News Portal

  • जन्मस्थलमै जयनन्द लामाको सालिक अनावरण

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ फागुन २०७९
    ३३३ पटक
    भक्तपुर, १४ फागुन २०७९

    ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता तथा फिल्म निर्माता एवं निर्देशक स्व. जयनन्द लामाको उनको गृहक्षेत्र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ३ धार्पामा सालिक अनावरण गरिएको छ । जयनन्द लामा स्मृति कोषले शुक्रबार एक कार्यक्रमका बीच धार्पास्थित उनक निजी जग्गामै शालिक निर्माण गरी अनावरण गरेको हो ।

    ६ फिट उचाइको सो सालिक करिब १५ लाख रुपियाँमा निर्माण गरी स्व. लामाको जन्मभूमिमै निर्माण गरी अनावरण गरिएको कोषका अध्यक्ष तथा जयनन्दका जेष्ठ पुत्र टेकनन्द लामाले जानकारी गराए । ‘बुबा भाग्यमानी हुनुहुँदो रहेछ । उहाँको शालिक अनावरणमा भैरवबहादुर थापादेखिका सयौँ कलाकार र राजनीतिज्ञसम्म सहभागी हुनुभयो । करिब हजार जनाको सहभागितामा उहाँको शालिक अनावरण कार्यक्रम गर्योँ’, टेकनन्द लामाले भने, ‘शुरुमा हामीले उहाँको सालिक राख्नका लागि बाह्रबिसे नगरपालिकासँग कुरा गरेका थियौं । नगरापलिकाले अन्य सहयोग गरे पनि हामीले खोजेको स्थलमा जग्गा उपलब्ध गराउन नसकेकाले बुबाको जन्मस्थलमै उहाँको शालिक राखेका हौं । बुवाको योगदानलाई जीवित राख्न र सम्मान गर्न हाम्रो यो पहिलो प्रयास हो ।’ आगामी दिनमा अन्यत्र पनि सालिक निर्माण गर्ने तथा अन्य कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।

    सिन्धुपाल्चोकको बाह्रबिसे धार्पास्थित स्व. लामाको घरबाट केही कित्तामात्र परको उनको निजी जग्गामा शालिक राखिएपछि सो सालिक हेर्न र शालिकअगाडि उभिएर फोटो खिच्नका लागि मानिसहरुको भीड लाग्न थालेको छ ।

    जयनन्द लामाको गत २०७८ साल फागुन ११ गते बुधबार आकस्मिक निधन भएको थियो । उनी अघिल्लो राति साथीभाइसँगको सिटिङ सकेर भक्तपुरको कौशलटारस्थित निवासअगाडिको गेटसम्म पुगे पनि भित्र छिर्न पाएका थिएनन् । घरभित्र पस्नुअघि नै गाडीमै उनको निधन भएको थियो । ११ गते बिहान करिब सात बजेतिर स्थानीय बासिन्दाले उनलाई आधा शरीर गाडीभित्र र आधा शरीर बाहिर रहेको मृत अवस्थामा देखेका थिए ।

    बौद्धस्थित एक रेस्टुराँमा साथीभाइसँग बसेर हाँसिमजाकका साथ खानपिन गरी फर्केका उनी आफैं कार हाँकेर घर फर्केका थिए भने उनको खुट्टा ब्रेकमा अल्झेको र गाडी पार्किङ गरेको सँगैको पर्खालमा टाउको ठोक्किई रगताम्मे भएको र घोप्टो अवस्थामा भेटिएका थिए । मोटो ज्यानका उनलाई एक तामाङ फिल्मको सुटिङका क्रममा दुर्घटना भई खुट्टा भाँचिएपछि हिँड्न समस्या हुन थालेको थियो । खुट्टाकै समस्याका कारण उनी कतिपय फिल्मका लागि नृत्य गर्नसमेत असमर्थ भएका थिए । लामाको परिवारमा पत्नी र दुई छोरा छन्।

    पाँच दशकअघि गायन यात्रा शुरु गरेका लामाले संगीत क्षेत्रमा देखिएको छाडापन र विचलन तथा लगानीको अभावमा दुई दशकयता गीत गाउन करिब करिब छोडेका थिए । दुई दशक लामो अन्तरालपछि केहीअघि मात्र एउटा मौलिक लोकगीत रेकर्ड गराई भिडियोका साथ सार्वजनिक गरेका ६६ वर्षे लामाले लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका छन् भने फिल्म निर्माण, निर्देशन र अभिनय पनि गर्दै आएका थिए । २०२७ सालबाट लोकगीत गाउन हुरु गरे पनि पछिल्ला केही वर्षयता डिमान्डेड अभिनेताका रुपमा छाउँदै आएका लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काईयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरु, चुईं चुईं चुइकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

    उनले माया गर्छु म र कर्मको फल नामक फिल्म निर्देशन गरेका थिए भने सेमरी छोरङान लगायतका तामाङ फिल्म पनि निर्देशन गरेका थिए । उनी पछिल्लो समयमा गीत गायनमा भन्दा बढी अभिनयमा व्यस्त हुन थालेका थिए । लामाले मनको बाँध, सिक सिटी, वडा नम्बर ६, सुश्री सम्पत्ति, यात्रा, कान्छी, भैरे, छक्का पञ्जा १,२,३, साली कसको भेनाको, जय भोले, दाल भात तरकारी, पसिना, न यता न उता, रातो टीका निधारमा, पोई पर्यो काले, लक्का जवान, कबड्डी ४, त्यो एक दिनलगायत दर्जनौं फिल्मका विभिन्न भूमिकामा अभिनय गरी लोकप्रियता कमाइरहेका थिए भने जिरे खुर्सानी, गोलमाल, हर्के हवल्दार, हल्का रमाइलोजस्ता दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए ।

