News Portal

  • विद्यालय भर्ना अभियानमै सीमित

    चिन्तामणि रिजाल भक्तपुर, २३ चैत्र २०७९
    ३३९ पटक
    भक्तपुर, २३ चैत्र २०७९

    हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका सामुदायिक विद्यालयद्वारा राष्ट्रिय कार्यक्रमका रूपमा राष्ट्रव्यापी भर्ना अभियान सञ्चालन गरिँदै आएको छ । यद्यपि भर्ना अभियानबाट अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन । अझै पनि गरिब, सीमान्तकृत र पिछडिएका वर्गका बालबालिका शिक्षाको मूलधारमा समाहित हुन सकेका छैनन् ।

    अभिभावक आफ्ना छोराछोरीको गुणस्तरीय शिक्षाका लागि राम्रो सामुदायिक विद्यालयको खोजीमा छन् । यद्यपि अधिकांश सामुदायिक विद्यालयको अवस्था राम्रो छैन । अपर्याप्त पठन सामग्री, पुरातन सिकाइ विधि र भद्रगोल व्यवस्थापनका कारण अभिभावक सामुदायिक विद्यालयप्रति आकर्षित छैनन् तर पनि केही सामुदायिक विद्यालयको सुधारले अभिभावकमा भने केही आशा जगाएको छ । दुःखको कुरा त यो छ, हिजो हामीले निजी विद्यालयले शिक्षामा व्यापार गरेको भन्दै विरोध गर्यौं तर आज आएर तिनै निजी विद्यालयको सिको गर्दै हामी आफैँ शिक्षामा व्यापार गर्न उद्यत छौँ । यद्यपि निजी विद्यालय आफ्नो ब्रान्ड बनाउनमा सफल छन् तर सामुदायिक विद्यालयले भने तीनै निजी विद्यालयले उत्पादन गरेका विद्यार्थीलाई भजाएर आफू सफल भएको दाबी गरिरहेका छन् ।

    दूरदर्शी नेतृत्व, प्रतिबद्ध र जिम्मेवार शिक्षक, चुस्त व्यवस्थापन, वैज्ञानिक शिक्षण पद्धति, जीवन उपयोगी शिक्षा र सिर्जनात्मक सिकाइ वातावरणको‌ अभावमा अधिकांश सामुदायिक विद्यालय गुणस्तरीय शिक्षाका दृष्टिले कमजोर छन् । राम्रो‌ भनिएका सामुदायिक विद्यालय पनि कम सङ्ख्यामा रहेकाले ती विद्यालयमा अध्ययन गर्न चाहना राख्ने सबै बालबालिकाले पढ्ने अवसर पाउँदैनन् । आफ्ना बालबालिकालाई पढाउन यसखालका सामुदायिक विद्यालयतर्फ अभिभावक आकर्षित भए पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावमा ती विद्यालयले चाहेर पनि सबै बालबालिकालाई भर्ना गर्न सकिरहेका छैनन् । फलस्वरूप, अभिभावक महँगो शुल्क तिरेर आफ्ना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गर्न बाध्य छन् ।

    अभिभावकको चाहना के हो, उनीहरूले आफ्ना बालबालिकालाई पढाउन कस्तो विद्यालयको खोजीमा छन्, अर्थात् उनीहरूको रोजाइ कस्तो खालको विद्यालय हो भन्ने उनीहरूको मनोविज्ञानलाई सामुदायिक विद्यालय र त्यसको नेतृत्वले अझै बुझ्न सकेको पाइँदैन । अभिभावकको मनोविज्ञान नबुझी अधिकांश सामुदायिक विद्यालयका नेतृत्व भर्ना अभियानमा‌ मात्र सीमित छन् । विद्यालयलाई यथास्थितिमा राखेर भर्ना अभियान चलाएकै भरमा सामुदायिक विद्यालयतर्फ अभिभावक आकर्षित हुनेमा उनीहरू ढुक्क देखिन्छन् ।

    विद्यालय शिक्षाको मूलधारमा समावेश नभएका वा विद्यालय बाहिर रहेका लक्षित वर्गका बालबालिकालाई विद्यालय शिक्षाको मूलधारमा ल्याउन केही हदसम्म भर्ना अभियान फलदायी भए पनि यसले अमुक अभिभावकलाई सामुदायिक विद्यालयतर्फ आकर्षित गरेको पाइँदैन । विद्यालयमा गर्नैपर्ने शैक्षिक गतिविधि नगरी भर्ना अभियान मात्र चलाएर विद्यार्थी सङ्ख्या बढाउन खोज्दा सामुदायिक विद्यालयको शैक्षिक स्तर माथि उठ्न सक्दैन । सामुदायिक विद्यालयमा हुने हरेक प्रभावकारी शैक्षिक गतिविधिले मात्र अभिभावकलाई सामुदायिक विद्यालयप्रति आकर्षित गर्छ । आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न ल्याउँछन् । प्रभावकारी शैक्षिक योजनाको निर्माण र त्यसको कार्यान्वयनमा जोड दिँदै आफ्नो विद्यालयद्वारा अहिलेसम्म गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि गरिएका प्रयासलाई प्रचारप्रसार गर्ने गतिलो औजारका रूपमा भर्ना अभियानलाई प्रयोग गरिनुपर्छ । विद्यालय नेतृत्व भर्ना अभियानमा मात्र सीमित नभई बालबालिकाको सिकाइ उपलब्धि कसरी बढाउने भन्नेमा केन्द्रित हुनुपर्छ ।

