भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा तथा हवन गरिएको छ । गुह्येकाली भगवतीको साक्षात स्वरुप दिव्येश्वरीमा प्रत्येक वर्ष चैंते दशैंको रामनवमीका वार्षिक पुजा तथा हवन हुँदैं आएको अनुसार बुधवार एघार जना ब्राम्हणद्धारा चण्डी पाठ, वेद पाठ, रुद्राभिषेक एवम् नारायण पुजा गरिएको दिव्येश्वरी सेवा समितिले जनाएको हो ।
दिव्येश्वरी मन्दिर वि. सं. १९६० साल तिर तत्कालिन तान्त्रिक पण्डित सुब्बा दिव्यदेव पन्तले निर्माण गर्नु भएको हो । उनले मन्दिरको दैनिक नित्य पुजा तथा वार्षिक पुजाका लागि नीजि जग्गा राखी दिव्येश्वरी गुठी समेत स्थापना गर्नुभएको दिव्येश्वरी सेवा समितिका अध्यक्ष केदार खड्काले जानकारी दिए ।
उनका अनुसार दिव्यदेव पन्तले नै रामनवमीको दिन दिव्येश्वरी भगवतीको वार्षिक पुजाको परम्परा शुरु गरेका ए । भगवती भइकन पनि भोग नचल्ने सम्भवतः दिव्येश्वरी एक मात्र भगवती हुन सक्ने अध्यक्ष खड्काले बताए ।
तान्त्रिक विधिपूर्वक स्थापना गरिएको दिव्येश्वरी भगवतीको अद्धितीय मुर्ति दर्शनीय स्वरुपको छ । भगवती दिव्येश्वरीको मुर्तिमा ११ वटा शिर रहेको छ भने दाँया २८ र बाँया २८ गरी कुल ५६ भुजा रहेको छ । त्यसमध्ये दिव्येश्वरीको १० शिर र एक शिर योगमायाको भएको तान्त्रिक विद्यानाथ उपाध्याय भट्टले बताएको समितिका प्रथम उपाध्यक्ष विजयकृष्ण खड्काले जानकारी दिए ।
करिव चार फिट उचाई भएको कृष्णा शिलामा कुँदिएको भगवतीले स्याललाई टेकेको छ र स्यालले योगमायाको खुट्टा टोकेको छ । स्याल भैरवमाथि रहेको छ । मुर्तिको तल्लो भागमा विभिन्न देवीदेवताको मुर्ति कुँदिएको छ ।
दिव्येश्वरी मन्दिरमा चार ढोका छन । भक्तजनहरु पुर्वी ढोकाबाट प्रवेश गर्दछन । मन्दिर प्रवेश गर्ने वित्तिकै श्रीयन्त्रको दर्शन गर्न पाईन्छ । श्रीयन्त्रमय यस मन्दिरमा श्रीयन्त्रकै स्थापना गरी पुजा आराधना गर्ने व्यवस्थाले शक्तिका उपासकका लागि यो मन्दिर महत्वपूर्ण मानिन्छ ।
मन्दिरको संरचना श्रीयन्त्रकै शैलीमा भएको र मन्दिरभित्र पनि श्रीयन्त्रकै स्थापना भएकाले यहाँ शुरुमा मूलतः तान्त्रिक विधिद्धारा शक्तिको पुजा अर्चना गर्ने व्यवस्था हुनुपर्ने विश्वास रहेकोले यसको खोज तथा अनुसन्धान भइरहेको समितिका अध्यक्ष खड्काले बताए ।
मन्दिरभित्र विभिन्न देवी देवताका मुर्तिहरु पनि रहेका छन । भगवती दिव्येश्वरीको मन्दिरभित्र पञ्चक्व भैरव, भैरव, कौमारी, महेश्वरी, ब्राम्ही, महालक्ष्मीलगायतका देवी देवताको मुर्ति पनि रहेको छ ।
समितिले मन्दिरमा अहिले दुई ब्राम्हण पुजारीको रुपमा राखेको छ । मन्दिरमा नित्य पुजाका साथै दैनिक बिहान र साँझ गरी दुई पटक आरती हुँदैं आएको छ ।
गुह्यकालीलाई गुह्येश्वरीको रुपमा पुज्ने गरेको छ । श्री स्वस्थानी व्रत कथाका आधारमा गुह्येश्वरीको उत्पत्ति सेतीदेवीको गुह्य पतनबाट भएको हो । सती देवीको अंग पतनबाट ५१ वटा शक्तिपिठहरुको उत्पत्ति भएको शास्त्रहरुमा उल्लेख भएको पाईन्छ ।
दिव्येश्वरी गुह्यकाली वा गुह्येश्वरीकै स्वरुप भएको विश्वास छ । काठमाण्डौं उपत्यकामा गुह्येश्वरीका चार मन्दिर छन, जसमध्ये एक पशुपति क्षेत्रमा गुह्येश्वरी, बालाजुमा पुरानो गुह्येश्वरी, हनुमान ढोका परिसरमा विभु र लोहकिल्थलीमादिव्येश्वरी