    ललितकला क्याम्पसबाट संगीतमा स्नातक र इलाहावादबाट स्नातकोत्तर गरेका उनले त्रिविमा ४ वर्ष जति पढाएका थिए । उनी संगीतसम्बन्धी पुस्तक प्रकाशन गर्न २०६४ र २०६६ सालमा आफैंले निकालेको नेपाली संगीत वर्णमाला र संगीतको सिद्धान्त नामक पुस्तक किताबको अध्ययन गरिरहेका थिए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानको संगीत शाखामा गायकका रुपमा १५/१६ वर्ष जागिर खाँदा पाँच वर्ष लगाएर गीत संगीतको अनुसन्धान गरेका आधारमा ती पुस्तक तयार पारेका थिए । त्यो अनुसन्धानका आधारमा कम्तिमा सातवटासम्म पुस्तक तयार पार्ने उनको सोच थियो ।

    उनी बज्र एकेडेमीका विद्यार्थीलाई संगीत पनि पढाइरहेका थिए । २०५१ सालमा चुईंचुईं चुइकिने जुत्ता बोलका लोकगीत गाएपछि उनले गीत गाउन छोडेका थिए । नेपाली गीत संगीतमा असाध्यै छाडापन आयो । क्षणिक आम्दानी गर्ने र चर्चा पाउने नाममा नेपाली संगीतलाई यति बदनाम गरिदिए कि मलाई गीत गाउने इच्छा नै भएन । अर्को कुरा पहिले पञ्चायतकालमा रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता सरकारी निकायसँगै निजी कम्पनीले पनि गीत गाएबापत हामीलाई पैसा दिन्थ्यो । अहिले त रेकर्ड गर्नदेखि भिडियो बनाउन र बजाउनसम्म उल्टो पैसा तिर्नुपर्छ निधनको एक महिनाअघि अन्र्तवार्ता दिने क्रममा उनले भनेका थिए ।

    जयनन्दसँग उनले संकलन गरेको गीत यति धेरै स्टकमा थिए कि भन्थे कति गीत छ भन्न सक्दिनँ, तर प्रत्येक दिन रेकर्ड गराएर पनि म जिउँदो हुँदासम्म गाएर सकिँदैन । तर, तीमध्ये एउटा मात्र गीत रेकर्ड गराउन सफल उनका गीत त्यसै थन्किएका छन् भने उनको सांगीतिक पुस्तक आउन असभम्वजस्तै भएको छ ।

    उनले लगानी अभावकै कारण आफूले संकलन गरेका गीत गाउन नसकेको पनि खुलाएका थिए । उनी भन्थे, लगानी गर्न त आउँछन् । तर, त्यो लोकगीतलाई ठेट शैलीमा होइन यसरी बिगारेर गाउन पर्यो भन्छन्। यसरी गाए सुपर हिट हुन्छ, भाइरल हुन्छ भन्छन् । तर, मैले त्यसरी गीत बिगारेर लोकको गीतलाई व्यावसायीकरण गरेर हिजो पनि गाइनँ, आज त झनै त्यसरी गाउदिनँ । नेपालीको सम्पत्ति र संस्कारलाई सक्काएर मलाई किन हुन पर्यो भाइरल म गीत बिगारेर आफू पनि गाउँदिनँ, अरुलाई पनि त्यसरी नगाउन अनुरोध गर्छु उनले भनेका थिए ।

    जयनन्द पछिल्लो समय अभिनयमा निकै जमेका थिए । अभिनय त सानोतिनो रोलमा २०३० सालको ब्ल्याक एन्ड ह्वाइट फिल्म मनको बाँधदेखि नै गर्दै आएको हो । तर, म खासै अभिनेता चाहिँ होइन । दीपकराज गिरीले छक्का पञ्जामा खेल्न बोलाएदेखि मेरो अभिनय करियर फेरि अघि बढिरहेको छ, उनले प्रसन्नता व्यक्त गर्दै सुनाएका थिए । खासमा रोलचाहिँ मेरो कमेडी हुँदैन, चरित्र अभिनेताको हुन्छ । मेरो बोल्ने र हिँड्ने स्टाइल फिल्ममा र बाहिर पनि एउटै हो । म फिल्ममा क्वाँ क्वाँ रोइरहेको हुन्छु, दर्शक गलल हाँसिरहेको हुन्छ । मलाई आफैंलाई होसो उठ्छ । गीत गाउँदा पैसा तिर्नुपर्छ । फिल्म खेल्दा पैसा आउँछ । अहिले एउटा फिल्मबाट मलाई मामुली पनि दुई लाख रुपियाँ दिन्छन् । पाँच दिनको काम छ, सानो रोल छ भने पनि दुई लाख त दिएकै हुन्छ । मैले जीवनमा मलाई यति पैसा देऊ भनेर कहिले पनि भनेको छैन । बढीमा चार लाख रुपियाँसम्म दिएका छन् । ४/५ वटा फिल्मको एग्रिमेन्ट गरेर पैसा लिएर बसेको छु । लकडाउन त ०७६ साल फागुन ११/१२ बाट भएको हो, तर मैले असारसम्मको सेड्युलका लागि फिल्मबाट पैसा लिइसकेको थिएँ । कोरोनाका कारण त्यसरी पैसा लिएको छक्का पञ्जा ४, दुई नम्बरी, अशोक शर्माको नाम फिक्स नभएको फिल्मको सुटिङ नै हुरु हुन सकेन । दीपकराज गिरी, अशोक शर्माहरु त हिरो हिरोइन खोज्नेअघि हामीलाई खोज्नुहुन्छु । नेपाल समाचारपत्र

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...