    विद्यालयको एउटै उद्देश्य गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने भएकाले यसका लागि विद्यालयले विद्यालयमा उपलब्ध सीमित स्रोत र साधनको अधिकतम उपयोग र परिचालन गर्दै र प्राप्त शैक्षिक उपलब्धिको जगेर्ना गर्दै थप उपलब्धि हासिल गर्नतर्फ नेतृत्व सक्रिय हुनुपर्छ । सबै शिक्षक, कर्मचारीको उच्च मनोबल कायम राख्दै योग्यता र क्षमताका आधारमा काम र जिम्मेवारी बाँडफाँट गर्नुपर्छ । विद्यालयलाई समय सापेक्ष परिवर्तन र सुधार गर्दै जानुपर्छ ।

    शिक्षा नियमावली, २०५९ को नियम ९३ को उपनियम २, ३, ४, ५ बमोजिम ‘विद्यालय विकास प्रस्ताव’ का आधारमा ५ वर्षे प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । नियमावलीको नियम ९३ को उपनियम (१२) बमोजिम कुनै पनि शिक्षकबाट विद्यालय सञ्चालनको दृष्टिले सक्षम नभए पनि ज्येष्ठताको नाममा वर्षौंसम्म निमित्त प्रधानाध्यापकको हैसियतमा विद्यालय सञ्चालन हुँदै आएको छ । सामुदायिक विद्यालय सुधार नहुनुका विविध कारणमध्ये यो पनि एउटा प्रमुख कारण हो । कमजोर विद्यालय नेतृत्व सुधारको पक्षमा उभिन नसक्दा र भर्ना अभियानमा मात्र सीमित रहँदा अधिकांश सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएको देखिन्छ । सामुदायिक विद्यालयले आफूलाई समयसापेक्ष परिमार्जन गर्दै अगाडि नबढ्ने हो भने धेरै विद्यालय बन्द हुने निश्चित छ ।

    वर्षभरि सञ्चालन गरिने शैक्षिक कार्यक्रमको ढाँचा निर्माण गर्न नसक्नु, आन्तरिक व्यवस्थापन कसरी सुधार गर्ने भन्ने विषयमा बहस र छलफल नहुनु, वार्षिक कार्ययोजना तथा क्यालेन्डरको निर्माण नहुनु र विगतका कमीकजोरीको समीक्षा नहुनुजस्ता मुख्य कारण सामुदायिक विद्यालय सुधार हुन नसक्नुमा जिम्मेवार छन् । कमजोर व्यवस्थापन सीप र नेतृत्वको अदूरदर्शिताको कारण सामुदायिक विद्यालयको स्तर झन् खस्कँदै गएको तितो यथार्थ हो । बालमैत्री शैक्षिक वातावरण सिर्जना गर्दै विद्यालयमा समयसापेक्ष परिमार्जन र परिवर्तन गरी अभिभावकलाई सामुदायिक विद्यालयतर्फ आकर्षित गर्ने क्षमता नेतृत्वमा हुनुपर्छ । यद्यपि सामुदायिक विद्यालयका अधिकांश प्रधानाध्यापकसँग यस प्रकारको क्षमता देखिँदैन । कतिपय विद्यालयमा पिउने पानी, सुविधाजनक तथा छात्रामैत्री शौचालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, बालमैत्री तथा अनुकूल शैक्षिक वातावरणको अभाव छ ।

    सँगसँगै दूरीमा रहेको एउटा विद्यालय बालबालिकाको आकर्षणको केन्द्र बन्दा नजिकैको अर्काे विद्यालयमा बालबालिका भर्ना नहुने अवस्था कसरी आयो त्यसकोे कारण खोजिनुपर्छ । देख्दा सामान्य लाग्ने तर विद्यालय सु–सञ्चालनको दृष्टिले महत्त्वपूर्ण पक्ष मानिने कक्षा व्यवस्थापन, सरसफाइ, शौचालय, कक्षाकोठामा आवश्यक फर्निचरको व्यवस्थापन, खानेपानीको‌ उचित व्यवस्थापन, कार्यालय कक्षको व्यवस्थापन, नियमित कक्षा सञ्चालन, अतिरिक्त क्रियाकलाप सञ्चालन नगरिँदा सामुदायिक विद्यालयप्रति विकर्षण बढ्दै गएको पाइन्छ । दैनिक सञ्चालन गरिनुपर्ने काम पनि गर्न नसक्ने विद्यालय कसरी आकर्षणको केन्द्र बन्न सक्छ ? विद्यालयमा गर्नुपर्ने काम नगरी वर्ष दिनसम्म हात बाँधेर बस्ने र शैक्षिक सत्रको सुरुमा दुई चार दिन भर्ना अभियान चलाउँदैमा विद्यालयतर्फ बालबालिकाको आकर्षण बढ्दैन । विद्यालय सुधार नगरी भर्ना अभियान सञ्चालन गरेकै भरमा विद्यार्थी सङ्ख्या बढ्ने अपेक्षा राख्नु मूर्खता हो ।

    आन्तरिक व्यवस्थापनमा सुदृढ गर्दै विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने मूल थलो‌का रूपमा परिणत गर्न प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको अहम् भूमिका हुनुपर्छ । विद्यालयलाई‌ चुस्त, दुरुस्त राख्न र विद्यालयलाई विद्यालयजस्तो बनाउन आवश्यक सम्पूर्ण विषयबाट अलग रहेर भर्ना अभियान सञ्चालन गर्दैमा अभिभावक विद्यालयप्रति आकर्षित हुन्छन् भन्ने सोच र मानसिकता त्याग्नुपर्छ । भर्ना अभियानमा रुमलिएर अन्य कुनै गतिविधि नगरी मौन बस्ने हो भने सामुदायिक विद्यालयको स्तरमा सुधार आउँदैन । बालबालिका तथा अभिभावकको मन कसरी जित्न सकिन्छ त्यसतर्फ सम्बन्धित सबै पक्षको ध्यान जान जरुरी छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...