नेपाल भ्रमणमा आएकी बेल्जियमका राजा फिलिपिकी बहिनी राजकुमारी अस्ट्रिडलाई भक्तपुरमा न्यानो स्वागत भएपछि पर्यटन मन्त्री योगेश भट्टराई दंग देखिएका छन् । सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले औपचारिक रुपमै भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यबाद भनेका हुन् ।
सामाजिक संजालमा उनले मंगलवार बिहानै लेखेका छन ” राजकुमारी अस्ट्रिड र उनको प्रतिनिधि मण्डलले भक्तपुर दरवार क्षेत्रको भ्रमण गरेको छ । उनी भक्तपुरको ऐतिहासिक सम्पदा र जीवन्त सस्कृती बाट प्रभावित भएकी छन् । उत्कृष्ट व्यवस्थापनको लागि भक्तपुरका मेयर सुनिल प्रजापति लाई धन्यवाद ।”
मन्त्री भट्टराईले राजकुमारी अस्ट्रिडको भ्रमण नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण सावित हुने विस्वास लिएका छन् । मंगलवार विहानै उनलाई भक्तपुर भ्रमणमा साथ् दिन उनी आउनु अघि नै मन्त्री भट्टराई आफै भक्तपुर आएका थिए ।
मंगलवार बिहान भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मन्त्री भट्टराई र राजकुमारी अस्ट्रिडको प्रतिनिधि मण्डललाई भक्तपुरमा स्वागत गरेका थिए । राजकुमारी अस्ट्रिडको टोलीमा राजकुमारसहित नेपालका लागि युरेपियन युनियनका महावाणिज्यदूत त्यसैगरी बेल्जियमका लागि नेपालका राजदूत लगायत पन्ध्र जना सहभागी रहेका थिए ।
राजकुमारी अस्ट्रिड र उनको प्रतिनिधि मण्डललाई मन्त्री भट्टराई र मेयर प्रजापति, उपमेयर रजनी जोशी स्वयम् संलग्न भै भक्तपुर दरवार क्षेत्रको अवलोकन गराएका थिए । उक्त अवसरमा उनले भक्तपुरको दरवार क्षेत्र र तौमढि क्षेत्रको अभिरुचीपूर्वक अवलोकन गरेको र यहाँको सम्पदा र सस्कृतीको प्रसंशा गरेको मेयर प्रजापतिले भक्तपुर पोस्टसंग भने ।
राजकुमारीले तलेजु भवानीको मन्दिर, गोल्डेन गेट, पचपन्न झ्याले दरवार, सिद्धिलक्ष्मी, यक्षेश्वरका साथै पाँच तले मन्दिर र भैरवनाथ लगायतको अवलोकनभ्रमण गरेकी थिइन् । उक्त अवसरमा उनलाई देवी नाच र लाखे नाच समेत देखाइएको थियो ।
नगरपाालिकाका दामोदार सुवालले जनाए अनुसार अवलोकन भ्रमणअक क्रममा राजकुमारीले भक्तपुरको पर्यटन उद्योग र यहाँको कला सस्कृती बारे बिबिध जिज्ञासा राख्नुका साथै पुरातात्विक सम्पदाको मौलिकता रक्षाको लागि नगरपालिकाले पुर्याएको योगदानको प्रसंसा गरेकी थिइन् ।
” भक्तपुर सानो भए पनि यहाँको मौलिकता ठूलो रहेछ । म फेरी भक्तपुर घुम्न आउछु ।” भ्रमणबारे प्रतिक्रिया दिंदै राजकुमारीले भनिन् ।उनले यहाँको मौलिक सम्पदा र सस्कृती मात्र होइन, खाना पनि खुबै स्वाद मानेर खाएकी थिइन् । राजकुमारीले जुजु धौ धेरै मीठो मानेर खाएकी थिइन् । उनलाई नगरपालिकाले विशेष थैली र मयुरको झ्याल दिएर बिदाइ गरेको छ ।
सन् १९६३ मा नेपाल र बेल्जियम बीच कुटनीतिक सम्बन्ध स्थापित भएको हो । वर्तमान राजा फिलिपि युवराज हुँदा सन् १९९८ मा नेपालको भ्रमण गरेका थिए । त्यतिबेला पनि नेपालले भ्रमण वर्ष मनाइरहेको थियो । सन् २००५ मा त्याहाँका विदेश मन्त्रीले नेपाल भ्रमण गरेयताको राजकुमारी अस्ट्रिडको भ्रमण नै उच्चस्तरीय भ्रमण हो ।