News Portal

  • मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३ बैशाख २०८१
    १७३ पटक
    भक्तपुर, ३ बैशाख २०८१

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख २ गते यो जात्रा मानिने प्रचलन रही आएको छ ।

    एक आपसमा सिन्दुर छर्केर खुसियाली साट्ने भएकोले यसलाई स्थानीय नेपाल भाषामा भुईसिन्ह अर्थात सिन्दुर जात्रा भनिएको हो । यो जात्रामा थिमिका स्थानीयहरुले आ आफ्ना इष्ट देवताका मन्दिर स्वरूपकै खट बनाएर बोक्ने र नगर परिक्रमा गर्ने गर्दछन । थिमिमा ३२ देवी देवताका खट प्रदर्शन गरिने भएकोले नेपाल भाषामा सुईनिग खः अर्थात ३२ खटको जात्रा पनि भन्ने गरिन्छ । यद्यपी हिजोआज खटको संख्यामा कमी आएको छ । यस क्षेत्रमा सोमवार पनि टोल टोलमा देवी देवताका खः (मन्दिर आकारको खट) सहित साना साना जात्राहरु भने भैरहने नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहेका स्थानीय जगत कृष्ण प्रजापतिले जानकारी गराएका छन् ।

    मध्यपुर थिमिको बिस्का जात्राको मूख्य जात्रा नै बैशाख २ गते बिहान थिमिको बालकुमारी परिसरबाट शुरु हुने सुथसिया भुइँसिन्ह जात्रा (बिहानको सिन्दुर जात्रा) र दिउँसो हुने बोडेको म्ये प्वा खनेगु जात्रा अर्थात् जिब्रो छेड्ने जात्रा हो ।

    सोही अनुसार आइतवार बिहान बालकुमारी परिसरबाट भव्य रुपमा सुथसिया भुईसिन्ह जात्रा शुरु भएको थियो । जात्रा शुरु हुनुअघि नगरका विभिन्न टोलका देवी देवताका खः जात्रालुहरुले चिलाखः बालेर धिमे, भुस्या, काँय्, छुस्या, नाय्खीँ बाजासहित बालकुमारी परिसरमा ल्याएका थिए ।

    देवी देवताका सबै खः बालकुमारी ल्याईसकेपछि परम्परा अनुसारको पूजा विधि सकिएपछि पमा नाय्य (प्रधान नाईके)को अनुमतिमा जात्रा शुरु भएको थियो । जात्रा शुरु हुनु अघि देवी देवताको खः बालकुमारीमा जम्मा हुँदा धिमे, भुस्या, काँय् र छुस्या बाजाको तालले बालकुमारी गुञ्जायमान भएको थियो ।

    सबैभन्दा अघि बालकुमारीको खः रहेको थियो । जात्रा दिगुटोल पुगेपछि सिद्धिकाली माईको देवगण चपाचो क्षेत्र लगिएको थियो भने बालकुमारी, विष्णुवीर र दक्षिण बाराहीका देवगण दिगुटोलबाट पुनः बालकुमारीतर्फ फर्किएको थियो । त्यसपछि सिद्धिकाली, बालकुमारी, विष्णुवीर र दक्षिण बाराहीका देवगणको आ–आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि जात्रा सकिएको थियो ।

    जात्रामा विभिन्न परम्परागत बाजा बजाउँदै देवी देवताका मूर्तिसहितको खःलाई नगर परिक्रमा गराउँदा जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर एवम् फूल बर्साएर स्वागत गरेका थिए ।

    सुथसिया बिस्का जात्रा अन्तर्गत नै मध्यपुर थिमिको नगदेश क्षेत्रमा सिद्धि गणेशको खःलाई परम्परागत बाजागाजासहित नगर परिक्रमा गराई एक आपसमा सिन्दुर छर्केर जात्रा गरिएको थियो ।यसैगरी बोदेको टिगनीमा निलबाराही, मध्यपुर थिमिको लोहकिल्थलीमा सिद्धिकालीको खः जात्रा गरिएको थियो । त्यहाँ पनि सिन्दुर छर्केर हर्षोल्लासका बिस्का जात्रा मनाईएको हो ।

