News Portal

  • बिस्का जात्रा बेलुकीबाट शुरु हुँदै, सद्भाव र्याली सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ चैत २०७८
    १५३८ पटक
    bisketभक्तपुर, २७ चैत २०७८

    भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक बिस्केट (बिस्का जात्रा) आज आइतवार बेलुकीबाट शुरु हुँदैछ । प्यागोडाशैलीमा काठैकाठले बनाइएको तीनतले भैरवनाथको रथलाई पाँचतले मन्दिरबाट आफ्नो टोलमा तानेर लैजाने परम्परा रही आएको छ । जात्राको मुख्य आकर्षण भनेको नै रथलाई दुई समूहले एकापसमा तानातान गर्नु हो । भैरवनाथ विराजमान रथलाई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका मानिसहरुले दुइतिरबाट तानातान गरी आफ्नो टोलमा लैजान बल गर्ने गर्दछन र त्यही हेर्न जात्रालुहरुको घुइचो हुने गर्दछ । त्यसका अलावा ल्योसिं उभ्याइने र ढाल्ने यसको अर्को आकर्षण हो । ल्योसिं उभ्याएको ठाउँमा बली दिने र पूजा गर्ने प्रचलन रही आएको छ ।

    जात्रालाई दुर्घटनारहित बनाउनु चुनौतीपूर्ण :
    बिस्केट जात्रामा दुर्घटना प्राय दुई प्रकारले हुने गर्दछ । पहिलो कारण रथ तानातान गर्ने दुई टोलका समूहबीच बिबाद भई झडपको अवस्था सिर्जना हुने सोहीकारण मानिसहरु घाइते हुने र ज्यानै पनि जाने खतरा रहन्छ । दोश्रो रथ भाचिएर जात्रालुलाई किच्दा मानिसहरु घाइते हुने र ज्यान जाने खतरा रहन्छ । गत वर्षको बिस्केटमा २४ जना घाइते भएकामा १८ जना सख्त घाइते भएका थिए । घाइतेमध्ये केहीको अवस्था अझैसम्म पनि चिन्ताजनक नै रहेको समाजसेवी एवं उद्धारक अरुण सैजूले बताएका छन् । यद्यपी विगतका वर्षमा जस्तो गत वर्षको बिस्कामा कसैले ज्यान भने गुमाउनु परेन ।

    नगरपालिकाद्वारा सद्भाव र्याली सम्पन्न
    जात्रालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आइतवार बिहान सद्भाव र्याली समेत सम्पन्न गरिएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा गरिएको र्याली दुधपाटीबाट शुरु भई टौमढि पुगी सभामा परिणत भएको थियो । जात्राको समयमा हुने उच्छृंखल गतिविधि हुन नदिन सचेतना जगाउने उदेश्यले सद्भाव र्याली गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए । प्रमुख प्रजापतिका अनुसार जात्रा व्यवस्थापन समितिलाई सहयोग गर्न जनप्रतिनिधि सम्मिलित जात्रा सहयोग समिति समेत बनाइएको छ । जात्रालाई मर्यादित,सभ्य र भब्यरुपमा मनाउन नगरपालिकाको तर्फबाट कुनै कसर बाँकी नराखेको उनको दावी छ ।

    पन्ध्र सय सुरक्षाकर्मी परिचालन

    जात्रामा शान्ति सुरक्षा कायम गर्न पन्ध्र सय बढी प्रहरी परिचालनको तयारी गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका कर्मचारी सहित पन्ध्र सय बढी सुरक्षाकर्मी जात्रामा परिचालित हुने भक्तपुर सिडिओ रुद्रादेवी शर्माले जानकारी दिएकी छन् । सिडिओ शर्माका अनुसार ठाउँठाउँमा सिसि क्यामेरा जडान गरीएको छ र त्यसको आधारमा उच्छृंखल गतिविधि गर्नेलाई जात्रापछि पनि कारवाहीको दायरामा ल्याइन्छ । ”कसैले देखेको छैन भनेर उच्छृंखल एवं हुलहुज्जत गर्ने गतिविधि गर्ने छुट कसैलाई छैन, हामी जात्रा पछि पनि फ़ुटेजका आधारमा कारवाही गर्छौं । ” उनले भनिन् ।

    सामूहिक सहकार्यमा जोड
    भक्तपुरका सांसद प्रेम सुवालले बिस्का जात्रा भक्तपुरको सम्पती भएको भन्दै यसलाई सभ्य र भब्य बनाउन सबैले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय जनता, संघसस्था र जनप्रतिनिधि र प्रहरी प्रशासन सबैको सहकार्यमा उनले जोड दिएका हुन् । जात्रालाई सफल बनाउन सरोकारवाला सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्दछ ।” उनले भने । विश्वमै भक्तपुरको बिस्का जात्राको विशेष महत्व भएको हुँदा बिस्का हेर्न आउने सबैलाई जात्रा सभ्य, भव्य र सुरक्षित हुनुपर्ने उनको भनाइ छ ।

    कार्यतालिका अनुसार रथ तानिने, अनधिकृत मानिस नराखिने
    गुठी संस्थान भक्तपुरको कार्यालय प्रमुख खिमा वलीले बिस्का जात्रा कार्यतालिका अनुसार संचालन गरिने जानकारी दिएकी छन् । आठ दिन नौ रात सम्म मनाइने बिस्का जात्रा बारे कार्यालयले कार्य तालिका बनाएको उनले बताइन । रथमा अनधिकृत व्यक्तिहरु सवार हुन नदिन कडाइ गरिने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...