News Portal

  • आदिवासी र जनजाति : एकै हुन् वा फरक

    संजीव लुइँटेल भक्तपुर, २५ साउन
    ३२६० पटक
    भक्तपुर, २५ साउन

    नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक मानिसहरूको सङ्गमस्थल हो । विभिन्न जातजाति, भाषाभाषी, भेषभूषा, रहनसहन अवलम्बन गर्ने बहुजातीय फूलहरूको समिश्रणबाट नै नेपाल एउटा मनमोहक फूलबारीको रूपमा विश्वसामु परिचित छ ।

    नेपालका यी फरक–फरक जातिसँग फरक–फरक सँस्कृति, फरक–फरक मौलिक विचारहरू, मौलिक ज्ञान छ । आफ्नै खालको प्रकृतिसँग आवद्ध जीवन पद्धति छ । यी हाम्रा गौरवशाली गहना हुन् । ग्रामीण विकासको सन्दर्भमा स्थानीय जनताको सदियौं देखिको अभ्यास, ज्ञान, विचार आदि प्रमुख स्रोत हुन् । यस्ता जनतामा निहीत ज्ञानले दिगो ग्रामीण विकासको ढोका खोलिदिने कुरामा कसैको दुईमत हुन सक्दैन । उनीहरूको ज्ञान, अभ्यास र अनुभवलाई समय अनुसार संरक्षण, सम्वर्द्धन र परिमार्जन गर्नु राज्यको परम कर्तव्य हो ।

    नेपालमा दस वर्षे जनयुद्धको जगमा भएको वि.सं.२०६२/६३ को जनआन्दोलनको सफलतापछि संवैधानिक रूपमा नै जनजातिहरूको विकासका लागि सकारात्मक विभेदको नीति अघि सारिएको छ । नवौं योजनादेखि आदिवासी तथा जनजातिहरूका लागि व्यवस्थित रूपमा विकास कार्यक्रम अघि बढाइएको पाइन्छ ।

    नेपालमा आदिवासी जनजातिको बारेमा बहस भइरहेको पाइन्छ । कुन कुन जातिहरू आदिवासी जनजाति हुन् र कुन कुन जातिहरू आदिवासी जनजाति होइनन् भनी विभिन्न पक्षहरूले विभिन्न कोणबाट विश्लेषण गर्ने कार्य भइरहेको छ । त्यस्तै आदिवासी र जनजाति दुई शब्दको एउटै अर्थ छ वा फरक फरक अर्थ छन् भन्ने विषयमा पनि प्रष्ट हुनु आवश्यक छ । सबै जनजातिहरू आदिवासी हुन् कि होइनन् र सबै आदिवासीहरू जनताति हुन् कि होइनन् भन्ने विषयमा पनि बहस हुनु आवश्यक देखिन्छ ।

    आई एल ओ कन्भेन्सनमा आदिवासी र जनजातिका छुट्टाछुट्टै परिभाषा दिइएको छ । नेपालमा भने धेरै जस्तो ‘आदिवासी÷जनजाति’ भनी लेख्ने गरेको पाइन्छ । यसरी लेख्दा नेपालका आदिबासी जति सबै जनजाति पनि हुन् अथवा जनजाति जति सबै आदिबासी पनि हुन् भन्ने बुझिन्छ । नेपालको वर्तमान संविधानमा भने ‘आदिवासी जनजाति’ लेखिएको पाइन्छ । यसै सन्दर्भमा बाहुन, छेत्री र दसनामीहरूले आफूलाई आदिवासीको रूपमा सूचीकृत गर्न माग गरेको पनि सुनिएको छ ।

    वैदिक धर्मको मान्यताअनुरूप समाजलाई चार वर्णमा विभाजित गरिएको थियो । यस वर्गीकरणमा नपर्ने समूहलाई जनजाति भन्ने गरिन्छ । कतिपय समाजशास्त्रीहरूले जनजाति समूहलाई आदिवासी पनि भन्ने गर्छन् । जनजाति समूहलाई आदिवासीको रूपमा परिभाषा गर्नु नपर्ने मान्यता पनि प्रस्तुत गरिएको छ ।

    आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलो पटक आदिवासी जनजातिको पहिचान गरेको र तिनलाई मान्यता प्रदान गरेको पाइन्छ । त्यस अनुसार विभिन्न जातीय समुदायलाई आदिवासी जनजातिको रूपमा सूचीकृत गरिएको छ । नेपालमा कुल जनसङ्ख्याको ३७.२ प्रतिशत आदिवासी र जनजातिहरू बसोबास गर्दछन् । नेपालमा ५९ जनजातिहरू छन् । यसमा पनि सबै पक्षको सहमति हुन सकेको पाइँदैन ।

    उक्त प्रतिष्ठानले विभिन्न आधारमा आदिवासी जनजातिको पहिचान गरेको छ । प्रतिष्ठानले आफ्नै संस्कृति, भाषा, धर्म, रीतिरिवाज रहेको, लिखित वा अलिखित इतिहास रहेको, आफ्नै परम्परागत भौगोलिक क्षेत्र भएको, नेपालको राजनीति र शासनमा निर्णायक भूमिका नरहेको र चार वर्णको हिन्दू वर्णाश्रम भित्र नपर्ने समुदायलाई आदिवासी जनजाति मानेको छ ।

