भारत सरकारका एक मन्त्री सामु नेपाली व्यवसायीहरुले आफ्ना माग राखेका छन । भारतका सडक पारबहन तथा राजमार्गमन्त्री नितीन गडकरीसमक्ष वीरगन्ज उद्योग वाणिज्य संघले माग प्रस्तुत गरेको छ ।
केन्द्रीय पारवहनमन्त्री गडकरीसामु संघका अध्यक्ष ओमप्रकाश शर्मा तथा पूर्वअध्यक्ष एवं नेपाल–भारत मैत्री संघका अध्यक्ष अशोक वैदले आकासे पुल बनाइदिन आनुरोध गरेका हुन् । रक्सौलको रेल्वे क्रसिङका कारण हुने जामले पर्यटक, सर्वसाधारण तथा मालसामानको आवागमनमा समस्या परेको भन्दै त्यहाँ निर्माण गरिदिन उनीहरुले आग्रह गरेको जानकारी प्राप्त भएको छ ।
मोतीहारी–पिप्रा–रक्सौल मार्गलाई ४ लेनमा स्तरोन्नति गर्न, रक्सौललाई आधुनिक सहरका रूपमा विकास गर्न, मितेरी पुलको समानान्तर अर्को पुल निर्माण गरिदिन पनि संघले आग्रह गरेको बताइएको छ । संघका मागप्रति आफ्नो ध्यानाकर्षण भएको र आफूले गम्भीरताका साथ पहल गर्ने गडकरीले आश्वासन दिएको पूर्वअध्यक्ष वैदले बताए ।