सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) लाई नयाँ शिक्षा ऐनले अझ सबल बनाउने बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको शिक्षा ऐनमा सीटीइभीटी ऐन गाभिएको विषयमा चित्त नबुझेको भए सरोकारवालासँग पार्टीले छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।
शुक्रवार सानोठिमीस्थित सीटीइभीटी प्रांगणमा आयोजित नेकपा निकट सीटीइभीटी राष्ट्रिय कर्मचारी संगठनको एकता अधिवेशन उद्घाटन गर्दै पूर्व अर्थ मन्त्री समेत रहेका महासचिव पौडेलले शिक्षा ऐन ड्राफ्ट हुँदैमा आत्तिन नपर्नेमा जोड दिंदै प्राविधिक शिक्षालाई बलियो बनाउन सीटीइभीटीलाई पनि बलियो बनाएर लैजाने आश्वासन दिए ।
देशको आवश्यकता अनुसारको प्राविधिक तथा व्यवसायिक जनशक्ति उत्पादनमा यसको बिकल्प नभएको भन्दै उनले आफू सीटीइभीटी र सरकार बीच समन्वय गराउन सदैव तयार रहेको धारणा व्यक्त गरे ।
उक्त अवसरमा अनेरास्ववियुका संयोजक ऐन महरले चन्दा र आर्थिक सहयोगका कारण विद्यार्थी आन्दोलन बदनाम बनेको बताउदै अब अनेरास्ववियुले कसैसंग चन्दा नउठाउने दावी गर्दै विद्यार्थी आन्दोलन शशक्त बनाएर लैजाने बताए ।
सीटीइभीटी राष्ट्रिय कर्मचारी संगठनका कार्यवाहक संयोजक तेजबहादुर खत्रीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । संगठनको बन्द सत्रले पदाधिकारी चयन गर्ने जानकारी प्राप्त भएको छ ।