News Portal

  • बिस्का: जात्रा औपचारिकतामा सीमित नहुने, भव्य र सभ्य पार्न पहल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ चैत २०७८
    १५६७ पटक
    bhaktapur policeभक्तपुर, ९ चैत २०७८

    कोभिड १९ कारण गत वर्ष औपचारिकतामा सीमित भक्तपुरको प्रसिद्ध (बिस्का: जात्रा) बिस्केट जात्रा यो वर्ष भने सभ्य र भब्य ढंगले मनाइने तयारी रहेको छ । जात्रालाई सभ्य र भब्य संगै शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले पहल समेत शुरु गरेको छ ।

    नगरपालिकाले बुधबार बिस्का जात्रासँग सम्बन्धित सरोकारवालाहरुसँग बैठकबसी यस विषयमा छलफल शुरु गरेको हो ।

    बैठकमा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले तुलनात्मक रुपले पछिल्ला वर्षमा भक्तपुरको बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न हुँदै आएको स्मरण गर्दै जात्रासित सम्बन्धित सरोकारवालाहरुले आ–आफ्नो जिम्मेवारी पूरा गरे जात्रा शान्तिपूर्ण ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरे ।

    उनले आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत उल्लेख्य उपस्थित हुने र यो भक्तपुरको पहिचान संग समेत जोडेको जिकिर गर्दै बिस्का जात्रा सञ्चालन मर्यादित बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । भक्तपुर नपाले सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरी जात्रालाई अगाडि बढाउने उनको भनाइ छ ।

    बैठकबाट बिस्का जात्रा २०७८/७९ मनाउने क्रममा नगरबासीहरुलाई आवश्यक सुरक्षा मापदण्ड अपनाई सुरक्षित रहन प्रचारप्रसार गर्ने, बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजा र जात्रा समयमै सुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान कार्यालय भक्तपुरलाई जिम्मा दिने र जात्रासँग सम्बन्धित पूजा र आवश्यक तयारीको लागि भैल नाय, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयहरुलाई आवश्यक जिम्मेवारी दिनेलगायतका निर्णयहरु भएको नगरपालिकाकी प्रेस संयोजक कीर्तिका प्रजापतिले जनाएकी छन् ।

    त्यस्तै बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रहरुमा तार, केबल र फाइबर नेटका केबुलहरु व्यवस्था गर्न र अन्य आवश्यक कार्यको लागि यथाशीघ्र स्थलगत अवलोकन गरी आवश्यक व्यवस्था गर्ने र यथाशिघ्र जात्रासँग सम्बन्धित सरोकारवालाहरुको बैठक बस्ने निर्णय समेत उक्त बैठकबाट भएको प्रजापतिको भनाइ छ ।

    बैठकमा भक्तपुर जिल्लाकी प्रजिअ रुद्रादेवी शर्माले विगतका कमीकमजोरीबाट शिक्षा लिई शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गर्न गुठी संस्थानले ध्यान दिनुपर्ने र तोकिएको समय अघि सबैले आ–आफ्नो जिम्मेवारीअनुसारको काम सम्पन्न गर्नपर्ने आवश्यकता औल्याइन ।

    उक्त अवसरमा भक्तपुर प्रहरी प्रमुख रहेका एसपी शिवकुमार श्रेष्ठले शान्तिसुरक्षामा थप सतर्कता अपनाई प्रहरी फोर्स परिचालन गर्ने प्रतिवद्धता प्रकट गरे ।

    त्यसैगरी नगरपालिकाकी उपप्रमुख रजनी जोशी, वडाध्यक्ष कुमार चवाल र प्रेमगोपाल कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जात्रासँग सम्बन्धित सरोकारवालाहरु लगायतले बिस्का जात्रा भव्य,सभ्य शान्तिपूर्ण र मर्यादित तरिकाले सम्पन्न गर्न आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

    प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा(बिस्का: जात्रा) यहाँको ऐतिहासिक धरोहर हो । भक्तपुरमा मनाइने विस्का जात्रा आठ दिन नौ रात सम्म मनाइन्छ । जात्राको मुख्य आकर्षण भनेको काठैकाठले बनेको तीन तले भैरवनाथको रथ एक आपसमा तान्नु हो । उक्त रथ काष्ठकलाको एउटा उत्कृष्ट नमुना पनि मानिन्छ । काठबाट बनेका पांग्रामाथि उक्त रथलाई अगाडि पछाडि गरि आठ बटा मोटा-मोटा डोरीले तानेर गन्तव्य सम्म पुर्‍याउनु विस्का जात्राको आकर्षण रहँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...