कोरोना भाइरस संक्रमण (कोभिड १९) को जोखिमबाट भक्तपुर पनि अछुतो रहन सकेन । साेमबार १० संक्रमित थपिएसंगै भक्तपुरमा संक्रमित हुनेकाे संख्या ३९ भएकाे छ भने सबै नगरपालिकामा कोरोना भाइरस पुगेको छ ।
संक्रमणबाट बच्न घरमै बस्ने र अरुको सम्पर्कमा नजाने भनिरहँदा चाँगुनारायण नगरपालिकाकी एक महिला किरीया बसिरहेकाे अबस्थामा समेत संक्रमित बनेकी छन् । आफ्नो पतिको मृत्युपछि शोकमा रहेकी उनलाई कोरोनाले समेत पिछा गरेर बागीश्वरीस्थित घरसम्मै आएपछि कोरोना समुदायमा फैलिएको पुष्टि भएको छ ।
सोमबार उनीसहित चाँगुनारायणमा मात्र ४ जना संक्रमित थपिएका छन् । चाँगुनारायण नगरपालिका प्रमुख साेम मिश्रले भने आत्तिहाल्नु पर्ने अवस्था नरहेकाे बताए । मेयर मिश्रले किरीया बसिरहेकी महिला लाइ समुदाय बाट नभइ अस्पताल बाट संक्रमण भएकाे हुनसक्ने आशंका ब्यक्त गरे । ” उहाँ श्रीमानकाे उपचारमा अस्पतालमा हुनुहुन्थ्याे, श्रीमान बित्नुभएर किरीया बसिरहेकाे बेलामा उहाँमा संक्रमण देखिएकेा हाे । काेराेना अस्पतालमा सरेकाे हुनसक्छ ।” उनले भने । मेयर मिश्रका अनुसार संक्रमितका परिवार र सम्पर्कमा आएकालाइ क्वारेन्टाइनमा राखिएकाे छ । उनले चाँगुमा ४ जना थपिएकाे भनिएपनि दुवाकाेट ठेगाना भएका १ संक्रमित काठमाडाैंका भएकाे बताए ।
सोमबार भक्तपुर नगरपालिकामा पनि ३ जना संक्रमित थपिएका छन् । वडा नम्बर २ इताछेमा एक २४ वर्षका युुुवक, ब्यासिमा २९ वर्षिय र वडा नम्बर ९ च्यामासिंमा ३३ वर्षकी युवती पनि संक्रमित भएका हुन् । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमितकाे कन्ट्याक्ट् ट्रेसिङ कार्य भैरहेकाे छ भने संभावित संक्रमितकाे पहिचान गरी क्वारेनटाइनमा राख्न वडाध्यक्षहरु खटिसकेका छन् ।
त्यसैगरी सूर्यविनायकमा २३ वर्षिय युवकमा संक्रमण देखिएकाे छ । उनी सुनपा २ वालकाेटका बासिन्दा हुन् । सूर्यविनायकका मेयर बासुदेव थापाले आफूलाइ आ्धिकारिक खबर नभएकाे र आफूले तत्कालै बुझेर त्यहाँ कडाइ गर्ने बताए भने मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठकाे माेबाइलमा सम्पर्क हुन सकेन । प्रमुख कार्यकारी अधिकृत उद्धव रिजालले भने आफूलाइ केही थाहाँ नभएकाे जानकारी गराए । मध्यपुर थिमिमा १ जना संक्रमित थपिएका छन् ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काेराेना भाइरसकाे संक्रमण बढ्दै गएकाे देखिएकाले थप सतर्क बन्न अनुराेध गरेकी छन् ।आफूहरुकाे मात्र प्रयासले काेराेना नियन्त्रण हुन नसक्ने भन्दै उनले मास्क र सेनिटाइजरकाे प्रयाेग र सामाजिक दूरी कायम राख्नु सबैकाे कर्तब्य भएकाे बताइन् । सचेत भएर लकडाउन पालना नगरे स्थिति भयावह हुनसक्ने उनकाे चेतावनी छ । भिडभाड नियन्त्रणका लागि मंगलबारबाट थप कडाइ गरिने उनले जानकारी गराइन् । कन्ट्याक्ट् ट्रेसिङ र सिल गर्ने कार्यमा प्रहरी परिचालन भएकाे उनकाे भनाइ छ । भक्तपुर प्रहरी प्रमुख रहेकी एसपी तारादेवी थापाका अनुसार कन्ट्याक्ट् ट्रेसिङ र सिल गर्ने कार्य जारी छ र मंगलवार बिहानसम्म सकिनेछ ।