
भक्तपुरका युवाहरुमा पुराना बाजाहरु मध्ये धाँ बाजा (एक प्रकारको पुरानो बाजा) प्रतिको आकर्षण बढेको देखिएको छ। पछिल्लो समय धिमे बाजा र बाँसुरी बाजा भन्दा धाँ बाजा सिक्नेहरु संख्या बढी देखिन्छ।

एक महिने धाँ बाजा प्रशिक्षण समाप्त गरी आइतबार सार्वजनिक भएकी बशिल त्वायनाले धिमे बाजाबारे धेरैलाई थाहा भएको तर धाँ बाजाबारे धेरैलाई कम जानकारी भएकाले आफूले धाँ बाजा सिकेको सुनाए।
उनले आफूलाई पुराना बाजाहरु मन पर्ने भएकाले दैनिक साँझ साँझको समयको सदुपयोग गरी धाँ बाजा सिक्ने गरेको सुनाए।

त्वायनाकै समूहमा धाँ बाजा सिकेकी अर्की प्रशिक्षार्थी प्रविणा बनमालाले पहिलापहिला पुरुषहरु मात्रै सिक्न पाइने बाजा अहिले जसले सिक्दा पनि हुने भएकाले आफूले सिकेको सुनाइन्। आफूलाई पनि धाँ बाजा बजाएर प्रदर्शनमा जान मन लागेकाले बाजा सिकेको उनको भनाई थियो।
बाजा सिकिसकेपछि पहिलो पटक औपचारिक कार्यक्रम गरी बाजा प्रदर्शनी गर्ने चलन छ। त्यस अनुसार त्वायना र बनमालाको समूह आइतबार सार्वजनिक भएको थियो।
.jpg)
यही क्रममा उनीहरुले परम्परा अनुसार भक्तपुर नगरपालिका वडा नं ९ दतात्रयस्थित नासद्य (देवस्थल) पुगेर सामूहिक रुपमा पूजाआजा गर्नुका साथै सार्वजनिक रुपमा बाजा बजाएर प्रदर्शन गरेका थिए। त्यस क्रममा उनीहरुले नगर परिक्रमा पनि गरेका थिए। यसअघि बाहिर नभई कक्षाकोठामा मात्रै बजाउने गरिन्थ्यो।
२०७६ सालदेखि नै निरन्तर धाँ बाजा सिकाउँदै आएको बताउने भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित नियो निओ फियुजन बाजा समूहका अध्यक्ष बालकृष्ण बनमालाले पुराना बाजा बजाउने कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हेतुले २०६८ सालदेखि धिमे बाजा सिकाउँदै आएको बताए।

पछिल्लो पटक धाँ बाजाप्रति आकर्षण बढेकोले धाँ बाजा प्रशिक्षण पनि थपेको उनको भनाई थियो। अहिले थप बाँसुरी, पछीमा (बाजाको नाम) को प्रशिक्षण पनि थप गरेको उनले बताए। उनले यी सवै तालिम शुल्क रुपमा चलाउँदै आएका छन्। बाजा सिक्न कम्तीमा १०–१५ जनाको सहभागिता हुनुपर्ने हुन्छ।
धाँ बाजा प्रशिक्षक सविन लैबाले ५ वर्षदेखि धाँ बाजा सिकाउँदै आएको बताए। टोल टोलमा र संघसस्थाहरुमा धाँ बाजा सिकाउँदै आएको उनी सुनाउँछन्। साथै उनले आफूले धाँ सिक्ने बेलासम्ममा कोही पनि महिला सहभागिता नभएको सम्झना गरे। तर अहिले यसमा पनि केही वर्षदेखि महिलाको सहभागिता बढ्दै आएको छ, उनी भन्छन्।
विशेष गरी बाजागाजाको बेलुकीको समयमा सिकाइने प्रचलन रहेको उनी बताउँछन्।
भक्तपुरका धिमे बाजाको प्रशिक्षक उगेन बोयजु लगभग १० वर्षदेखि टोल टोलमा तथा सघंसंस्थामा धिमे बाजा सिकाउँदै आएको बताउँछन्। आफूले ११ वर्षमा सिकेर १२ वर्षको उमेरदेखि नै धिमे बाजा सिकाउन थालेको उनले उनले स्मरण गरे। अहिले धिमे बाजा सिक्न चाहनेहरुमा महिला पुरुषको सहभागिता बराबर जस्तै भएको उनी सुनाउँछन्।
संस्कृतिविद् ओम धौभडेल मनोरञ्जनका धेरै सामाग्रीहरु बजारमा प्रचलनमा आए पनि भक्तपुरका नयाँ पुस्तामा पुरानो बाजा सिकेर, बजाएर, सार्वजनिक प्रदर्शनी गरेर रमाउने गरेको बताउँछन्। उनका अनुसार नयाँ पुस्ता पुराना बाजागाजा बजाउनमा रमाउने गरेका छन्।
‘उहिले गुथी, दाफाभजनमा केटाहरुलाई मात्र बाजागाजा सिकाइथ्यो। तर अहिले सहकारी संस्था र विभिन्न बाजा समूहले केटाकेटी दुबैलाई बाजागाजा सिकाइराखेको छन्।’ उनी भन्छन्।
केही वर्ष पहिला दाफा भजनबाट केटाहरुलाई मात्र सिकाउँदा बाजागाजा सिक्न आउनेको कमी र बाजागाजा नै लोभ हुने अवस्था सृजना भएको उनी सम्झिन्छन्। तर अहिले महिला पुरुष दुवैको सहभागिता भएपछि बाजागाजा हरेक घरका केटाकेटीहरू सहभागिता हुने गरेको उनले बताए।