News Portal

  • नेकपामा‘खुच्चिङ’प्रवृत्ति : समस्या नेतृत्वमै

    एनके दाहाल१३ फागुन २०७६
    ११९६ पटक
    १३ फागुन २०७६

    कमिशन डिलको अडियो रेकर्ड सार्वजनिक भएपछि सञ्चार तथा प्रबिधि मन्त्री गोकुल बास्कोटा राजीनामा दिन बाध्य भए । बास्कोटाले राजीनामा दिएपछि सामाजिक सञ्जालमा उछित्तो काडियो । विभिन्न कथा र कहानी जोडेर उडाइयो । नेकपाकै चिनिएका नेता कार्यकर्ता पनि उपदेशसहितका भनाइ राखेर पाठ पढाउन तल्लिन रहे । बास्कोटाको पक्षमा एकाध ब्यक्तिको मात्र भनाइ सार्वजनिक भयो । प्रधानमन्त्री के.पी शर्मा ओलीको मन्त्रिपरिषदका एक मात्र उत्तराधिकारी भन्दै उनको गुणगान गाउने हनुमान शैलीका ब्यक्तिहरु पनि यो प्रकरणमा साखुल्ले पल्टिए ।

    केही महिनाअघि तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि वलात्कारको आरोप लाग्यो । त्यस समयमा पनि समर्थन र विरोधको अवस्था बास्कोटाकै जस्तै थियो । महरामाथि षडयन्त्र भयो भन्नेहरुमाथि नै आरोप लगाउने काम भएको थियो । तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङको हालत पनि उस्तै थियो । अन्य नेताहरुका विभिन्न काण्ड तथा आरोपमाथि पनि यस्तै हुँदै आएको छ । देखिने घटनाको विरोध गर्नु स्वाभाविक हो । तर, हावादारी र अविश्वसनीय आरोपमा पनि नेकपाकै सदस्यहरु पनि रमाउँदै सामाजिक सञ्जालमा नैतिकवान देखिने गर्छन ।

    यी उदाहरणले नेकपा एक ढिक्का नरहेको प्रमाणित गर्दछ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारमाथि भ्रष्टाचारको मुद्दा दर्ता भयो । गच्छदारले सम्बन्धित मन्त्रालयको क्षेत्राधिकार मिचेर मन्त्रिपरिषदमा प्रस्ताव लगी भ्रष्टाचार गरेका थिए । उनीमाथि मुद्दा दर्ता भएपछि नेपाली कांग्रेसले संसद अबरुद्ध ग¥यो । सबैले त्यसको बिरोध गरेपछि संसद त खुल्यो, तर कांग्रेसले गच्छदारमाथिको भ्रष्टाचार प्रकरणलाई राजनीतिक मुद्दा बनाउने निर्णय गरेको छ । भ्रष्टाचार मुद्दामा समेत कांग्रेस एकजुट भयो । संसदीय प्रणालीमा प्रतिपक्षको काम सरकारको खराब कामको बिरोध गर्दै खबरदारी गर्नु हो । तर बिडम्बना कांग्रेसले सरकार र संवैधानिक निकायको राम्रो कामको बिरोध गरेर जग हसाइरहेको छ । गुटैगुटको महासंघ नेपाली कांग्रेस आफ्ना नेताहरुले खराब काम गरे पनि एकजुट बनेर पार्टीमा संरक्षणको नीति लागू गर्न लागिपरेको छ । राजनीतिक हिसावले यो काम गलत हो भन्नेमा कसैको विवाद छैन ।

    कांग्रेसको ठीक विपरीत नेकपामा भने माथिल्लो तहबाटै कुनै समस्या पर्दा ‘खुच्चिङ’ भन्ने प्रबृत्ति प्रकट हुने गरेको छ । आफू निकट नेता कार्यकर्ता ठीक बाँकी सबै बेठीक भन्ने शैलीमा प्रस्तुति देखिने गरेको छ । महरा पक्राउ परेपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अन्तर्वार्ता दिएर एमसीसी सभामुख महराकै कारण टेबुल हुन नसकेको भन्दै अर्को अधिवेशनबाट पास हुने अभिव्यक्ति दिए । एमसीसीकै कारण महरामाथि षडयन्त्र भएको भनेर आवाज उठिरहेको बेला उनको यस्तो अभिब्यक्ति आएपछि महरामाथि ठूलै षडयन्त्र भएको भन्नेहरुलाई बल पुग्यो । बास्कोटा राजीनामा दिन बाध्य भएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि नछोडिने र कारबाही गरिने अभिब्यक्ति दिए ।

