News Portal

  • सुरक्षा समितिद्वारा सूर्यविनायकमा रहेका मतदान केन्द्रको निरीक्षण

    भक्तपुर, २८ बैशाख २०७९
    ९७८ पटक
    भक्तपुर, २८ बैशाख २०७९

    झमझम परेको झरीलाई बेवास्ता गर्दै बुधवार सिडिओ रुद्रादेवी शर्माको नेतृत्वमा एक टोलीले सूर्यविनायकका मतदान केन्द्रहरुको निरीक्षण गरेको छ । मतदानको दिन आउँन २ दिन पनि बाँकी नभएपछि त्यसको चाँजोपाँजो मिलाउन निस्केको टोलीलाई बर्खे झरीले रोक्न सकेन ।                                       

    सिडिओ शर्माको नेतृत्वमा बुधबार जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुले मतदान केन्द्रहरुको स्थलगत निरीक्षण गरेका हुन् । उक्त अवसरमा नेपाली सेनाको इन्द्रबक्स गणका गणपती श्यामराजा बिक्रम थापा, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल नं.२२ गणका प्रमुख नरबहादुर रावत र राष्ट्रिय अनुसन्धान विभागका भक्तपुर प्रमुख टेकराज तिमल्सिना तथा पत्रकार महासंघ भक्तपुरकी उपाध्यक्ष लिला श्रेष्ठ र सचिव संजीप घिमिरे शुभचिन्तक लगायतको सहभागिता रहेको थियो ।

    बुधवार उक्त टोलीले सूर्यविनायक नगरपालिका अन्तर्गत रहेका १ दर्जन मतदान स्थल र त्यहाँ रहेका मतदान केन्द्रहरुको स्थलगत निरीक्षण गरेको हो । उनीहरुले पाण्डुबजारको एजे स्कूल, कटुन्जेको आधारभूत स्कूल र वडा कार्यालय भवन, चित्रपुरको गणेश मन्दिर केन्द्र, गाम्चाको अरनिको स्कूल, तर्खाकालाको तत्कालिन दुध डेरी र वर्तमान युवा विकास तथा अध्ययन केन्द्रको भवन,विरुवाको फूलमाया भगवती मावि,सिरुटारको सोम लिंगेश्वर आधारभूत विद्यालय र तत्कालिन गाविस भवनमा स्थित मतदान स्थल र मतदान केन्द्रहरुको स्थलगत अनुगमन गरेका थिए ।

    उक्त अवसरमा सिडिओ शर्माले मतदानको तयारी बारे कार्यस्थलमा खटिएका मतदान अधिकृतहरुसंग जानकारी लिएकी छन् । सिडिओ शर्माले निर्वाचन आयोगले दिएको कार्यविधि अनुसार काम गर्न र सर्वदलीय सहमति अनुरुप आवश्यक निर्णयहरु लिन सुझाव समेत दिइन । उनले अपाङ्गता भएका र जेष्ठ नागरिक मतदातालाई प्राथमिकतापूर्वक मतदानमा सहभागी गराउन समेत निर्देशन दिएकी छन । उनले बर्षाको समय भएकोले मतदाता,मतपत्र र मतपेटिका लगायत निर्वाचन सामाग्रीको सुरक्षाको उपाय अपनाउन अनिवार्य रुपले टेण्ट टाग्न निर्देशन दिएकी छन् ।

    निरीक्षणका क्रममा सुरक्षा समितिका पदाधिकारीहरुले मतदाताको सुविधा, मतदानको गोपनियता र मत पेटिकाको सुरक्षा लगायतका विषयमा मतदान अधिकारीहरु तथा सुरक्षाकर्मीहरुलाई सुरक्षाको कोणबाट अपनाउनुपर्ने सावधानी सहित आवश्यक रायसल्लाह र निर्देशन समेत दिएका छन ।

    सिडिओ शर्माका अनुसार सिरुटारको तत्कालिन गाविस भवन बाहेकका मतदान केन्द्रहरुको अवस्था सन्तोषजनक देखिएको छ । उनले उक्त मतदान स्थल साघुरो भएकोले सर्वदलीय सहमती गरेर नजिकैको फ़ुट्सलमा सार्न सुझाव दिंदै त्यसको लागि आफूले आवश्यक सहयोग गर्ने बताइन । बिगतमा निर्वाचन सम्पन्न भएका मतदान स्थललाई निरन्तरता दिइदा उक्त मतदान स्थलले निरन्तरता पाएको तर अर्को पटक त्यसको स्थायी बिकल्प खोजिने उनको भनाइ छ ।

    जिल्लामा शान्ति सुरक्षा कायम गरिएकोले मतदानको लागि भयरहीत वातावरण बनाइएको र कसैको करकापमा नपरी स्वतन्त्र रुपले आफूले रोजेको उम्मेदवारलाई मत हाल्न सकिने उनको दावी छ । सिडिओ शर्माले कसैले मतदानमा अनुचित दबाब दिएको खण्डमा प्रहरीमा खबर गर्न समेत मतदातालाई अपिल गरेकी छन् ।

    बैशाख ३० गते सम्पन्न हुने मतदानका लागि भक्तपुरमा ७७ वटा मतदान स्थलमा २ सय १९ मतदान केन्द्र तोकिएका छन् । जसमध्ये भक्तपुर नगरपालिकाका १६ मतदानस्थलमा ६२ मतदान केन्द्र, चाँगुनारायणका २१ मतदानस्थलमा ५३ मतदान केन्द्र त्यसैगरी मध्यपुर थिमि नगरपालिकाका १७ मतदानस्थलमा ४६ मतदान केन्द्र र सूर्यविनायकका २३ मतदानस्थलमा ५८ मतदान केन्द्र रहेका छन् । सुरक्षा समितिले जिल्लामा सामान्य संवेदनशील ४० र ३७ वटा संवेदनशील मतदान केन्द्र भनी पहिचान गरेको छ । सिडिओ शर्माको नेतृत्वमा सुरक्षा समितिले प्राय सबै मतदानस्थलमा पुगी सुरक्षाको आवश्यक प्रवन्ध मिलाएको बताइएको छ। शान्ति सुरक्षाको लागि जिल्लामा १ हजार ५ सय सुरक्षाकर्मी तैनाथ गरिएको सिडिओ रुद्रादेवी शर्माले जानकारी दिएकी छन् । जिल्लामा २ लाख ९० हजार मतदाता रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...