ति प्रक्रियाको व्यवहारीक मर्म पनि त्यो थिएन । तत्कालिन माओवादी पंक्तिलाई आन्तरीक रुपमा के प्रशिक्षित गरिएको थियो ? त्यो फरक कुरा हो । तर, आम नेपाली जनताको भावना र सपना के थियो ? त्यो महत्वपूर्ण कुरा हो । जनताको आम अपेक्षा र विश्वास परम्परागत र दीनहिन जिन्दगिको अन्त भन्ने थियो । विदेशिको हेपाईको अन्त भन्ने थियो । तर, समग्र शान्ति प्रक्रियाको परिणाम त्यसको ठिक उल्टो भयो । महंगि, वेरोजगारी, भ्रष्टाचार, राष्ट्रघात व्यापक बढिरहेको छ । यो निरन्तर बढिरहने कुरा निश्चित छ । किनकि, यो एकादुई व्यक्तिको ईमान्दारीता या बेईमानिको परिणाम होईन । यो त सिङ्गो अर्थ राजनीतिक प्रणालीको परिणाम हो ।

    प्रतिबन्धको यो घोषणाले अग्रगमन र प्रतिगमनकाबीचको रेखालाई अझ स्पष्ट बनाईदिएको मात्र होईन अग्रगमनको धारा र त्यसको मुल्य पूनस्र्थापित गरिदिएको छ । प्रतिगमन र प्रतिक्रान्तिको ज्यानमारा व्याक्टेरीयाहरु केहि सिथिल भएकाछन् । क्रान्ति, स्वाधिनता र अग्रगमनको बहस फेरी शुरु भएको छ । स्वाधिनताको जागरण फेरी उठेको छ । नेपाली समाजको विगत अग्रगामि आन्दोलनको कडि जोडिएको छ । क्रान्ति र अग्रगमनको स्वामित्व दलाल र गद्दारहरुबाट खोसेर जनता र तिनका अग्रप्रतिनिधिहरुलाई सुम्पिने महाअभियान फेरी शुरु भएको छ । यसले क्रान्तिकारी आशावादीता र विश्वासलाई पुनर्जागरण गरेको छ ।

    २) वर्तमान सरकार दलाल संसदिय जडमतिवादको मतियार मात्र हो भन्ने पुष्टि गर्न क्रान्तिकारीहरु मात्र अब बोल्नु नपर्ने भएको छ । देशभक्त तथा जनपक्षिय पंक्तिको प्रतिवादले त्यसलाई प्रमाणित गरीसक्यो । त्यो आवाज केवल हाम्रो पार्टीको मात्र आवाज रहेन । त्यसको तिब्र विस्तार भयो । त्यो सडक देखि सदनसम्म र प्रतिपक्ष देखि सत्ता पक्षसम्मै लहर झैं फैलियो । सरकारप्रति असन्तुष्टि र अविश्वास संसदिय व्यवस्थाको प्रतिपक्षतामा मात्र सिमित रहेन । यो सडकमा समेत पोखियो । त्यति मात्र होईन प्रत्येक घरको चुलोमा पुगेको छ । आखिर एउटा राष्ट्रको अस्तित्व तब मात्र सम्भव छ जब त्यो राष्ट्रका जनताको आवाज त्यो देशको सत्ता र नेतामा मुखरीत हुन्छ । वर्तमान सरकार जनताको नजरबाट नाङ्गेझार भएको छ । यो व्यवस्था र सरकारले जनता र राष्ट्रलाई प्रगतिको बाटोमा हिडाउन सम्भव छैन भन्ने तथ्य जनतामा पूनस्र्थापित भएको छ । वास्तवमा यो संसदवादको असफलता हो । संसदिय जडमतिवादको असफलता हो ।