    नेपाल आदिवासी जनजाति महासंघले गोर्खा वा नेपाल राज्यको गठन हुनु भन्दा अघिदेखि नेपालमा बसेका, राज्यका अंगहरूमा प्रतिनिधित्व गर्न नसकेका, हिन्दू वर्णाश्रमभित्र नपरेका, शासकवर्गको भन्दा फरक आफ्नै भाषा, संस्कृति तथा धर्म भएका तथा नेपालको कानुनले जनजातिको रूपमा सूचीकृत गरेका जातिहरूलाई आदिवासी जनजातिको रूपमा परिभाषित गरेको छ ।
    नेपाल जनजाति महासंघले हिन्दू वर्णाश्रम संरचनाभित्र नपर्ने नेपालका आदिवासी एवं मूल जातिहरू जनजाति हुन् भनेको छ ।

    त्यस्तै वि.सं.२०५२ सालमा सम्पन्न ‘नेपालका आदिवासीहरू ः स्वपहिचान र पुनर्स्थापनातिर’ राष्ट्रिय परामर्श गोष्ठीले आदिवासी र जनजाति पर्यायवाची शब्द होइनन् तर नेपालको सन्दर्भमा अधिकांश जनजातिहरू आदिवासी देखिन्छन् भन्ने उल्लेख गरेको छ ।

    नेपाल सरकारको समावेशीकरण नीति २०६६ अनुसार आफ्नो छुट्टै भाषा भएको, परम्परागत सामाजिक संरचना र प्रचलन, अलग्गै साँस्कृतिक पहिचान र लिखित एवम् अलिखित इतिहास भएका व्यक्ति र समुदायका (जो आदिवासीभित्र सूचीकृत गरिएको छ) लाई आदिवासी जनजाति भनी परिभाषित गरिएको छ ।

    विश्व परिवेशमा हेर्दा आई एल ओ १६९ ले कुनै स्वतन्त्र देशका ती जनता जो त्यो भूभाग नियन्त्रणमा जाँदा वा उपनिवेश कायम हुँदा वा हालको देशको सीमाना कायम हुँदा त्यो देश वा देशको भूभागमा बसोबास गरेका जनसंख्याको सन्तानहरू हुन् जसले आफ्नो कानुनी हैसियत जस्तो सुकै रहे पनि आफ्ना केही वा सबै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक संस्थाहरूलाई कायम राखेका छन्, तिनलाई आदिवासी भनिन्छ भनेर परिभाषित गरेको छ ।

    त्यस्तै आई एल ओ १६९ का अनुसार कुनै स्वतन्त्र देशमा राष्ट्रिय समाजका समुदायहरू भन्दा सामाजिक, सांस्कृतिक र आर्थिक स्थितिहरूका कारण फरक रहेका र जसको अवस्था आंशिक वा पूर्ण रूपमा उनीहरूको आफ्नै प्रथाहरू वा परम्पराहरू वा विशेष कानुन वा नियमहरूले सञ्चालित जनताहरू त्यहाँका जनजाति हुन् ।

    आदिवासीको शाब्दिक अर्थ ‘निश्चित भूभागमा प्राचीन समयदेखि वा अज्ञात कालदेखि बसोबास गर्दै आएको जाति’ हो । त्यस्तै जनजातिको शाब्दिक अर्थ ‘आर्थिक स्थिति, शिक्षा, अवसर आदिका दृष्टिले पछिडिएको जाति’ हो ।

    आदिवासीको साथसाथै आदिवासी तथा जनजाति भन्ने प्रचलन रही आएको छ । आदिवासीहरू जनजातिभित्र पर्ने भए पनि जनजाति सबै आदिवासी नहुन पनि सक्दछन् । त्यसैले आदिवासी र जनजातिलाई एउटै पर्यायवाची ठानेर आदिवासी ÷ जनजाति भन्नु हुँदैन भन्ने धारणा नेपालमा पनि उठ्न थालेको छ ।

    यसरी आदिवासी र जनजातिलाई कसैले छुट्टाछुट्टै अर्थमा लिने र कसैले एकै अर्थमा लिने गरेको पाइन्छ । नेपालमा प्रायः आदिवासी र जनजातिलाई एकै अर्थमा लिएको देखिन्छ । आदिवासी र जनजातिको बारेमा विशेष व्यवस्था गरेको आइ एल ओ ले आफ्नो कन्भेन्सन १६९ मार्पmत आदिवासी र जनजातिको फरक फरक परिभाषा दिएको पाइन्छ । यसले आइ एल ओ ले आदिवासी र जनजातिलाई फरक फरक रूपमा लिएको मान्न सकिन्छ ।

    हुन त जनजाति र आदिवासीको बारेमा स्थान अनुसार फरक फरक परिभाषा हुन सक्ला । राज्यको विकास तथा पहिचानको लागि आदिवासी तथा जनजातिको महत्वपूर्ण भूमिका हुने कुरालाई कसैले नकार्न सक्दैन । त्यसैले नेपालको सन्दर्भमा आदिवासी र जनजाति एकै हुन् वा फरक हुन् भनी अध्ययन हुनु आवश्यक छ । यदि आदिवासी र जनजाति फरक हुन् भने आदिवासी र जनजाति हुनको लागि आवश्यक आधारहरूको पहिचान गर्नुपर्ने देखिन्छ । त्यसैगरी कुन कुन जाति आदिवासी हुन् र कुन कुन जाति जनजाति हुन् भन्ने निर्क्याेल हुनु जरुरी छ ।

    ( कटुन्जे निवासी लेखक संजीव लुइँटेल सामाजिक विषयका शिक्षक हुन् )

    प्रतिकृया दिनुहोस्

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...

    २९ उद्योगी व्यवसायीलाई ‘कर्पोरेट बिजनेश अवार्ड’

    काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान...