भक्तपुरको एक होटलमा एक जोडी मृत अवस्थामा फेला परेका छन् । बर्ष ३० को युवक र बर्ष २२ की युवती मृत अवस्थामा फेला परेका हुन् ।
सुर्यविनायक नगरपालिका – ९ बाँसघारीस्थित गारनिस होटलबाट उनीहरुलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।
बुधवार दिउँसो करीव ३ बजेसम्म कोठा नं. २०३ को ढोका नखुलेपछि होटल संचालकले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत जगातीबाट खटिइ गएको टोलीले ढोका फोडेर हेर्दा कोठामा बसेका दुवै जना मृत अवस्थामा फेला परे ।
मृत अवस्थामा फेला पर्नेमा भक्तपुर् नगरपालिका – १३ दरवार स्क्वायर बस्ने बर्ष ३० को जीवन तोयना श्रेष्ठ र दोलखा जिल्ला बोच गाउँपालिका- ८ बस्ने बर्ष २२ की मुन्नी तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशील कुमार पाण्डेले जनाएका छन् । मंगलबारदेखि होटलको कोठा नं. २०३ बुक गरी जीवन र मुन्नी गारनिस होटलमा बसेका थिए ।
”होटलको कोठाको ढोका फोडी हेर्दा महिला मुन्नी तामाङ खाटमा रगताम्य अवस्थामा मृत भेटिइन् र पुरुष जीवन तोयना श्रेष्ठ अटेच बाथरुम भित्रको नुहाउने सावरमा पलाष्टिकको कम्मर बेल्ट घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिए ।” प्रहरी निरीक्षक पाण्डेले बताए ।
शवलाई पोस्ट मार्टमको लागि अस्पताल पुर्याइएको छ । कोठाको खानतलासी गर्दा सिसाको टुक्राहरु समेत फेला परेको र घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी गराएको छ ।