    ३) युद्धमा जितहारको अन्तिम टुंगो उच्च नैतिक बल एवम् राजनीतिक श्रेष्ठताले मात्र लगाउछ । दुईचार वटा लडाईमा जित्नु र हार्नु युद्धको पराजय या हार हुदैन । दुनियाँका अपराजित भनिने तमाम् महाशक्तिहरु जसले प्रतिगमनको युद्ध लडेका थिए ति सबै पराजयको मुखमा पुगेर विश्राम लिएको, इतिहास साक्षि छ । प्रतिबन्धको एक बर्ष वित्दा हाम्रो पार्टीका सयौं नेता तथा कार्यकताहरु र शुभचिन्तकहरु बन्दि बनाईएकाछन् । करीब एक दर्जनको शहादत भएको छ । कतिपय नेता कार्यकर्ताहरु पलायन समेत भएकाछन् । यो पार्टी आन्दोलनले बेहोरेको क्षति हो । त्यसका बाबजुद सरकारको ‘३५ दिने अल्टिमेटम’ अर्थात् दमन अभियान पूर्णतः नकाम सावित भएको छ । जनताको तहबाट प्रतिबन्ध बहिष्कृत र तिरस्कृत भएको छ । त्यसका पछाडि हाम्रो सैन्य क्षमताको अद्भूत पराक्रम म्ुख्य कारक अवश्य होईन । बरु, हाम्रो पार्टीको क्रान्तिप्रतिको इमान्दारीता र जनताको सद्भावले यो सबै सम्भव भएको हो । त्यो भनेको हाम्रो कार्यदिशाप्रति जनताको विश्वास र अनुमोदन हो ।

    राजनीतिक तथा नैतिक श्रेष्ठताको आजको विषय भनेको राष्ट्र र जनताप्रतिको इमान्दारीपूर्ण समर्पण हो । जसलाई हाम्रो पार्टीले वलिदानको कठोर मुल्य चुकाएर पुष्टि गरेको छ । उत्पिडित जनताका अधिकारहरु तथा राष्ट्रको स्वाधिनताप्रति हाम्रो पार्टीको यो इमान्दारीपूर्ण समर्पणलाई नेपाली जनताले अनुमोदन गरेकाछन् । एकिकृत जनक्रान्तिले आफ्नो पहिलो मोर्चामा प्राप्त गरेको यो शानदार सफलता हो । यो नै समग्र युद्ध विजयको आधारशिला पनि हो ।

    ४) हरेक आन्दोलन विकासको एउटा अनिवार्य शर्त भनेको स्वयम्भित्र पैदा हुने खराबि माथिको विजय पनि हो । पार्टीको पूनर्गठन, एकिकृत जनक्रान्तिको संश्लेषण तथा प्रतिबन्धको घोषणासम्म आईपुग्दा पार्टी आन्दोलन भित्र पैदा भएका खराविहरु एक पछि अर्को उजागर र पराजित बन्दै गईरहेकाछन् । पार्टी सुद्धिकरण र सुदृढिकरणको निरन्तर प्रक्रियामा अघि बढेको छ । विशेष गरी प्रतिबन्ध र त्यसका बिरुद्ध प्रतिरोधको मोर्चामा पार्टी आन्दोलनमा छिपेर रहेको आत्मसुरक्षावादी, अर्थवादी, मनोगतवादी, गुटवादी, व्यक्तिवादी, एकलकाँटे चिन्तन पद्धति नराम्रोसँग पराजित भएको छ । नोकरशाही, अराजक, उदार, घिसेपिटे, संसदिय इत्यादी खराब कार्यशैली पनि पानीको मुसो बनेर सडकमा भागदौड भएकाछन् । त्याग, वलिदान, समर्पण, लगन, इमान्दारीता, साहस, वीरता र शौर्य जस्ता क्रान्तिकारी तत्वहरु आन्दोलनमा हावि बन्दै गईरहेकाछन् । आत्मसंघर्ष र अन्तरसंघर्ष नयाँ उचाईमा उठेको छ । त्यसले वर्गसंघर्षलाई नविनता प्रदान गरेको छ ।

    ५) हाम्रो पार्टीमाथिको प्रतिबन्ध पश्चात् थुप्र्रै शुभेच्छुक तथा मित्र पंक्तिबाट पार्टी कार्यदिशाको वारे आलोचनात्मक सुझावहरु जसरी व्यक्त गरीए एकिकृत जनक्रान्ति अर्थात् नेपाली क्रान्तिको विजयका लागि त्यो निकै उच्च स्तरको उपलब्धि हो । हुन त पार्टीका विभिन्न दस्तावेजहरु, बेलाबखतका वक्तव्यहरु, मुख्य नेतृत्वका अन्तर्वार्ताहरु र लेख रचनाहरु मार्फत हाम्रो कार्यदिशावारे विभिन्न विषयको स्पष्टता हुदै आईरहेको छ । तर, यो यस्तो एउटा निरन्तर प्रक्रिया पनि हो जो एकै पटक सम्भव पनि हुदैन । एक बर्षको यो दमन र प्रतिरोधको श्रृङ्खलाले धेरै हदसम्म यो विषयलाई स्पष्ट पारीदियो ।

