संसदीय विशेष छानबिन समितिले नेपाली प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाकै विज्ञहरूबाट अर्थमन्त्रालयले उपलब्ध गराएको सीसीटीभी फुटेजबारेको प्रतिवेदनबारे जानकारी लिने भएको छ ।
बिहान बसेको समितिको बैठकले प्रहरीले बुझाएको प्रतिवेदन खोलिए पनि त्यसको विश्लेषण भने विज्ञहरूबाटै गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रतिवेदनमा भएका कुराको विश्लेषण गर्न आजै दिउँसो ४ बजे पुनः समितिको बैठक बस्ने छ । समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो ।
समितिका सदस्यबीच तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कल डिटेल हेर्ने वा नहेर्ने भन्ने विषयमा विवाद भएको छ । समितिमा रहेका एमालेका सांसदले वैज्ञानिक प्रमाणका रूपमा मोबाइलको कल डिटेललाई समेत आधार मान्नुपर्ने अडान राखेका छन् भने सत्तारूढ दलका सदस्यहरू व्यक्तिको गोपनीयताको हक हनन हुने भन्दै त्यतातिर जान नहुने तर्क गरेका छन् ।