बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले भक्तपुर स्थित आइसोलेसन सेन्टरको अनुगमन गरेका छन् । कोभिड १९ बिरामीको उपचार गर्न प्रदेश मन्त्रालय मातहतको भक्तपुर अस्पतालले तयार पारेको आइसोलेसन सेन्टरको मन्त्री दुलालले अनुगमन गरेका हुन् ।
शनिवार बिहान उनले दुधपाटीस्थित भक्तपुर अस्पताल परिसर र खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको आइसोलेसन सेन्टरको अनुगमन गरेका थिए । अस्पतालका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले मन्त्री दुलाललाई दुधपाटी र खरीपाटीस्थित आइसोलेसन सेन्टरको स्थलगत अवलोकन गराएका हुन् ।
उक्त अवसरमा अध्यक्ष सुवालले प्रदेश सरकारको निर्देशन बमोजिम दुधपाटीमा ३० वेड र खरीपाटीमा २०८ बेड गरी २३८ वेड तयार गरिएको जानकारी गराएका थिए । आइसोलेसन सेन्टरमा हाल १२ जना कोभिड १९ संक्रमित बिरामीहरुको उपचार भैरहेको समेत सुवालको भनाइ छ । दुधपाटीस्थित अस्पतालमा ४ जना र खरीपाटीस्थित आइसोलेसन सेन्टरमा ८ जना बिरामी राखिएको उनले बताएका हुन् ।
उक्त अवसरमा मेसु डा सुमित्रा गौतमले आइसोलेसन सेन्टरमा रहेका कोभिड १९ संक्रमितहरुको अवस्था र उपचार प्रक्रियाबारे मन्त्री दुलाललाई ब्रिफिंग गरेकी थिइन् । अस्पतालले आफ्ना सबै ओपिडी सेवा स्थगित गरी कोभिड १९ उपचारमा केन्द्रित भएको भन्दै उनले यस विषम परिस्थितिमा आफूहरु उच्च मनोबलसाथ कोभिड १९ संक्रमितको उपचार सेवामा समर्पित भएको भनेकी थिइन् ।
स्थलगत अवलोकन पछि मन्त्री दुलालले भक्तपुर अस्पतालले तयार पारेको आइसोलेसन सेन्टरले कोभिड १९ संक्रमित बिरामीलाई उपचारमा सहज हुने बिश्वास व्यक्त गरे । उनले वेड थप गरी आइसोलेसन सेन्टरलाई तत्काल ५ सय बेडमा बिस्तार गर्न निर्देशन दिंदै कोही पनि संक्रमित उपचार सेवाबाट बन्चित हुने अवस्था आउन नदिन सचेत गराए । सानो लडाईमा पनि ठूलो खजाना बोकेर हिड्नुपर्ने आवश्यकता औल्याउदै मन्त्री दुलालले कोभिड १९ को सम्भावित संक्रमणको अवस्थालाई ध्यानमा राखी आइसोलेसन बेड यथासक्य बढाउनुपर्ने बताएका हुन् ।
कोभिड १९ बिरुद्धको लडाइमा स्वास्थ्यकर्मीहरु सेनाको भूमिकामा भएको भन्दै उनले कोभिड १९ संगको लडाई जित्न स्वास्थ्यकर्मीहरुमा साहस र दुरदर्शीता हुनुपर्नेमा जोड दिएका थिए । कोभिड १९ संगको लडाईमा बजेटको चिन्ता नगर्न आस्वासन दिंदै उनले स्वास्थ्यकर्मीहरुका गुनासा र समस्याप्रति पनि सरकार सचेत रहेको र उनीहरुलाई उच्च मनोबलका साथ् काम गर्ने बातावरण बनाउने प्रतिबद्धता प्रकट गरेका थिए ।
उक्त अवसरमा मन्त्री दुलालले अस्पताल सघन उपचार कक्ष (आइसीयु) संचालनमा सक्षम भएकोमा बर्तमान नेतृत्व र अस्पताल परिवारप्रति सन्तोष व्यक्त गरेका थिए । गत फागुनमा उनले अस्पताललाई आइसीयुयुक्त बनाउने प्रतिबद्धता प्रकट गरेसंगै तीन वटा भेन्टिलेटरसहित ५ बेडको आइसीयु कक्ष तयार भएको छ भने त्यसका लागि आवस्यक जनशक्ति यसै महिना पदपूर्ती गरिसक्ने गरी बिज्ञापन भैसकेको छ । तत्कालका लागि भने आफ्नो उपलब्ध जनशक्ति र मानव अंग प्रत्यारोपण केन्द्र तथा भक्तपुर क्यान्सर अस्पतालका डाक्टर समेत प्रयोग गर्नेगरी आइसीयु संचालन भएको मेसु सुमित्रा गौतमले जनाएकी छन् । मन्त्री दुलालले थप २ भेन्टिलेटर समेत प्रदेश सरकारले भक्तपुर अस्पताललाई छुट्याइसकेको जानकारी दिंदै केहि दिन भित्रै ती भेन्टिलेटर उपलब्ध हुने बताएका छन् । अस्पताललाई दक्ष जनशक्ति र उपकरणयुक्त बनाउन प्रदेश सरकारले सक्दो सहयोग गरिरहने उनको भनाइ छ ।
वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल भएपनि भौतिक पूर्वाधार र मेडिकल सुविधाको हिसावले पछि पारिएको र सरकारी अस्पतालको रुपमा भक्तपुरमा समेत हेपिएको भक्तपुर अस्पताल यतिबेला वर्तमान अस्पताल विकास समितिको कुशल नेतृत्व र अस्पतालको योग्य प्रशासनिक नेतृत्वका कारण कोभिड १९ बिरुद्ध सशक्त भूमिकामा रहेर भक्तपुरवासीको स्वास्थ्य सुरक्षाको लागि अहोरात्र लागिपरेको छ ।अस्पताल संचालनको ११६ वर्षपछि यस अस्पताल आइसीयु सेवा दिन समेत सफल भएको छ । यसको सफलताको प्रत्येक पाइलामा अस्पताल नेतृत्वका साथै प्रजिअ हुमकला पाण्डे, भक्तपुर नगरपालिका, जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ को सकारात्मक पहल जोडिएको देखिन्छ ।