News Portal

  • बाढीले घरवारविहीन बनाएकालाई राहत बाढ्न जनप्रतिनिधिले नै कमिसन मागेपछि

    इभक्तपुर संवाददाताविराटनगर, २२ चैत
    ८६६ पटक
    विराटनगर, २२ चैत

    मोरङको जहदा गाउँपालिका–१ की कौशल्या राजवंशी बाढीपीडित हुन्। साउनको बाढीले उनको सर्वस्व लग्यो। उनी पूर्णरूपमा प्रभावित बाढीपीडितको सूचीमा छिन्। तर, सरकारले उपलब्ध गराएको राहत पाउन भने जनप्रतिनिधिलाई १० हजार रुपैयाँ घुस खुवाउनुपर्यो।

    कौशल्याले भनिन्, ‘बाढीले घरवारविहीन बनाएका हामीलाई सरकारले दिएको रकमको पनि कमिसन लगे।’

    उनले दुई पटक गरी ५–५ हजार रुपैयाँका दरले वडा कार्यालयमा काम गर्ने हरिओम राजवंशीलाई १० हजार रकम बुझाएपछि मात्र राहत बापतको १५ हजार रुपैयाँ पाएको बताइन्।

    मागेको रकम नदिँदा आफूले राहत नपाएको गुनासो गर्दै सुमती देवीले भनिन्, ‘हरिओमले पैसा माग्दा नदिँदा नाम दर्ता नै गराएनन्।’

    जहदा–१ मा धेरैसँग रकम लिएर बाढीपीडितको राहत लुट्ने काम भएको उनले गुनासो गरिन्।

    स्थानीय निर्जलादेवी राजवंशीले सुरुमै ५ हजार दिए १५ हजारको चेक दिने र बैंकबाट १५ हजार पाउनेबित्तिकै पाँच हजार लिने बताएपछि आफूले पैसा नदिँदा राहत नपाएको गुनासो गरिन्।

    उनले भनिन्, ‘हामीले पाउनुपर्ने राहतमा उनीहरूले भाग खोजेपछि हामी थप पीडामा परेका छौं।’

    चन्दरी देवीले २ सय रुपैयाँ लिएर वडा कार्यालयका कर्मचारीले नाम लेखेर लगेको तर ५ हजार नदिँदा राहत नपाएको बताइन्। राजपा नेता ओमकार राजवंशी र वडासदस्य सरवरियाको सहयोगमा पूर्ण क्षति भएको विवरणमा रकम दिनेको नाम मात्र सिफारिस गरेको स्थानीयले आरोप लगाउँदै आएका छन्।

    कतिको घरमा पानी नपुगे पनी जनप्रतिनिधिले राहतमा नाम समावेश गरेको समेत पाइएको छ। स्थानीय अमेश राजवंशीले आफ्नो घरमा पानी नपसेको तर बाढीले पूर्ण क्षति भएको भन्ने विवरण आएको बताए। भने, ‘मेरो नाम कसरी आयो मलाई नै थाहा छैन। बरु पीडित भएकालाई नै भेदभाव नगरी राहत दिए हुने नि !’

    जहदामा सबैभन्दा बढी प्रभावित भएका साविकको बुधनगर–९ कालाबन्जर लक्ष्मीपुर हाल जाहदा– १ स्थित ऋषिदेव टोलका कसैको नाम पूर्ण क्षतिमा परेको छैन। मजदुरी गरेर जीविका चलाउने अधिकांशको बाढीले घर बगाएर उठिबास लागेको छ।

    तर, नामै समावेश नभएपछि राहतमा पाउने आस पनि मरेको पार्वती देवी ऋषिदेवले गुनासो गरिन्। उनले भनिन्, ‘नाई देवै राहत जे मन मे छौ कर’ भन्दै वडाध्यक्षले प्रदीप यादवले धम्क्याएको बताइन्।

    जोगिरा ऋषिदेवले नाम दर्ता गराउन लिएको रकम नाम नआएको तर हालसम्म नपाएको गुनासो गरे। टोलमा ३० जनाको घर छ तर कसैलाई राहत नदिइएको उनले बताए। ऋषिदेवले भने, ‘बाढीबाट सबैभन्दा धेरै हामी पीडित बनेका थियौं तर हामीलाई नै राहत दिइएन।’

    जाहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीप यादवले कमिसनस्वरूप १० हजार दिनेलाई मात्र राहतको प्याकेजमा नाम सिफारिस गरेको पीडितले आरोप लगाएका छन्। सर्वदलीय बैठकले साउनमा आएको बाढीले क्षति पुर्याएकामध्ये ३ सय ६५ जनाको पूर्ण क्षति भएको विवरण संकलन गरेको थियो। तर, प्रतिव्यक्ति १० हजार दिने कमिसन दिनेको नाम पूर्णक्षतिमा जनप्रतिनिधिले सिफारिस गरी रकम असुली गर्ने गरेको पीडितको आरोप छ।

    वडा नम्बर १ मा पूर्ण क्षतिको विवरण ५ सय २ जनाको नाम आएको छ। बाढी आएको बेला राहत पाउने नाम दर्ता गर्न जनप्रतिनिधिले रकम लिएका थिए। वडा समितिमा करारमा कार्यरत हरिओम राजवंशी र उनका दाजु राजपाका स्थानीय नेता ओमकार राजवंशीसहित वडासदस्य बिन्देश्वर सरवरियाको मिलेमतोमा बाढीपीडितबाट रकम असुल्ने काम भइरहेको छ।

    वडाध्यक्ष यादवले यो विषयमा आफूलाई जानकारी नभएको दाबी गरे। भने, ‘मलाई बद्नाम गर्न कमिसनको कुरा उठाइएको हो।’

    सर्वपक्षीय बैठकले आंशिक र पूर्ण गरी ७ सय २६ जनाको विवरण संकलन गरेको भए पनी जनप्रतिनिधिले एकै परिवारका चारदेखि ७ जनाको नाम पूर्ण क्षति भएको विवरण पठाइएको कमिसन लिएर वितरण गर्ने गरेको भन्दै पीडितले अख्तियार र जिल्ला प्रशासन कार्यालय मोरङमा समेत उजुरी दिएका छन्। (अन्नपूर्ण पोष्ट दैनिक)

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...