नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि बालकोट पुगेको छ । भ्रमणको तेस्रो दिन आज उनी एमालेका अध्यक्ष ओलीसँग लन्च मिटिङ गर्ने गरी बालकोट पुगेका हुन् ।
भेटमा एमालेबाट विष्णु रिमाल, प्रदीप ज्ञवाली लगायतका नेताहरु पनि सहभागी छन् । भेट सकेपछि लिउको सम्मानमा ओलीले आफ्नै निवासमा लन्च कार्यक्रम राखेका छन् । ओली सँगको भेटपछि उनले आज दिउँसो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र पूर्वप्रधानमन्त्री झलनाल खनाललाई पनि भेट्ने कार्यक्रम छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर लिउ बेइजिङ फर्कने कार्यक्रम छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागको नेतृत्व सम्हाल्नेबित्तिकै पहिलो विदेश भ्रमणका रूपमा आइतबार नेपाल आएका लिउले नेपालका राजनीतिक दलहरुका नेताहरुसँग गरिरहेको राजनीतिक भेटवार्तालाई निक्कै अर्थपूर्ण रुपमा लिइएको छ । उनले सोमबार मात्रै माओवादी केन्द्रका नेताहरुसँग भेटघाट गरेका थिए ।