    महराको केस व्यक्तिगत र एउटी महिलाको आवेशजन्य अभिब्यक्ति थियो । यद्यपि यो नैतिकतासँग जोडिएको मुद्धा हो । तर, बास्कोटाको व्यक्तिगतभन्दा पनि राष्ट्रलाई धोका दिने केस हो । दलालहरु नीति निर्माता र नेताहरुको ओछ्यानमा पुगेको बलियो प्रमाण हो, बास्कोटाको अडियो प्रकरण । महरा र बास्कोटाको केसलाई एउटै तुलोमा जोख्नै मिल्दैन । तर, नेताहरु भने किन फरक ? प्रश्न सोध्नैपर्ने हुन्छ । आफ्नो समूहका नेता पर्दा किन बचाउन खोजिन्छ र अर्को समूहका नेतामाथि किन ‘खुच्चिङ’ भनिन्छ ? प्रत्येक घटना र बिषय फरकफरक भएकाले फरकफरक दृष्टिकोण आउन सक्छ । तर आफू निकट र टाढाको छुट्याई किन व्यवहार हुन्छ ?

    गुटगत समस्या

    नेकपा दुई पार्टी मिलेर बनेको हो । यसमा दुई धार हुनु स्वाभाविक पनि हो । तर, नराम्रो काम र विवादमा पार्टी नेतृत्व र पार्टीको एउटै मापदण्ड तथा धारणा हुनुपर्ने हो । एमाले र माओवादी भनेर फरकफरक व्यवहार हुनलाई किन एउटै पार्टी भन्नु ? यतिखेर नेकपामा एमाले र माओवादी धार त छुट्टिन्छ नै त्योसँगै छुटिन्छ गुटगत पहिचान । एउटा धारले अर्को धार र एउटा गुटले अर्को गुटलाई गर्ने व्यवहार र दिने टिप्पणी विरोधी पार्टीको भन्दा कडा हुने गर्दछ । पूर्व एमालेमा माथिदेखि तलसम्म रहेको दुई गुट र धेरै स्वार्थ समूह तथा पूर्व माओवादीमा रहेका विभिन्न विचारधारा एउटै पार्टीमा छन्, तर फरकफरक आग्रहका साथ । स्वार्थको लागि पूर्व पार्टीको तुष अहिले आएर पोख्ने काम समेत हुने गरेको छ । नेकपामा एउटा पार्टी तर फरकफरक उद्देश्यको लागि फरकफरक कोणबाट अघि बढ्ने शैलीमा काम भइरहेको छ । त्यही गुटगत समस्याको कारण पार्टी नेतृत्वलाई होच्याउने, अपमान गर्ने र सिध्याउन षडयन्त्र गर्न बाहिर कतै खोज्नु पर्दैन, आन्तरिक पार्टी पङ्क्तिबाटै भइरहेको छ । नेतृत्वले समयमै नसोंच्ने हो भने गुटगत समस्याले पार्टी छिन्नभिन्न हुन र जनतालाई निराशा दिन समय लाग्दैन ।

    समस्या नेतृत्वमै

    मुलुकको आवश्यकता अनुसार नेतृत्व नेकपा बनाउन तयार भयो । तर, पार्टी एक बनाए पनि एक अर्काप्रतिको अविश्वास र शंका छोड्न सकेनन् । सानो झुण्डमा रमाउने र कोठे प्रवृत्तिका ब्यक्तिहरुको कुरामात्र सुन्ने शैली छोड्न सकेनन् । पार्टी पद्धति र जनवादी केन्द्रीयता भुलेर अर्को धार या गुटको नेतामाथि भद्दा गाली एवम् बिरोध गर्ने ब्यक्तिहरुलाई पुरस्कृत गर्ने काममा झन् बढावा दिइयो । नेतृत्वको यो शैलीले फरक धार या गुटको नेताको विरोध गर्दा ठाउँ पाइन्छ भन्ने लोभले मझौलास्तरका नेता कार्यकर्ता फरक धार र गुटको नेतलाई खुइल्याउन लागिपरेको छ । नेतृत्वले चाकडी गर्ने, पार्टीको अर्को नेतामाथि गाली गरेर खुसी पार्ने जस्ता हर्कत गर्ने व्यक्तिलाई पुरस्कृत गरुन्जेल पार्टी सही ढङ्गले अघि बढ्नै सक्दैन । नेकपाको नेतृत्व तह संघर्ष गर्न साँच्चिकै सक्षम मात्र छैन, परम्परागत संरचना भत्काउन, विरोधीमाथि प्रहार गर्न र पार्टीभित्र पनि लड्न सक्षम भएकोले त्यस्तै ब्यक्तिहरुको साथ लिन पनि सक्छ । तर, यतिखेर सरकारको नेतृत्व गरिरहेकाले निर्माणको समय हो । तर, त्यस अनुरुप काम भएको छैन । त्यसैले भन्न सकिन्छ, नेकपा नेतृत्वले लड्न जान्यो बनाउन जानेन । अब यसो भनेर छुट पाउने अवस्था छैन ।

    विधि र प्रक्रिया खोई ?

    नेकपा निर्माण भएपछि जुन रुपमा निर्णय आउने गरेको छ, त्यो सर्वसहमतिको भनिए पनि धेरैको सहमति र केहीको बाध्यात्मक हुने गरेको छ । सञ्चार मन्त्री बास्कोटाको राजीनामाकै सवालमा पनि प्रधानमन्त्री ओलीले सुरुमा नमानेको र पछि मान्न बाध्य भएको बताइन्छ । अन्य सवालमा पनि त्यस्तै हुने गरेको छ । जसको कारण मौका पाउने बित्तिकै बिगतको भन्दा फरक समीकरण गरेर फरक निर्णय ल्याउने गरिएको छ । त्यो निर्णय पनि राम्रो भए त ठीकै हो, तर त्यसो हँुदैन । पार्टी सञ्चालनको विधि नै बनाइएको छैन । कम्युनिष्ट पार्टीको त कुरा छोडौं, बुर्जुवा पार्टीको शैलीमा पनि पार्टी सञ्चालन भइरहेको छैन । दुई नेता मिले जे पनि ठीक हुने र दुई नेता नमिलेमा सचिवालयमा जसले बहुमत पु¥याउँछ, उसैको चाहना अनुसार निर्णय हुने गरेको छ । पार्टीले कुनै बिधि बनाएमा त्यसको उल्लङ्घन नेतृत्व तहबाटै हुने गरेको छ । नेकपाले केही दिन आचारसंहिता सार्वजनिक गरेको थियो ।

    त्यसको उल्लङ्घन तल्लो तहबाट होइन, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीकोे जन्मोत्सवमा भयो । तर प्रश्न सोध्ने कसले ? मुखको भरमा बिधि र प्रक्रिया लागू गर्ने नेतृत्वले आचारसंहिता अरुको लागि बनाएको आफ्नो लागि होइन भन्ने त होइन होला । जे भए पनि नेकपा एकले अर्कोलाई सिध्याउने, जसरी भए पनि पद पाउने, मुलुक र पार्टीको लागि नगरे पनि नेतृत्वलाई अनावश्यक चाकडी गर्नेहरुलाई स्थान दिने प्रबृत्तिको अन्त्य तथा पार्टीलाई बिधि र प्रक्रिया अनुसार सञ्चालन नगरुन्जेल नेकपा पार्टी होइन, पाटी र चौतारोमा मात्र सीमित रहने निश्चित छ । (समयबद्ध साप्ताहिकबाट)

    प्रतिकृया दिनुहोस्

    रगतको सही प्रयोगले अभाव केही हदसम्म कम गराउन सकिन्छ

    रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान...

    आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा...

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...