    थिमिको बिस्का जात्राको अर्को आकर्षण भने बोडे (बोदे)को म्ये प्वा खनेगु अर्थात जिब्रो छेड्ने जात्रा हो । यो जात्रा बैशाख २ गते दिउँसो शुरु हुन्छ । विशेष गरी थिमिमा मनाईने भुईसिन्ह जात्रा सकिएपछि बोदेमा म्ये प्वा खनेगु जिब्रो छेड्ने जात्रा शुरु गर्ने प्रचलन रहेको छ ।

    सोही अनुसार आइतवार मध्यान्हदेखी बोदेमा मानिसको भिड बढ्दै गएको थियो । बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खः जात्रा गरेर रमाउँदै गरेका स्थानीय र जात्रा हेर्न आएकाहरुको भिड मध्यान्हदेखि भने बोदेमा म्ये प्वा खनेगु जात्रा हेर्न जम्मा हुन थालेका थिए ।

    उक्त अवसरमा गत वर्ष जिब्रो छेडाएका स्थानीय सुजन बाग श्रेष्ठले यस पटक पनि जिब्रो छेडेका छन् । २८ बर्षिय सुजनले दोस्रो पटक जिब्रो छेडेका हुन् ।

    सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा समेत हुन् । जात्राको हालसम्मको प्रमाणअनुसार १२ जनाले १०६ वर्ष जिब्रो छेडाएको इतिहास रहेको छ ।

    जिब्रो छेडाउनु अघि सुजनले बोडेका सबै देवी देवताको मन्दिर पुगेर आर्शिवाद थापेका थिए । स्थानीय सबै देवीदेवताको आशिर्वाद लिएर उनी पाचो गणेश मन्दिर अघि बनाएको मञ्चमा आएपछि उपस्थित सबैले जयजयकार गरेका थिए । मञ्चमा थिए यसअघि १२ पटक जिब्रो छेडाइसकेका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, यसअघि आठ पटक जिब्रो छेडाएका जुजुभाई वाग श्रेष्ठ ।

    सुजन मञ्चमा उक्लिएपछि आवश्यक विधि विधान पुरा गरी सुजनका आफ्नै ठूलो बुबा १२ पटक जिब्रो छेडाइसकेका कर्मीनाय कृष्णचन्द्र बाग श्रेष्ठले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले सयौं मानिसहरूकै अगाडि सुजनको जिब्रो छेडिदिए ।

    त्यसपछि सुजन सबैलाई नमस्कार र अभिवादन गर्दै चन्द्राँकारको भ्वाय् अर्थात महाद्वीप बोकेर शहर परिक्रमा गर्न निस्किए । स्थानीय संस्कृतीकर्मी जुजुभाईदेखि स्थानीय समाजसेवी दिलकृष्ण प्रजापतिसमेतले दोस्रो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिँडेर हौसला प्रदान गरेका थिए ।

    नाय्खिं बाजाको साथमा भ्यय् बोकेर स्थानीय लाछिबाट लायकु छें, पाचो, तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननी टोल परिक्रमागरी सुजन स्थानीय महालक्ष्मी मन्दिरमा पुगेपछि जात्रा गरि महालक्ष्मी स्थान पु¥याएको पाचो गणेशको रोहवरमा कर्मी नाइकेले सुइरो निकालेर प्वाँल भएको जिब्रोमा महालक्ष्मी मन्दिरको माटो राखिदिए । निकालेको सुइरोलाई नकर्मीले गणेश मन्दिरमा ठोकिदिन्छन । अन्तमा सुजनले नाटेश्वरको पूजा गरेपछि यसवर्षको म्ये प्वा खनेगु अर्थात जिब्रो छेड्ने जात्रा पनि सम्पन्न भएको छ ।

    जिब्रो छेड्नेले व्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपन्छी र महिलालाई छुन समेत नहुने परम्परा रहेको छ । जिब्रो स्थानीय श्रेष्ठ थरका व्यक्तिले मात्र छेड्न पाउने परम्परा रहेको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...