    क) एकिकृत जनक्रान्ति उत्पिडित जनताका अधिकारहरु स्थापित गर्ने तथा राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने विश्वव्यापि अभियान सहितको नेपाली वाटो हो । उत्पिडित जनताको अधिकारहरु स्थापित गर्नु र राष्ट्रिय स्वधिनता हासिल गर्नु दुई फरक आन्दोलनहरु भएता पनि ति एक अर्कोमा परिपुरक छन् । त्यसलाई विश्व इतिहासले फरकफरक समयमा विशिष्टतापूर्वक सम्पन्न गर्दै आईरहेको छ । सर्वहारावादी आन्दोलनमा पनि फरक अनुभवहरु सहित क्रान्तिहरु सम्पन्न गर्दै आईरहेको छ । विशेषगरी चीनमा कमरेड माओको नेतृत्वमा सम्पन्न जनवादी क्रान्ति यससम्बन्धि हालसम्मको निकै उत्कृष्ट अनुभव हो । आजपर्यन्त पनि चीनीयाँ क्रान्तिले जनवादी आन्दोलन र राष्ट्रिय मुक्तिको आन्दोलनलाई आधारभूत मार्ग निर्देशन गरीरहेको छ । तर विश्व भूराजनीतिक शक्तिसन्तुलनमा आएको पछिल्लो हेरफेर तथा विश्वको उत्पादन पद्धतिमा आएको फेरवदलले जनवादी, समाजवादी र राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई विशिष्ट ढंगले संकेन्द्रित गरिदिएको छ । जतिवेला चीनमा जनवादी आन्दोलन आँधि तुफानका साथ चलिरहेको थियो, सामन्त जमिन्दार र सुदखोरहरुको विरुद्ध किसानहरु जीवनमरणको लडाई लडिरहेका थिए । त्यो बेला सिङ्गो विश्व राष्ट्रिय मुक्ति आन्दोलनको ज्वारभाटासँग समेत टक्राईरहेको थियो । साम्राज्यवादी सेनाहरुले थुप्रै राष्ट्रहरुमा प्रत्यक्ष सैनिक हमला गरिरहेका थिए । चीनीयाँ जनवादी क्रान्ति स्वयम् पनि जापानी साम्राज्यवादका वमबर्षक विमानसँग लडिरहेको थियो । त्यो पनि कहिले एकल तथा कहिले सत्तासिन च्याङ्काईसेक सरकारसँग संयुक्त भएर । आज त्यो स्थिति छैन । विकासोन्मुख राष्ट्रको सरकार र सत्ता विदेशि एकाधिकार पुजीको प्रत्येक्ष इकाई बनेको छ । शक्ति केन्द्रहरुको कठपुतली बनेको छ । यो अवस्थामा समाजवादी आन्दोलनको नेतृत्वमा जनवादी र स्वाधिनताको आन्दोलन एकिकृत गर्नु निकै आवश्यक भएको छ । अतः आम उत्पिडित एवं श्रमजिवि तब्का, देशभक्त तथा समाजवादी शक्तिहरुबीच एकिकृत मोर्चा निर्माण गरेर आन्दोलन संचालन गर्नु एकिकृत जनक्रान्तिको मुल मर्म हो ।

    ख) आजको नेपाली क्रान्तिलाई जनअभियानकोरुपमा, जनसंघर्षकोरुपमा तथा जनप्रतिरोधको तरीकाले संचालन गर्नु एकिकृत जनक्रान्तिको मौलिकता हो । हाम्रो पार्टी आफ्नो यो आधारभूत रणनीतिमा दृढ छ । तर, जब सरकारले पार्टीमाथि प्रतिबन्ध घोषणा गर्यो, व्यापक दमन र धरपकड अभियान चलायो, कैयौं हाम्रा नेता कार्यकर्ताहरुमाथि गोली चलाएर हत्या समेत गर्यो तब न्युनतम प्रतिरोधको कार्यनीति अवलम्बन गर्नु हाम्रो वाध्यात्मक अनिवार्यता बन्न गयो । त्यसलाई कतिपय पंक्तिबाट छापामारवादको पगडी भिडाईयो । यो आरोप अज्ञानताको उपज मात्र हो । हो, आजसम्मको इतिहासले सत्ताको हस्तान्तरण बल प्रयोग(हिंसा) विना पुरा गर्न सकेको छैन । यो यथार्थलाई एकिकृत जनक्रान्तिले गहिरो गरी आत्मसात गरेको छ ।

