प्रचण्ड-माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले संसद विघटन बिरुद्धको आन्दोलनमा पहल लिन युवाहरुलाई निर्देशन दिएका छन् । युवाहरुले आन्दोलनको अगुवाई गर्नुपर्नेमा जोड दिंदै उनले सक्रियतापूर्वक पहल लिन निर्देशन दिएका हुन् ।
सोमबार मध्यपुर थिमिमा राष्ट्रिय युवा संघ नेपाल, भक्तपुरको आन्दोलन तयारी बैठकमा बोल्दै इन्चार्ज प्रजापतिले प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदम विरुद्ध युवाहरु जाइलाग्नुको विकल्प नभएको बताए । युवाहरु उदाउदो सूर्य भएको भन्दै उनले आन्दोलनले नेता जन्माउने समेत जिकिर गरे । केपी ओलीको असंबैधानिक कदम विरुद्ध देशभरका बौद्धिक व्यक्तिहरु र नागरिक समाज पनि आन्दोलित रहेकाले युवाहरुको एक धक्काले नै ओलीतन्त्र ढल्ने उनको दावी छ ।
केपी ओलीले प्रतिनिधि सभा मात्र बिघटन गरेको नभई व्यवस्था नै ध्वस्त गर्न खोजेको तथ्य युवाहरुले बुझ्नुपर्ने उनले बताए । ” नेकपा यतिबेला यसकारण आन्दोलित भएको होकी प्रधानमन्त्री ओलीले संबिधान सभाबाट बनेको ऐतिहासिक संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नै ध्वस्त पार्ने प्रक्रिया शुरु गरेका छन् ।” इन्चार्ज प्रजापतिले प्रष्ट पारे ।
जनताको गास, बास, कपास त्यसैगरी शिक्षा, स्वास्थ्य र रोजगारीलाई संविधानले मौलिक हक मानेको र यसको रक्षा गर्नु आम युवाहरुको दायित्व हुने उनले बताए । त्यतिमात्र होइन, पुरानै केन्द्रीकृत सामन्तबादी राज्यसत्ता र दलाल नोकरशाही पूजीबादी व्यवस्थाका लागि प्रधानमन्त्री ओलीले प्रयत्न गरिरहेको उनले आरोप लगाएका छन् । गणतन्त्र, समानुपातिक र समाबेशीको कुरा धर्म निरपेक्षताका कुरा लगायत परिवर्तनका कुरा उल्टाउने प्रधानमन्त्रीको प्रयास विफल गर्न युवाहरुले आन्दोलनको आधिबेहरी सिर्जना गर्नुपर्ने नेता प्रजापतिले बताए ।
उक्त अवसरमा बागमती प्रदेश सभाका सदस्य समेत रहेका नेकपा भक्तपुरका नेता डा राजेन्द्रमान श्रेष्ठले सरकारको प्रतिगमन विरुद्ध युवा जागरुक बन्नुपर्ने र आन्दोलनको कार्यभार दायाँ बायाँ नगरी पूरा गर्नुपर्ने बताए । त्यसैगरी जिल्ला कमिटी सदस्य श्याम बस्नेतले युवाहरुसंग सिंगो पार्टी भएको भन्दै युवाहरुले पार्टी भावना अनुरुप आन्दोलनको कार्यभार पूरा गर्ने विश्वास व्यक्त गरेका थिए ।
त्यसैगरी पार्टीका जिल्ला सदस्य, राष्ट्रिय युवा संघका केन्द्रीय नेता एवं भक्तपुर इन्चार्ज दिनेश थपलिया आक्रोशले युवाहरुको काधमा ऐतिहासिक जिम्मेवारी आएकोले त्यसलाई पूरा गर्नु अहिलेको आवश्यकता भएको भनेका थिए । भक्तपुरमा रहेका ओली पक्षका नेता महेश बस्नेतको हाउगुजी नपाल्न निर्देशन दिंदै उनले बस्नेत मात्र होइन, उनका अध्यक्ष केपी ओली पनि क्रान्तिकारी युवा देखेर अत्तालिसकेका जिकिर गरे । आफूहरु संविधान र लोकतन्त्र रक्षाको पक्षमा रहेकाले कोही देखि डराउनु नपर्ने उनको भनाइ छ । ”महेशजी अब केन्द्रीय नेता बन्ने छाट सकियो । प्रतिगमनको पक्षमा लागेर उहाँ आफै पनि निरास हुनुहुन्छ । उहाँको हाउगुजी हटाएर भक्तपुरका क्रान्तिकारी युवाहरुलाई आन्दोलनको अग्रमोर्चामा ल्याउन आग्रह गर्दछु ।” युवा प्रतिनिधिहरुलाई उनले भने ।
कार्यक्रममा युवा नेता दिपक बिसुन्खेले बैठक १४ गते राजधानीमा गरिने मार्च पासको तयारीका लागि भएको भन्दै भक्तपुरको संगठनले गर्नुपर्ने तयारे बारे बताएका थिए । कार्यक्रममा सहभागी संगठनका जिल्ला नेताहरुले प्रतिगमन नसच्चिए सम्म युवाहरुले संघर्षको मोर्चा नछोड्ने प्रतिवद्धता प्रकट गरेका थिए । त्यसैगरी उक्त बैठकले २ सय १ सदस्यीय युवा परिचालन कमिटी बनाएको युवा नेता एवं बैठकका संचालक दिपक थापाले जानकारी दिए ।
उक्त बैठकमा पार्टी सचिव डिपी ढकाल, जिल्ला नेता रञ्जन केसी लगायतको समेत उपस्थिति रहेको थियो ।