पूर्वराष्ट्रपति डा रामवरण यादवले आफूले जारी गरेको संविधान मधेसवादीलगायत सबैतह, तप्काले स्वीकार गरी कार्यान्वयन भएकामा अत्यन्तै खुसी लागेको बताएका छन् ।
विराटनगरस्थित कोइराला निवासमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले जनताको नासो जनतालाई नै सुम्पन पाएकामा खुसी लागेकोबताए । ‘अबको सरकारले मुलुकमा पूर्ण अवधिसम्म काम गर्नेछ,’ उनले भने । सरकारले विपक्षीलगायत सबै दललाई मिलाएर देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नेमा आफू विश्वस्त रहेकोसमेत बताए ।
अहिलेको उपलब्धि प्राप्त गर्न ७० वर्ष लागेकाले यसको संरक्षणका लागि जनताको हितमा काम गर्न उनले आग्रह गरे । ‘अब यहाँका स्रोत र साधन परिचालन गरेर मुलुकलाई समृद्धितर्फ लग्न सुशासन र पारदर्शी तरिकाले कानुनी शासन स्थापना हुनुपर्छ,’ उनले भने ।
संविधान जारी गर्ने समयमा अझै केही मन्थन गर्न आफूले सुझाव दिएको सम्झिँदै यादवले भने, ‘यो संविधानमा केही त्रुटि भएकैले सरकार गठनमा ढिलाइ भएको हो ।’
आफू लोकतन्त्रको माध्यमबाट आएको र त्यसप्रति समर्पित भएकाले ९० प्रतिशत सभासदको हस्ताक्षरयुक्त संविधान जारी गरेको बताए ।
अब जित्नेले घमण्ड नराखी र हार्नेले हतोत्साही नभई सबै मिलेर हिमाल, पहाड, तराई मधेसका सबैलाई समायोजन गर्दै समस्या समाधानमा क्रियाशील भए देश सफल हुनेमा उनले विश्वास व्यक्त गरे ।
देश अब सफलतातर्फ अगाडि बढनेमा आफू ढुक्क रहेको उनको भनाइ थियो । (कान्तिपुर दैनिक)