    तर, हाम्रो पार्टीले अबलम्बन गरेको प्रतिरक्षाको यो नीति कुनै छापामारवादको अनुशरण या युद्धको अनुमोदन नभएर आत्मरक्षाका लागि गरिएको आधारभूत प्रतिरोध मात्र हो । हाम्रो पार्टीले आज पनि युद्ध र शान्ति अन्तर्गत पहिलो रोजाई शान्ति नै सकारेको छ । युद्धलाई सकेजति टार्ने कोशिस गरिरहेको छ । यसको अर्थ यो होईन कि जनताका अधिकारहरु स्थापित गर्ने हाम्रो अभियान अब स्थगित हुन्छ ! जनताप्रतिको आफ्नो कर्तव्यलाई पुरा गर्ने क्रममा यदि अझैं पनि राज्यले हाम्रो पार्टीका बिरुद्ध युद्धलाई जबर्जस्त थोपर्ने धृष्टता गरिरहेको खण्डमा युद्धलाई आत्मसात गर्नु र त्यसलाई प्रतिरोध युद्धको रुपमा सञ्चालन गर्नु हाम्रो पार्टीको अनिवार्य कर्तव्य हुनेछ । त्यो युद्ध माओले भने झैं चाहे हजारौं बर्षसम्म लड्नु किन नपरोस् ? युद्धलाई सकेसम्म टार्ने कोशिस गर्नु कमजोरी होईन । न त त्यसको आधारभूत प्रतिरोध गर्नु छापामारवाद हो । हामि एकिकृत जनक्रान्ति लडिरहेका छौं । हामि अहिले पनि सत्ताद्वारा थोपरीएको युद्ध भित्र शान्ति खोजिरहेका छौं । अग्रगमन खोजिरहेका छौं ।

    ग) सरकार होईन सत्ताको विकल्प हो एकिकृत जनक्रान्ति । एकिकृत जनक्रान्तिलाई कतिपय मित्रहरुले ‘यो पनि विगतको जस्तै पूरानै सत्तामा साझेदारी या सरकारको लागि वार्गेनिङ् नहोस्’ भन्ने सचेतना गर्नुभएको छ । नेपाली राजनीतिको यो कटु सत्यलाई हाम्रो पार्टीले निकै गहिरो गरी आत्मवोध गरेको छ । हुन त सत्ताका धर्मपुत्रहरुले वर्तमान व्यवस्था(यथार्थमा दलाल संसदिय व्यवस्था) को विकल्प खोजेमा घोर अपराध हुने र त्यसका विरुद्ध जस्तोसुकै कदम पनि उठाउन सकिने फुई लगाईरहेकाछन् । हामी ति मुर्ख पण्डितहरुलाई विनम्रतापूर्वक सम्झाउन चाहन्छौं कि यो दुनियाँमा आजसम्म अखण्डनिय या विकल्पहिन विचारधारा र अपरिवर्तनिय सत्ता कहि पनि छैन र हुने छैन । जनता र हाम्रा मित्र पंक्तिमा हाम्रो प्रष्टता यो हो कि एकिकृत जनक्रान्ति कुनै पनि हालतमा सरकारको विकल्प होईन । यो सत्ताको विकल्प हो । यो सत्ता वैज्ञानिक समाजवाद हो । हाम्रो जोड यो हो कि वैज्ञानिक समाजवादविना अर्थात् वर्तमान दलाल संसदिय सत्ताको अन्त्य विना महंगि, वेरोजगारी, भ्रष्टाचार, कमिसनखोरी इत्यादी समस्याको अन्त सम्भव छैन । दलाल संसदवादी मुहानवाट नै ति टुकुचाहरु निरन्तर वग्ने गर्दछन् । त्यसको समाधान व्यक्तिमा होईन संस्था र प्रणालीमा खोज्न जरुरी छ । व्यवस्थामा खोज्न जरुरी छ ।

