नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले धर्म, भाषा र जातका आधारमा राजनीति गर्न नहुने जिकिर गरेका छन । नेपालमा धर्म, भाषा र जातको आधारमा नेपालीलाई जुधाउन विदेशी शक्तिले चलखेल गरिरहेको खुलासा गर्दै अध्यक्ष विजुक्छेले केहि नेपाली दल तथा नेताहरु त्यसकै गोटी बनिरहेकोसमेत बताए । नेपालमा हिन्दू राष्ट्रको नारा दिएर नेपाली–नेपाली जुधाउनेतर्फ विदेशी शक्ति राष्ट्रको चलखेल भइरहेको उनको निष्कर्ष छ ।
शनिवार भक्तपुरमा भक्तपुर नगरपालिका द्वारा आयोजित लेखक, कवि र कलाकारहरूको भेलालाई सम्वोधन गर्दै अध्यक्ष विजुक्छेले भने-”धर्म, भाषा र जातको आधारमा राजनीति गर्नु सङ्कीर्ण सोच हो । राजनीति धर्म, भाषा र जातको आधारमा होइन, वर्गको आधारमा गरिनुपर्दछ ।” धर्म, भाषा र जातको राजनीतिले कमजोर पक्षलाई दबाउने जिकिर गर्दै उनले वर्गीय राजनीतिले मात्र कमजोर वर्गको हित हुने दावी गरे ।
धर्म र जातको आधारमा राजनीति गरेको भारतमा फासीवाद निम्तिने सम्भावना रहेकोमा जोड दिंदै अध्यक्ष विजुक्छेले भारतीय प्रभावबाट नेपाली राजनीति मुक्त हुनुपर्ने आवस्यकता औल्याए । त्यसैगरी उक्त अवसरमा नेता विजुक्छेले अमेरिका साम्राज्यवादी भएकोले समाजवादी व्यवस्था समाप्त गर्न अनेक षड्यन्त्र, जालझेल र चलखेल गरिरहनेतर्फ सचेत गराएका थिए । अमेरिकाको आफ्नो प्रभाव अन्त्य हुने चिन्ताले चीनसंग झगडा गराउने षड्यन्त्र गरिरहेको उनको आरोप छ ।
उक्त अवसरमा नेता विजुक्छेले आदर्शोन्मुख समाज स्थापनामा प्रगतिशील कवि, लेखक र कलाकारहरूको महत्वपूर्ण भूमिका हुने भन्दै साहित्यलाई जनताको हतियारको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए । सामाज वर्गीय भएकोले कवि, लेखक र कलाकारहरूको सृजनाले कामदार वर्गको हित गर्न सक्नुपर्ने उनले बताए । समाजवादी क्रान्तिको पक्षमा लेखिएको साहित्य जनताको साहित्य हुने भन्दै अध्यक्ष रोहितले जनताको कथाब्यथा उजागर गर्न सक्ने साहित्य मात्र सफल हुने धारणा व्यक्त गरे ।
“नेता, मन्त्री, सांसद तथा जनप्रतिनिधिहरूको कमी–कमजोरी औल्याएर सुधार्न सके यसले देश र जनताकै हित हुन्छ ।” उनले भने । अन्याय, अत्याचार , भ्रष्टाचार , कुरीति र अन्धविश्वासविरूद्ध सचेतना अभियानमा समेत कवि, कलाकार र लेखकहरू सामेल हुनुपर्नेमा नेता विजुक्छेले जोड दिए । साहित्यले जनताको सेवामात्र होइन जनतालाई भड्काउने काम पनि गर्ने भन्दै उनले त्यसको प्रतिवादमा जनताका कवि , लेखक र कलाकार जाइलाग्नुपर्ने जिकिर गरे ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कला र संस्कृतिमा धनी नगरको रुपमा रहेको भक्तपुरले राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक योगदान पु¥याउन पर्ने आवस्यकता औल्याउदै साहित्यमार्फत जनताको चेतनास्तर उठाउने ध्येयले भेलाको आयोजना गरिएको जानकारी गराएका थिए ।
सोही भेलामा जनकवि चन्द्रबहादुर उलकले साहित्यको उद्देश्य बहुमत जनताको सेवा गर्न र समाज परिवर्तन गर्ने हुनुपर्नेमा दृढता देखाएका थिए भने नेपालभाषा साहित्य तःमुंज्याका संस्थापक अध्यक्ष कान्छा बासुकलाले जनताको साहित्य पछिसम्म स्मरणीय हुने बताए ।
त्यसैगरी सुपरिचित कलाकार आशाकाजी थकूले बहुजन हिताय, बहुजन सुखाय नै कवि, कलाकार र लेखकको मूल मन्त्र भएको बताए ।
भेलामा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र भनपाका प्रशासकीय अधिकृत यामलाल अधिकारी लगायतले भक्तपुर नगरपालिकाले आउन लागेको गाईजात्रा पर्व (सापारू) मा जनचेतनामूलक गीत, ख्याल, नाटक लेखन तयार गर्ने उद्देश्यले लेखक, कवि र कलाकारहरूको भेला आयोजना गरेको जानकारी गराउदै नगरपालिकाले जनताको साहित्य लेख्न सदैव प्रोत्साहित गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।