    घ) राजनीतिक समृद्धि समग्र समृद्धिको केन्द्रिय भाग हो । नेपाली समाजमा एउटा खतरनाक विषको रुपमा फैलाईएको भ्रम के छ भने ‘आर्थिक समृद्धिबिना कुनै पनि कुरा सम्भव छैन ।’ त्यसकै अर्को संश्करणका रुपमा भन्ने गरिन्छ ‘अबको क्रान्ति आर्थिक क्रान्ति’ । हाम्रो स्पष्टता यो हो कि आर्थिक समृद्धि आधारभूत र अत्यावश्यक कुरा हो । तर, आजको दुनियाँमा राजनीतिक समृद्धि बिना आर्थिक समृद्धि खोज्नु अज्ञानता, मुर्खता या धुत्र्याई मात्र हो । नेपाली इतिहासमा राणकाल देखि आजसम्मका हरेका राजनीतिक आन्दोलनहरु पराजित भएकाछन् या सम्झौतामा टुंग्याईएकाछन् । अधकचल्टा आन्दोलनहरुले एकपछि अर्को पराधिनता निम्त्याउने गरेका छन् । गरीवि थोपर्ने गरेकाछन् । २०६२÷६३ को आन्दोलन पनि एक अधकचल्टो आन्दोन थियो । त्यसले राजतन्त्र फाले पनि विश्वमा नकामसिद्ध पुजीवादी वुर्जुवा दलाल संसदिय व्यवस्थालाई पुनर्जिवन दियो । यो कुनै पनि मुल्यमा राजनीतिक समृद्धि होईन । यसर्थ आर्थिक समृद्धिका लागि एउटा समृद्ध राजनीतिक क्रान्ति आजको आधारभूत आवश्यकता हो ।

    ६) नेपाल राष्ट्र आज एक निकै ठुलो संकटको डिलमा उभिएको छ । गणतन्त्रको स्थापना कुनै पनि दृष्टिले राजनीतिक अग्रगमन होइन भन्ने अब कुनै पहेली बाँकि रहेन । जसको परिणाम देशमा राजनीतिक स्थिरता त संभव छैन नै बरु राजनीतिक षडयन्त्रका सम्भावना अझैं बढेर गएका छन् । राष्ट्रिय स्वाधिनतामाथि दिनप्रतिदिन हस्तक्षेप बढिरहेको छ । जनताका अधिकारहरु स्थापित हुनु त परै छ भएका अधिकारहरु समेत गुम्ने खतरा ज्यादा छ । वेरोजगारी, भ्रष्टाचार, महंगि दिन दुगुना र रात चौगुना बढिरहेको छ । राज्यबाट जनताले कुनै पनि क्षेत्रमा सुरक्षाको प्रत्याभूती गर्न सकेका छैनन् ।

    राजनैतिक क्रान्तिको नाममा भएका पटक पटकका धोका तथा पछिल्लो चरणमा भएको दश बर्षे जनयुद्धको पराजय र विघटनले नेपाली जनतामा क्रान्तिप्रतिको विश्वास निकै डग्मगाएको छ । यसले जनतामा राजनीति र राजनैतिक नेतृत्वप्रति असन्तुष्टि र आक्रोस थपेको छ । निकै विडम्बनाको कुरा के भने क्रान्तिकारी आन्दोलनको दमनमा आज पुरानो प्रतिक्रियावादी शक्तिका साथ जनयुद्ध लडेकै एउटा तब्का थपिएको छ । यसले नेपाली जनक्रान्तिमा समेत कैयौं नयाँ चुनौतिहरु थपिदिएको छ । संभावना र चुनौतिको नियम नै यस्तो छ कि जतिबेला चुनौतिहरु जब्बर भएर खडा हुन्छन् त्यो बेला संभावनाको अकल्पित ढोका पनि सँगसँगै खुलिरहेको हुन्छ । प्रतिक्रान्तिको कित्तामा जसरी नयाँ राजनैतिक शक्ति र समुहहरुले नेतृत्व गरीरहेकाछन् क्रान्तिको कित्तामा पनि नयाँ ध्रुविकरण आवश्यक र संभव बनाईदिएको छ । यो नै नेपाली क्रान्ति विजयको नयाँ आधारभूमि हो ।

    केहि पुरानै र कतिपय नयाँ चुनौतिहरु शिरोपर गर्दै एकिकृत जनक्रान्ति आफ्नो गन्तव्यमा दृढताकासाथ अघि बढिरहेको छ । यो अभियान तब मात्र पुरा हुनेछ जब नेपाली जनताका आधारभूत अधिकारहरु— गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी को पिडाबाट नेपाली जनताले मुक्ति पाउनेछन् । नेपाल एक स्वतन्त्र र सार्भभौम देशको हैसियतमा उभिने छ । एक बर्षको प्रतिबन्धित समयले एकिकृत जनक्रान्तिलाई सर्वहारा वर्ग, श्रमजिवि तब्का, उत्पिडित समुदाय, उपेक्षित क्षेत्र तथा नेपाल र नेपाली जनताप्रति थप समर्पित गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर...